1. एउटा विश्राम-दिनमा येशू फरिसीहरूको एक जना अगुवाको घरमा भोजन खान जानुभयो। मानिसहरूले उहाँलाई ध्यानपूर्वक हेरिरहेका थिए,
2. त्यसै घरमा जलग्रह रोगले पीडित एक जना मानिस थियो।
3. येशूले फरिसीहरू र धार्मिक व्यवस्थाका पण्डितहरूलाई सोध्नुभयो, ‘‘विश्रामको दिनमा मानिसहरूलाई निको पार्नु उचित छ कि छैन?’’
4. जब तिनीहरूले त्यसको जवाफ दिन अस्वीकार गरे, येशूले त्यस मानिसलाई छुनुभयो र त्यसलाई निको पारेर पठाउनुभयो।
5. त्यसपछि उहाँ ती मानिसहरूतिर फर्किनुभयो र सोध्नुभयो, ‘‘विश्राम- दिनमा तिमीहरूमध्ये काम नगर्ने को होला? यदि तिमीहरूको गधा वा गोरु खाडलमा पर्यो भने, तिमीहरू झट्टै गएर त्यसलाई निकाल्दैनौ र?’’
6. तिनीहरूले कुनै पनि जवाफ दिनसकेनन्।
7. साँझमा भोजन खान आउने पाहुनाहरू आएर मुख्य ठाउँमा बस्न खोजेको देखेर येशूले तिनीहरूलाई भन्नुभयो,
8. ‘‘कसैले तिमीलाई विवाह-भोजमा निम्त्यायो भने मुख्य ठाउँमा गएर बस्न नखोज, किनभने त्यहाँ तिमीभन्दा पनि आदरणीय व्यक्तिलाई निम्त्याइएको हुनसक्छ।
9. निम्तो दिनेले आएर भन्ला, ‘यस व्यक्तिलाई यो ठाउँ छोडिदिनुहोस्,’ तब तिमी लाजमा पर्नुपर्ला र सबैले छोडेको ठाउँमा गएर बस्नुपर्ला।
10. बरु त्यसको सट्टामा गएर सबैभन्दा तल्लो ठाउँमा बस। जब निम्तो दिनेले तिमीलाई त्यहाँ बसिरहेको देख्छ र आएर भन्नेछ, ‘मित्र, तपाईंको लागि हामीले विशेष ठाउँ ठीक पारेका छौं।’ यसरी सबै पाहुनाहरूको अगाडि तिमीले ठूलो आदर पाउनेछौ।
11. किनभने घमण्डीहरू होच्याइनेछन् र नम्रहरू उच्च पारिनेछन्।’’
12. तब उहाँ निम्तो दिने मानिसतर्फ फर्किनुभयो र भन्नुभयो, ‘‘आफ्नो घरमा भोज राख्दा आफ्ना साथीहरू, दाज्यू-भाइहरू, नातेदारहरू र धनी-धनीछिमेकीहरूलाई नबोलाऊ, किनभने तिनीहरूले पनि आफ्नो घरमा भोज राखेर तिमीलाई पनि निम्तो दिन्छन् र तिम्रो गुण फर्काइदिन्छन्।
13. त्यसको साटो गरीब, लुलालङ्गडा, अशक्त र अन्धाहरूलाई बोलाऊ।
14. तिमीले यसरी गुण फर्काउन नसक्नेहरूलाई बोलाऊ र धर्मीहरू पुनर्जीवित हुँदा परमेश्वरले तिमीलाई इनाम दिनुहुनेछ।’’
15. येशूको छेउमा खानबसेको एक जना मानिसले उहाँको कुरा सुनेर भन्यो, ‘‘धन्यका हुन् ती मानिसहरू ! जो परमेश्वरको राज्यको भोजमा सहभागी हुनेछन्।’’
16. येशूले यस्तो दृष्टान्त दिँदै जवाफ दिनुभयो, ‘‘एक जना मानिसले एउटा विशाल भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो।
17. सबै थोक तयार भइसकेपछि तिनले आफ्ना नोकरहरूलाई निम्तालुहरूकहाँ पठाएर ‘अब आउनुहोस्’ भन्ने खबर दिन लगाए।
18. तर ती सबैले बहाना बनाउन थाले। पहिलो व्यक्तिले भन्यो, ‘मलाई माफ गर्नू भनिदेओ, किनभने मैले भर्खरै एउटा जमीन किनेको छु र मैले त्यसको हेरचाह गर्नुपर्छ।’
19. अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, मैले तिनलाई आजै दाउनुपरेको छ।’
20. अर्कोले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ।’
21. ती नोकरहरू फर्किए र निम्त्याइएका मानिसहरूले भनेका कुराहरू आफ्नो मालिकलाई सुनाए । त्यो सुनेर तिनी ज्यादै रिसाए र भने, ‘जाओ, बाटो र शहरका गल्लीहरूमा गएर त्यहाँ भेटिएका जति अन्धाहरू, लुलालङ्गडाहरू गरीबहरूलाई भेला गरेर यहाँ ल्याऊ।’
22. अनि नोकरले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएअनुसार हामीले गर्यौं, तर अझै ठाउँ खाली छ।’
23. तसर्थ तिनका मालिकले भने, ‘गल्ली र गाउँहरूतिर जाओ र भेटेजति सबैलाई भोजमा आउन कर लगाओ र घर भरिभराउ हुनेछ,
24. किनभने पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि उनीहरूका लागि तयार गरिएको भोज चाख्नसमेत पाउनेछैनन्’।’’
25. धेरै ठूलो भीडले येशूलाई पछयाइरहेको थियो। उहाँले आफ्नो वरिपरि हेर्नुभयो र तिनीहरूलाई भन्नुभयो,
26. ‘‘यदि तिमीहरू मेरा चेला हुनचाहन्छौ भने तिमीहरूले आफ्ना बुबा-आमा, आफ्नी पत्नी, आफ्ना छोराछोरी, दाज्यू-भाइ र दिदी-बहिनीहरू र आफ्नै जीवनलाई भन्दा मलाई बढ्ता प्रेम गर्नुपर्छ, होइन भने तिमीहरू मेरा चेलाहरू हुन सक्दैनौ।
27. अनि तिमीहरू आफ्नो क्रूस उठाएर मेरोपछि लागेनौ भने मेरा चेला हुन सक्दैनौ।
28. तिमीहरूमध्ये कसैले एउटा घर बनाउने इच्छा गर्छ भने त्यो घर बनाउनको निम्ति आवश्यक खर्च आफूसित छ कि छैन भनी के पहिले नै त्यसले बसेर हिसाब लगाउँदैन र?
29. नत्र त जग बसालिसकेपछि खर्च सिद्धियो र काम अधुरै रह्यो भने, मानिसहरूले त्यसको गिल्ला गर्नेछन्।
30. मानिसहरूले भन्नेछन्, ‘त्यसले घर बनाउन त थाल्यो तर सिद्धयाउनलाई पैसा पुगेन र त्यतिकै छोडयो।’
31. अथवा कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथमा भएका दश हजार सेनाले त्यसको विरुद्धमा आउने बीस हजारसँग लडाइँ गर्नसक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन?
32. यदि नसक्ने हो भने तिनले त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछन्।
33. त्यसकारण तिमीहरूमध्ये, कसैले पनि मेरो खातिर सबै थोक त्याग्न सक्दैन भने त्यो मेरो चेला हुनसक्दैन।
34. नुन स्वादको निम्ति असल हुन्छ। तर नुनको स्वाद गयो भने त्यसलाई कसरी नुनिलो बनाउने?
35. स्वाद बेगरको नुन त मलको लागि खेतमा हाल्ने लायकको पनि हुँदैन। त्यो मिल्काइन्छ, जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’
|