Bible Study: FrontPage




 

लुका, Chapter 24

Bible Study - लुका 24 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब हप्ताको पहिलो दिनको झिसमिसे उज्यालोमा, आफूले तयार पारेको सुगन्धित मसला लिएर केही स्त्रीहरू चिहानमा आइपुगे,
  
2. तब तिनीहरूले चिहानको मुखमा राखिएको ढुङ्गो गुडाइएको भेट्टाए
  
3. अनि तिनीहरू भित्र पसे तर त्यहाँ प्रभु येशूको मृत-शरीर भेट्टाएनन्।
  
4. तिनीहरू अलमल्ल परिरहेको बेला चहकिला वस्त्र पहिरिएका दुई जना मानिसहरू छेउमा उभिरहेका देखे।
  
5. ती स्त्रीहरू भयभीत भई आफ्‍‌नो अनुहार भुइँतिर झुकाउँदा ती मानिसहरूले तिनीहरूलाई भने, ‘‘तिमीहरू जीवित व्यक्तिलाई किन मरेकाहरूको बीचमा खोज्छौ?
  
6. उहाँ यहाँ हुनुहुन्‍‌न। तर उहाँ जीवित भई उठ्‍‌नुभएको छ। गालीलमा हुँदा तिमीहरूलाई उहाँले के भन्‍‌नुभएको थियो, सो सम्झ त,
  
7. ‘मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, क्रूसमा टाँगिनु र तेस्रो दिनमा मृतकबाट पुनर्जीवित भई उठाइनुपर्छ’।’’
  
8. तब उहाँले भन्‍‌नुभएका वचन तिनीहरूले सम्झे।
  
9. तिनीहरू चिहानबाट फर्के अनि उहाँका एघार चेलाहरू र अरु सबैलाई त्यो खबर दिए।
  
10. चिहानमा जाने ती स्त्रीहरूमा मरियम मग्दलिनी, योअन्‍‌ना, याकूबकी आमा मरियम र अरु थुप्रै स्त्रीहरू थिए। तिनीहरूले प्रेरितहरूलाई यी सबै कुरा बताए।
  
11. तर तिनीहरूले यी कुरालाई व्यर्थका गफ ठाने र पत्याएनन्।
  
12. पत्रुस उठेर चिहानसम्म दगुरेर गए। त्यहाँ पुगेर निहुरेर हेर्दा कात्रो मात्र देखे र के भएको हो भन्‍‌ने कुरामा अचम्म मान्दै फर्के।
  
13. त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमदेखि लगभग आठ किलोमिटर टाढाको इम्माउस भन्‍‌ने गाउँतिर गइरहेका थिए।
  
14. यसरी घटेका सबै घटनाहरूको विषयमा तिनीहरूले आपसमा कुराकानी गरिरहेका थिए।
  
15. त्यस विषयमा आपसमा विचारविमर्श गरिरहेको बेला येशू स्वयम् तिनीहरूको नजिक आउनुभयो र तिनीहरू सँगसँगै हिँड्‍‌नुभयो।
  
16. तर उहाँ को हुनुहुन्छ भनी तिनीहरूले चिनेनन्, किनकि तिनीहरूका आँखा उहाँलाई चिन्‍‌न नसक्‍‌ने तुल्याइएका थिए।
  
17. उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू यसरी हिँड्दै आपसमा के कुरा गरिरहेका छौ ? र उदास पनि देखिन्छौ?’’
  
18. तिनीहरूमध्ये क्लेओपासले जवाफ दिँदै भने, ‘‘के तपाईं यरूशलेममा परदेशी हुनुहुन्छ, यी दिनहरूमा त्यहाँ घटेका कुरा तपाईंलाई थाहा छैन?’’
  
19. येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के कुरा ?’’ तिनीहरूले उहाँलाई जवाफ दिए, ‘‘नासरतका येशूको विषयमा, जो परमेश्वर र सबै मानिसका सामु वचन र कर्ममा सामर्थी अगमवक्ता हुनुहुन्थ्यो।
  
20. मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रूसमा टाँगे।
  
21. इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्‍‌ने कुरामा हामी विश्वस्त थियौं, यी कुराहरूबाहेक यो घटना घटेको आज तेस्रो दिन हुँदैछ।
  
22. फेरि हाम्रो सङ्गतका केही स्त्रीहरू, जो झिसमिसे उज्यालोमा चिहानमा गएका थिए, तिनीहरूले त हामीलाई झन् छक्कै पारे।
  
23. किनकि तिनीहरूले उहाँको शरीर भेट्टाएनन्। तब तिनीहरू यसो भन्दै आए, ‘हामीले स्वर्गदूतहरूका दर्शन देख्यौं, जसले उहाँलाई जीवित हुनुहुन्छ’ भने ।
  
24. अनि त्यसपछि हामीहरूमध्येका केही व्यक्तिहरू चिहानमा गए र तिनीहरूले पनि, ती स्त्रीहरूले जस्तो भनेका थिए, ठीक त्यस्तै भेटे। तर उहाँलाई तिनीहरूले देखेनन्।’’
  
25. अनि येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘हे अबुझ मानिस हो, अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्न तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ।
  
26. के ख्रीष्टले आफ्‍‌नो महिमामा प्रवेश गर्नुभन्दा पहिले यी सबै कष्ट भोग्‍‌नु आवश्यक थिएन र?’’
  
27. अनि मोशादेखि शुरु गरेर सबै अगमवक्ताहरूसम्म सम्पूर्ण धर्मशास्त्रमा आफ्‍‌नो विषयमा लेखिएका सबै कुराको अर्थ उहाँले तिनीहरूलाईखोलिदिनुभयो।
  
28. तिनीहरू आफू जानलागेको गाउँ नजिकै पुग्दा उहाँले अझै अघि जानलागेको झैँ भान पार्नुभयो।
  
29. तर तिनीहरूले उहाँलाई यसो भनेर विन्ती गरे, ‘‘हामीहरूसितै बास बस्‍‌नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ।’’ अनि उहाँ तिनीहरूसँग बास बस्‍‌नलाई घरभित्र पस्‍‌नुभयो।
  
30. उहाँहरू भोजन गर्न बस्‍‌नुहुँदा येशूले रोटी लिएर धन्यवाद दिनुभयो र त्यो भाँचेर तिनीहरूलाई दिनुभयो।
  
31. तिनीहरूका आँखा अचानक खुले र तिनीहरूले उहाँलाई चिने। अनि त्यसैबेला उहाँ तिनीहरूका दृष्टिबाट अलप हुनुभयो।
  
32. तिनीहरूले आपसमा भने, ‘‘उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?’’
  
33. तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के अनि एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे
  
34. अनि भने, ‘‘प्रभु साँच्चै पुनर्जीवित हुनुभएको छ र उहाँ पत्रुसकहाँ देखा पर्नुभएको छ।’’
  
35. त्यसपछि तिनीहरूले बाटोमा भएका कुरा र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।
  
36. तिनीहरूले यी कुरा भन्दै गर्दा येशू आफै उनीहरूका बीचमा खडा हुनुभयो र भन्‍‌नुभयो,‘‘तिमीहरूमा शान्ति होस्।’’
  
37. तिनीहरू तर्से र डरले आत्तिए अनि ‘हामीले त भूत देखिरहेका छौं’ भन्‍‌ने सोचे।
  
38. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरू किन विचलित हुन्छौ? अनि तिमीहरूका मनमा किन शङ्का उत्पन्‍‌न हुन्छ?
  
39. मेरा हात र खुट्टाहरू हेर। म नै हुँ, मलाई छोएर हेर, किनभने भूतको हड्डी र मासु हुँदैन तर तिमीहरू देख्छौ, मेरा त छन्।’’
  
40. उहाँले बोल्दै गर्दा तिनीहरूलाई आफ्‍‌ना हातखुट्टाहरू पनि देखाउनुभयो।
  
41. जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के तिमीहरूसँग यहाँ केही खानेकुरा छ ?’’
  
42. तिनीहरूले उहाँलाई पकाएको माछा खान दिए।
  
43. अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्‍‌ने खानुभयो।
  
44. तब उहाँले भन्‍‌नुभयो, ‘‘पहिले म तिमीहरूको साथमा हुँदा मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनसंग्रहमा मेरो बारेमा लेखिएका सबै कुरा पूरा हुनुपर्छ भनी भनेकै थिएँ।’’
  
45. त्यसपछि तिनीहरूले धर्मशास्त्र बुझून् भनेर उहाँले तिनीहरूको समझ खोलिदिनुभयो।
  
46. अनि उहाँले भन्‍‌नुभयो, ‘‘ख्रीष्टले कष्ट भोग्‍‌नुपर्छ र त्यसको तीन दिनमा मृतकबाट जीवित भई उठ्‍‌नुपर्ने कुरा लेखिएको छ।
  
47. अनि यरूशलेमबाट शुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पापमोचनको निम्ति पश्चात्तापको प्रचार गरिनुपर्छ।
  
48. तिमीहरू यी सबै कुराका साक्षी हौ।
  
49. हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरूञ्जेल तिमीहरू यही शहरमा बसिरहो।’’
  
50. त्यसपछि येशूले तिनीहरूलाई बेथानीमा लैजानुभयो र स्वर्गतिर हात उचाली उहाँले तिनीहरूलाई आशिष् दिनुभयो।
  
51. त्यसपछि उहाँले यसरी आशिष् दिँदै गर्नुहुँदा उहाँ तिनीहरूको बीचबाट उचालिनुभयो र स्वर्गतिर लगिनुभयो।
  
52. तिनीहरू उहाँको आराधना गर्दै बडो आनन्दले यरूशलेमतिर फर्के।
  
53. अनि तिनीहरूले मन्दिरमा परमेश्वरको प्रशंसा गर्दै बसे। आमेन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES