1. त्यसबेला सिजर अगस्टसले सारा रोमी साम्राज्यभरि जनगणना लिनू भन्ने उर्दी जारी गरे।
2. सिरियामा कुरेनियस राज्यपाल हुँदा लिइएको यो पहिलो जनगणना थियो।
3. जनगणनामा आफ्नो नाउँ लेखाउनलाई सबै मानिसहरू आ-आफ्ना जन्मथलोमा गए।
4. यूसुफ दाऊदको वंशका भएको हुनाले दाऊदकै पुर्ख्यौली गाउँ यहूदियाको बेथलेहेममा गए। उनी गालीलको नासरतबाट हिँडेर त्यहाँ गए ।
5. आफ्नो नाउँ दर्ता गर्न यूसुफ आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर आएका थिए, मरियम त्यसबेला गर्भवती थिइन्।
6. त्यसैबेला, तिनीहरू बेथलेहेममा हुँदा मरियमको सुत्केरी हुने बेला आयो।
7. तिनले पहिलो सन्तानको रूपमा छोरो जन्माइन् । तिनले शिशुलाई कपडाले बेह्रेर डुँडमा सुताइन्, किनभने त्यस गाउँमा तिनीहरूले कुनै पाटीपौवा र घरहरूमा वास बस्ने ठाउँ पाएनन्।
8. त्यस रात केही गोठालाहरू गाउँभन्दा केही पर आफ्नो भेडा बगालको हेरचाह गर्दै पाखामा बसिरहेका थिए।
9. अकस्मात् परमप्रभुका एक स्वर्गदूत तिनीहरूका माझमा देखा परे र परमेश्वरको महिमाले तिनीहरूलाई ढाक्यो।तिनीहरू अत्यन्तै डराए,
10. तर स्वर्गदूतले तिनीहरूलाई ढाडस दिए, ‘‘नडराओ, हेर, मैले तिमीहरूका निम्ति बडो आनन्दको सुसमाचार ल्याएको छु, जुन सबैको निम्ति हुनेछ,
11. किनकि आजै दाऊदको शहर बेथलेहेममा तिमीहरूका निम्ति मुक्तिदाताको जन्म भएको छ, जो प्रभु येशू, मसीह हुनुहुन्छ।
12. अनि तिमीहरूको निम्ति यो चिन्ह हुनेछ : तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुताइएको भेट्टाउनेछौ।’’
13. तत्कालै ती स्वर्गदूतसँग स्वर्गका असंख्य सेनाको एउटा ठूलो दल देखा पर्यो, तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे,
14. ‘‘सर्वोच्च स्वर्गमा हुनुहुने परमेश्वरलाई महिमा र पृथ्वीमा हुने सबैमा शान्ति, जुन मानिसहरूसँग परमेश्वर प्रसन्न हुनुहुन्छ।’’
15. स्वर्गदूतहरू स्वर्गतिर फर्किएपछि गोठालाहरूले आपसमा भने, ‘‘आऊ, हामी बेथलेहेममा जाऔं र प्रभुले हामीलाई भन्नुभएका यी अचम्मका कुरा हेरौं।’’
16. तिनीहरू गाउँतिर दौडिए र त्यहाँ मरियम र यूसुफलाई भेट्टाए। त्यहाँ बालकलाई डुँडमा सुताइएको थियो।
17. गोठालाहरूले बालकको विषयमा स्वर्गदूूतले के भनेका थिए र कस्तो घटना घटेको थियो भनी हरेकलाई बताए।
18. गोठालाहरूले भनेको कुरा सुनेर मानिसहरू छक्क परे।
19. तर मरियमले ती सबै कुरालाई मनमा राखेर हृदयमा गुन्दै रहिन्।
20. स्वर्गदूतले तिनीहरूलाई भनेझैँ बालकलाई आफ्नै आँखाले देखेका हुनाले गोठालाहरू परमेश्वरलाई प्रशंसा चढाउँदै आफ्नै बगाल भएतिर फर्किए।
21. आठ दिनपछि बालकको खतना गरियो र उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अघि नै स्वर्गदूतद्वारा दिइएको थियो।
22. बालकको जन्म भएपछि शुद्ध गरिने दिन आयो र मोशाको व्यवस्थाअनुसार उहाँका आमा-बुबाले उहाँलाई परमेश्वरमा अर्पण गर्न यरूशलेम लगे।
23. परमप्रभुको व्यवस्थाले भन्दछ, ‘‘यदि कुनै स्त्रीले जेठो छोरो जन्माई भने उसलाई प्रभुमा अर्पण गर्नुपर्छ।’’
24. त्यसकारण तिनीहरूले प्रभुको व्यवस्थाबमोजिम ‘एकजोर ढुकुर वा एक जोडी परेवा’ ल्याएर बलिदान चढाए।
25. यरूशलेममा बस्ने शिमियोन नाउँका एक जना मानिस थिए। उनी ज्यादै धर्मी र भक्त थिए। उनी पवित्र आत्माले भरिएका थिए र उनले इस्राएलको सान्त्वनाको बाटो हेरिरहेका थिए।
26. ‘प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ’ भनी पवित्र आत्माले उनलाई प्रकट गर्नुभएको थियो।
27. त्यस दिन आत्माले उनलाई मन्दिरतिर डोर्याउनुभयो। अनि त्यसैबेला यूसुफ र मरियमले बालक येशूलाई व्यवस्थाबमोजिम अर्पण गर्न मन्दिरमा ल्याएका थिए।
28. शिमियोन त्यहीँ थिए। उनले बालकलाई आफ्नो अँगालोमा लिए र यसो भन्दै परमेश्वरको प्रशंसा गरे,
29. ‘‘प्रभु, तपाईंको वचनअनुसार अब म शान्तिसाथ मर्न सक्छु !
30. मैले मुक्तिदातालाई देखेको छु,
31. तपाईंले सबै मानिसहरूलाई मुक्तिदाता दिनुभएको छ।
32. जाति-जातिलाई परमेश्वर प्रकट गर्ने उहाँ ज्योति हुनुहुन्छ अनि तपार्इंको प्रजा इस्राएललाई महिमा !’’
33. येशूको विषयमा उनले भनेको कुरा सुनेर यूसुफ र मरियम छक्क परे।
34. तब शिमियोनले तिनीहरूलाई आशिष् दिएर मरियमलाई भने, ‘‘यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति अनि विरोधको एउटा चिन्ह हुनलाई नियुक्त भएको छ।
35. यसरी, धेरैका हृदयभित्रका कुरा प्रकट हुनेछन् र तिम्रो मुटुलाई तरवारले छँेड्नेछ ।’’
36. मन्दिरमा हन्ना नाउँकी एउटी अगमवादिनी थिइन्। तिनी आशेर कुलका फनुएलकी छोरी थिइन् । तिनी निकै वृद्धा भइसकेकी थिइन्। विवाह गरेको सातै वर्षपछि तिनका पति मरेका हुनाले तिनी विधवा थिइन्।
37. यसबेला तिनको उमेर चौरासी वर्ष पुगेको थियो। तिनी उपवास र प्रार्थना गर्दै, दिनरात परमेश्वरको आराधना गर्न मन्दिरमै बस्थिन्, तिनी मन्दिरबाट बाहिर कतै जाँदिनथिन्।
38. यूसुफ र मरियमसँग शिमियोन बोल्दै गर्दा तिनी आइन् र परमेश्वरको स्तुति गर्न थालिन् । अनि तिनले यरूशलेमको उद्धारको लागि आउनुहुने प्रतिज्ञा गरिएको राजा येशू नै हुन् भनेर उहाँको प्रतीक्षा गर्नेहरू सबैलाई भनिन् ।
39. येशूका आमा-बुबाले परमप्रभुको व्यवस्थाबमोजिमका सबै विधि पूरा गरिसके अनि उनीहरू आफ्नै घर गालीलको नासरतमा फर्किए ।
40. अनि बालक बढ्दै र बलियो हुँदै जानुभयो, उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहँामाथि थियो।
41. येशूका आमा-बुबा निस्तार-चाड मनाउन हरेक वर्ष यरूशलेम जानेगर्थे।
42. येशू बाह्र वर्षको हुनुहुँदा पनि उनीहरू सधैँझैँ चाड मनाउन यरूशलेममा गए।
43. चाड सकिएपछि उनीहरू नासरततिर लागे। तर येशू यरूशलेममा नै छोडिनुभयो। त्यो कुरा उहाँका आमा-बुबालाई थाहा भएन।
44. बाटोमा अरु पनि थुप्रै मानिसहरू थिए र येशू साथीहरूसँगै हुनुहुन्छ होला भनेर उनीहरूले सोचेका थिए। तर साँझ पर्दासम्म पनि उनीहरूले येशूलाई देखेनन् तसर्थ उनीहरूले यात्रीहरू र आफ्ना नातेदारहरूसित सोधखोज गर्नथाले।
45. उनीहरूले त्यहाँ पनि भेट्टाउन नसक्दा उहाँलाई खोज्दै-खोज्दै यरूशलेमतिरै फर्किए।
46. तीन दिनपछि मात्रै उनीहरूले येशूलाई भेट्टाए। उहाँ यरूशलेमको मन्दिरमा व्यवस्थाका शिक्षकहरूसँग गहिरा प्रश्नहरू सोध्दै बसिरहनुभएको थियो।
47. उहाँको ज्ञान र जवाफ सुन्नेहरू चकित भएका थिए।
48. उहाँलाई त्यहाँ भेट्टाएर उहाँका आमा-बुबा छक्क परे । आमाले सोधिन्, ‘‘ छोरा, तिमीले किन यसो गरेका? हेर, तिम्रा बुबा र म तिमीलाई व्याकुल भएर खोजिरहेका थियौं।’’
49. उहाँले उनीहरूलाई भन्नुभयो, ‘‘तर तपाईंहरूले मलाई त्यसरी खोज्नुपर्थ्यो र? के म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?’’
50. तर उहाँले भन्न खोज्नुभएको कुरा उनीहरूले बुझेनन् ।
51. अनि उहाँ उनीहरूसित नासरत फर्किनुभयो। उहाँ उनीहरूको अधीनमा बस्नुभयो। मरियमले यी सबै कुरा आफ्नो मनमै राखिन्।
52. यसरी येशू ज्ञान, जिउडाल अनि परमेश्वर र मानिसको अुनग्रहमा बढ्दै जानुभयो।
|