1. विश्राम-दिन बितेपछि साँझ मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा घस्न सुगन्धित मसला किनेर ल्याए।
2. आइतवार बिहान सबेरै तिनीहरू चिहानमा आए।
3. बाटोमा तिनीहरूले आपसमा बातचित गर्दै भने, ‘‘हाम्रोनिम्ति कसले चिहानको मुखबाट ढुङ्गो गुडाइदेला?’’
4. तर जब तिनीहरू त्यहाँ आइपुगे, तिनीहरूले त्यो ठूलो ढुङ्गो चिहानको मुखबाट हटाइएको देखे।
5. तिनीहरू चिहानभित्र पसे, दाहिनेपट्टि सेता वस्त्र लगाएको एक जना जवान मानिसलाई बसिरहेको देखेर ती स्त्रीहरू अत्यन्तै चकित भए ।
6. तिनले तिनीहरूलाई भने, ‘‘अचम्म नमान, तिमीहरू क्रूसमा टाँगिनुभएका नासरतका येशूलाई खोज्दैछौ, होइन? उहाँ यहाँ हुनुहुन्न। उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ। उहाँलाई राखिएको ठाउँमा हेर त।
7. अब जाओ अनि यो समाचार पत्रुस र उहाँका चेलाहरूलाई सुनाओ; उहाँले पहिले नै भन्नुभएझैँ उहाँ तिमीहरूको अघि गालीलमा गइरहनुभएको छ, तिमीहरूले उहाँलाई त्यहाँ भेट्टाउनेछौ।’’
8. ती स्त्रीहरू डर र आश्चर्यले काँप्दै चिहानबाट निस्केर भागे, बाटोमा तिनीहरूले कसैलाई केही भनेनन्, किनभने तिनीहरू साह्रै डराएका थिए।
9. [ येशू आइतवार बिहानै मृतकबाट जीवित भई उठ्नुभयो र उहाँलाई पहिलोपल्ट मरियम मग्दलिनी (जसबाट येशूले सातवटा भूतात्मा निकाल्नुभएको थियो) ले देखेकी थिइन्।
10. तिनी त्यहाँबाट गइन् र चेलाहरूलाई रुँदै र विलाप गर्दै गरेका भेट्टाइन्।
11. तर तिनले, ‘येशू जीवित हुनुभएको छ र म आफैले उहाँलाई भेटेकी हुँ’ भन्दा तिनीहरूले विश्वासै गरेनन्।
12. त्यसपछि गाउँतिर गइरहेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो।
13. तिनीहरू फर्केर गई त्यो कुरा अरुहरूलाई बताए तर तिनीहरूमध्ये एउटैले पनि विश्वास गरेनन्।
14. त्यसपछि एघारै चेलाहरूले खाना खाइरहेको बेलामा उहाँ देखा पर्नुभयो। तिनीहरूको अविश्वास र हृदयको कठोरताको निम्ति उहाँले तिनीहरूलाई हप्काउनुभयो । किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूले ल्याएको खबरमा तिनीहरूले विश्वास गरेनन्।
15. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सारा संसारमा गएर सबै सृष्टिलाई सुसमाचार प्रचार गर।
16. जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, उसले उद्धार पाउँछ । तर विश्वास नगर्नेहरू दोषी ठहरिनेछन् ।
17. विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन् : तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन्, अन्यभाषा बोल्नेछन्।
18. तिनीहरूले सर्पहरू समात्न सक्नेछन् र कुनै विष पिए तापनि त्यसले तिनीहरूको हानी गर्नेछैन। तिनीहरूले आफ्ना हात बिमारीहरूमाथि राख्नेछन् र तिनीहरू निको हुनेछन्।’’
19. जब प्रभु येशूले तिनीहरूलाई यी कुरा भनिसक्नुभयो, उहाँ स्वर्गतिर उठाइलगिनुभयो र परमेश्वरको दाहिने बाहुलीपट्टि आदरको स्थानमा बिराजमान हुनुभयो ।
20. त्यसपछि चेलाहरू चारैतिर गए र प्रचार गर्नलागे । प्रभुले धेरै चिन्हहरूद्वारा तिनीहरूको प्रचारलाई प्रमाणित गर्नुभयो।]
|