1. येशू जैतुन डाँडामा जानुभयो।
2. अनि एकाबिहानै उहाँ फेरि मन्दिरमा नै आउनुभयो र सबै मानिसहरू उहाँकहाँ आए, अनि उहाँ तिनीहरूका बीचमा बसेर सिकाउन थाल्नुभयो।
3. उहाँले शिक्षा दिँदै गर्नुहुँदा, धार्मिक व्यवस्थाका केही शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई समातेर येशूकहाँ ल्याए र भीडको अगाडि त्यस स्त्रीलाई उभ्याए,
4. तिनीहरूले येशूलाई भने, ‘‘गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ गरिएकी हो।
5. अब मोशाको व्यवस्थाले त यस्ताहरूलाई ढुङ्गाले हान्ने आज्ञा दिएको छ, तर तपाईं यसबारेमा के भन्नुहुन्छ ?’’
6. तिनीहरूले उहाँमाथि कुनै दोष लगाउने आधार होस् भनी उहाँको जाँच गर्न यसो भनेका थिए। र येशूले निहुरिएर औँलाले भुइँमा लेख्नुभयो।
7. तर जब तिनीहरूले उहाँसँग सोधी नै रहे, तब येशू खडा हुनुभयो र भन्नुभयो, ‘‘तिमीहरूमध्ये जो पापरहित छ, त्यसले पहिले यिनलाई ढुङ्गाले हानोस्।’’
8. अनि उहाँ फेरि निहुरिनुभयो र भुइँमा लेख्न थाल्नुभयो।
9. अनि जसले यो कुरा सुने तिनीहरू ठूलोबाट शुरु गरेर सानैसम्म एक-एक गर्दै त्यहाँबाट गए अनि येशू र भीडको बीचमा उभिएकी त्यो स्त्री मात्र त्यहाँ रहे।
10. उहाँ फेरि खडा हुनुभयो र त्यस स्त्रीलाई भन्नुभयो, ‘‘नारी, तिनीहरू कता गए? के कसैले तिमीलाई दोष लगाएनन्?’’
11. त्यसले जवाफ दिई, ‘‘कसैले पनि लगाएनन्, प्रभु।’’। तब येशूले भन्नुभयो, ‘‘म पनि तिमीलाई दोष लगाउँदिनँ। जाऊ र अबदेखि पाप नगर।’’
12. येशूले मानिसहरूलाई भन्नुभयो, ‘‘म संसारको ज्योति हुँ; मेरोपछि लाग्ने अन्धकारमा हिँडडुल गर्नेछैन तर त्यसले जीवनको ज्योति पाउनेछ।’’
13. फरिसीहरूले जवाफ दिए, ‘‘तिमीले आफ्नो गवाही आफै दिइरहेका छौ, तिम्रो गवाही सत्य छैन।’’
14. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘मैले मेरो बारेमा आफै गवाही दिए तापनि यो सत्य छ, किनभने म कहाँबाट आएको हुँ र कहाँ जाँदैछु भन्ने कुरा मलाई थाहा छ तर तिमीहरू म कहाँबाट आएको हुँ र कहाँ जाँदैछु भन्ने कुरा जान्दैनौ।
15. तिमीहरू शरीरअनुसार न्याय गर्दछौ, म कसैको न्याय गर्दिनँ।
16. मैले तिमीहरूको न्याय गरेँ भने पनि मेरो न्याय सत्य छ, किनभने यसमा म एकलै छैनँ तर म र मलाई पठाउनुहुने छौं।
17. ‘दुई जनाले दिएको गवाही सत्य हुन्छ’ भनी तिमीहरूको आफ्नै व्यवस्थामा लेखिएको छ।
18. आफ्नै विषयमा गवाही दिने एउटा म नै हुँ र मलाई पठाउनुहुने मेरा पिताले पनि मेरो विषयमा गवाही दिनुहुन्छ।’’
19. तिनीहरूले उहाँलाई सोधे, ‘‘तिम्रो पिता कहाँ छन्?’’ येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू न त मलाई न पितालाई चिन्दछौ; यदि तिमीहरूले मलाई चिनेको भए, मेरा पितालाई पनि चिनेका ुहुन्थ्यौ।’’
20. उहाँले यी कुरा मन्दिरको ढुकुटीनेर शिक्षा दिँदै गर्नुहुँदा भन्नुभएको थियो तर तिनीहरूले अझै पनि उहाँलाई हात हालेनन्, किनभने उहाँको समय अझसम्म आएको थिएन। विश्वास नगर्नेहरूलाई चेताउनी
21. केही बेरपछि येशूले तिनीहरूलाई फेरि भन्नुभयो, ‘‘म त गइहाल्छु, तिमीहरू मलाई खोज्नेछौ र आफ्ना पापमा नै मर्नेछौ; जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउनसक्दैनौ।’’
22. यहूदी अगुवाहरूले उहाँलाई सोधे, ‘‘के यिनी आत्महत्या गर्ने सुर गर्दैछन् कि क्या हो? होइन भने ‘म जाने ठाउँमा तिमीहरू आउन सक्दैनौ’ भनेर के भनेका हुन्?’’
23. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू तलका हौ, म माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, म होइनँ।
24. त्यसैले मैले तिमीहरूलाई भनेको हुँ, ‘तिमीहरू आ-आफ्नै पापमा मर्नेछौ’, जबसम्म तिमीहरूले ‘म, उही हुँ’ भनी विश्वास गर्दैनौ, तिमीहरू आफ्ना पापमा मर्नेछौ।’’
25. तिनीहरूले उहाँलाई सोधे, ‘‘तिमी को हौ त?’’ येशूले भन्नुभयो, ‘‘मैले तिमीहरूलाई शुरुदेखि नै के भन्दै आइरहेको छु?
26. मैले तिमीहरूको विषयमा भन्नुपर्ने र तिमीहरूको न्याय गर्नुपर्ने धेरै कुरा मसँग छन् तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ र मैले उहाँबाट सुनेका कुरा मात्र संसारलाई बताउँछु ।’’
27. तर उहाँले यो पिताको विषयमा भन्नुभएको हो भनेर तिनीहरूले बुझेनन्।
28. त्यसकारण येशूले भन्नुभयो, ‘‘जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ तब मात्रै तिमीहरूले ‘म उही हुँ’ र मैले आफ्नैतर्फबाट केही पनि गर्दिनँ तर पिताले मलाई सिकाउनुभएअनुसार नै बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ ।
29. मलाई पठाउनुहुने मसँग हुनुहुन्छ ; उहाँले मलाई एकलै छोडिदिनुभएको छैन, किनभने म सधैँ उहाँलाई मनपर्ने काम मात्रै गर्दछु।’’
30. उहाँले यी कुरा भन्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे। येशू र अब्राहाम
31. येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, ‘‘यदि तिमीहरू मेरा वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;
32. अनि तिमीहरूले सत्य चिन्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ।’’
33. तिनीहरूले भने, ‘‘तर हामी त अब्राहामका सन्तान हौं र अझसम्म कहिल्यै कसैको दास हुनुपरेको छैन; तपाईंले ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी के भन्नुभएको?’’
34. येशूले जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, हरेक जसले पाप गर्दछ, त्यो पापको दास हो।
35. दास सधैँभरि घरमा रहिरहँदैन; छोरो त सधैँभरि रहन्छ।
36. तसर्थ, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
37. म जान्दछु कि तिमीहरू अब्राहामका सन्तान हौ, तापनि तिमीहरूमध्येकै कतिले मलाई मार्न खोजेका छौ, किनभने मेरो वचनको लागि तिमीहरूका हृदयमा कुनै ठाउँ नै छैन।
38. मैले मेरा पितामा जे देखेको छु, त्यही म तिमीहरूलाई भन्दछु; त्यसरी नै तिमीहरू पनि आफ्ना पिताबाट सुनेका कुरा गर्दछौ।’’
39. तिनीहरूले उहाँलाई भने, ‘‘अब्राहाम, हाम्रा पिता हुन्।’’ येशूले जवाफ दिँदै भन्नुभयो, ‘‘यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले अब्राहामका काम गर्नेथियौ।
40. तर म, जसले परमेश्वरबाट सुनेको सत्यता तिमीहरूलाई बताउँछु, उसलाई तिमीहरू मार्न खोज्दछौ; यस्तो त अब्राहामले गरेनन्।
41. तिमीहरूले आफ्ना पिताले गरेका काम गरिरहेका छौ।’’ तिनीहरूले उहाँलाई भने, ‘‘हामी व्यभिचारबाट जन्मेका होइनौं, हाम्रा एउटै मात्र पिता, स्वयम् परमेश्वर हुनुहुन्छ।’’
42. येशूले भन्नुभयो, ‘‘यदि परमेश्वर नै तिमीहरूका पिता हुनुहुन्थ्यो भने तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट नै तिमीहरूकहाँ आएको हुँ। म यहाँ आफै आएको होइनँ, उहाँले नै मलाई पठाउनुभएको हो।
43. तिमीहरू किन मेरो कुरा बुझ्दैनौ? किनभने तिमीहरू मेरा कुरा सुन्न सक्तैनौ।
44. तिमीहरू त आफ्ना पिता शैतानका हौ र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्न चाहन्छौ। त्यो त शुरुदेखि नै हत्यारा हो र त्यो सत्यमा टिक्दैन, किनभने त्यसमा कुनै सत्यता छैन। जब त्यसले झूटो बोल्दछ, तब त्यो आफ्नै स्वभावबाट बोल्दछ, किनकि त्यो झूट र झूटहरूको पिता हो।
45. तर मैले सत्य बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ।
46. तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ? यदि म सत्य बोल्छु भने किन तिमीहरू मलाई विश्वास गर्दैनौ?
47. ऊ जो परमेश्वरको हो, उसले परमेश्वरको वचन सुन्दछ, तिमीहरू परमेश्वरका होइनौ, त्यसैले उहाँका वचन सुन्दैनौ।’’
48. यहूदीहरूले जवाफ दिँदै भने, ‘‘तिमी भूत लागेको एउटा सामरी हौ भनी हामीले ठीकै भनेनौं र?’’
49. येशूले जवाफ दिनुभयो, ‘‘मलाई भूत लागेको छैन तर म मेरा पितालाई आदर गर्छु, तिमीहरू मलाई अनादर गर्छौ।
50. अनि म आफ्नै महिमा खोज्दिनँ, महिमा खोज्ने र न्याय गर्ने एक जना हुनुहुन्छ।
51. साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरा वचन पालन गर्छ भने त्यसले कहिले पनि मृत्यु देख्नेछैन।’’
52. यहूदीहरूले उहाँलाई भने, ‘‘अब हामीलाई पक्का थाहा भयो कि तिमीलाई भूत लागेको छ। अब्राहाम र अगमवक्ताहरू त सबै मरे तर तिमी भन्छौ, ‘मेरा वचन पालन गर्नेले कहिल्यै मृत्युको स्वाद चाख्नेछैन।’
53. के तिमी मरिगएका हाम्रा पुर्खा, अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूला हौ ? तिमी आफूलाई को हुँ भनी ठान्छौ?’’
54. येशूले जवाफ दिनुभयो, ‘‘यदि म आफैलाई आदर गर्छु भने मेरो आदर केही पनि होइन, मलाई आदर गर्नुहुने त मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू, ‘उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ’ भनी भन्दछौ।
55. तिमीहरूले उहाँलाई चिनेका छैनौ तर म उहाँलाई चिन्दछु, यदि मैले उहाँलाई ‘चिन्दिनँ’ भन्छु भने म पनि तिमीहरूजस्तै झूटो हुनेछु, तर म उहाँलाई चिन्छु र उहाँको वचन पालन गर्दछु।
56. तिमीहरूका पिता अब्राहाम मेरो दिन देख्ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए।’’
57. यहूदीहरूले उहाँलाई भने, ‘‘तिमी अझै पचास वर्षका पनि भएका छैनौ, तब कसरी अब्राहामलाई देखेको छु भनी भन्छौ?’’
58. येशूले जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम जन्मनुभन्दा अघिदेखि नै म छँदैछु ।’’
59. यसकारण, तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्किजानुभयो।
|