1. भोलिपल्ट बिहानै सम्पूर्ण महासभाका मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू भेला भएर अब के गर्ने भनी छलफल गर्नलागे। तिनीहरूले येशूलाई बाँधे र रोमी राज्यपाल पिलातसकहाँ पुर्याए।
2. पिलातसले येशूलाई सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’ येशूले जवाफ दिनुभयो, ‘‘हो, तपाईं नै त्यसो भन्नुहुन्छ।’’
3. मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए।
4. अनि पिलातसले फेरि सोधे, ‘‘के तिम्रो भन्नु केही पनि छैन? हेर, यिनीहरूले तिमीमाथि कति धेरै दोष लगाइरहेका छन् ।’’
5. तर येशूले केही पनि भन्नुभएन, त्यो देखेर पिलातस चकित भए।
6. निस्तार-चाडको समयमा मानिसहरूले अनुरोध गरेको एक जना कैदीलाई छोडिदिने चलन थियो।
7. हत्याको आरोप लागेका केही विद्रोहीहरूमध्ये बारब्बा भनिने मानिस त्यसबेला झ्यालखानमा थियो।
8. पिलातसको सामुन्ने जम्मा भएको भीडले तिनीहरूको चलनअनुसार एउटा कैदी छोडियोस् भनी विन्ती गर्न लाग्यो।
9. पिलातसले सोधे,‘‘के म यहूदीहरूका राजा भनिनेलाई छोडिदिऊँ?’’
10. किनभने यहूदी अगुवाहरूले येशूलाई ईर्ष्याको कारण पक्रेका हुन् भनी तिनले बुझेका थिए।
11. तर यसबेला मुख्य पूजाहारीहरूले भीडलाई उक्साएर येशूको साटो बारब्बालाई छोडिदिनुहोस् भन्न लगाए।
12. पिलातसले सोधे, ‘‘तर मैले बारब्बालाई छोडिदिएँ भने यहूदीहरूका राजा भनिने यी येशूलाई के गर्ने नि?’’
13. तिनीहरूले चिच्च्याउँदै भने,‘‘उसलाई क्रूसमा टाँग्नुहोस्।’’
14. पिलातसले सोधे,‘‘किन? यिनले त्यस्तो के अपराध गरेका छन् र?’’ तर भीडले यसो भन्दै अझै जोरले चिच्च्याए, ‘‘उसलाई क्रूसमा टाँग्नुहोस्।’’
15. त्यसकारण पिलातसले भीडको चित्त बुझाउनका लागि बारब्बालाई छोडिदिने आज्ञा दिए र येशूलाई कोर्रा लगाएर क्रूसमा टाँग्न सुम्पिदिए।
16. सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात् राज्यपालको महलमा लगेर जम्मै पल्टनलाई बोलाए।
17. अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए र लामा तीखा काँडाको मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए।
18. त्यसपछि तिनीहरूले यसो भन्दै सलाम गरे, ‘‘हे यहूदीहरूका राजा, हजूरको जय होस्।’’
19. तिनीहरूले उहाँको शिरमा लौरोले हिर्काए, उहाँको मुखमा थुके र उहाँको अगाडि घुँडा टेकेर गिल्ला गरे।
20. तब आफै थाकेपछि, तिनीहरूले उहाँलाई लगाइदिएको बैजनी वस्त्र फुकालेर फेरि उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि उहाँलाई क्रूसमा टाँग्न त्यहाँबाट लगे।
21. कुरेनीको सिमोन, अलेक्जेन्डर र रूफसका बाबु नाउँ भएको एक जना कुरेनीबासी त्यसैबेला गाउँबाट आइरहेका थिए, तिनीहरूले जबरजस्ती उसलाई येशूको क्रूस बोक्न लगाए।
22. तिनीहरूले येशूलाई गलगथा (जसको अर्थ हो-खप्परे डाँडा)मा ल्याए।
23. तिनीहरूले उहाँलाई मूर्र मिसाएको अङ्गुरमद्य पिउन दिए तर उहाँले त्यो पिउन मान्नुभएन।
24. तब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि उहाँको वस्त्र कसले लैजाने भनी गोला हाले।
25. तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।
26. क्रूसमा उहाँको शिरमाथि एउटा दोषपत्र टाँसिएको थियो, जसमा ‘येशू, यहूदीहरूका राजा’ भनी लेखिएको थियो।
27. उहाँको दुवैतिर दुई जना अपराधीहरू पनि टाँगिएका थिए।
28. धर्मशास्त्रको वचन यसरी पूरा भयो, ‘‘उहाँ अपराधीहरूसँग गनिनुभयो।’’
29. आउने-जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै उहाँको गिल्ला गर्नलागे, ‘‘मन्दिरलाई भत्काएर तीनै दिनमा बनाउँछु भन्ने तैँ होइनस्?
30. आफैलाई बचा र क्रूसबाट ओर्लिआइज।’’
31. मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले पनि येशूको गिल्ला गर्दै यसो भने,‘‘उसले अरुहरूलाई बचायो तर आफैलाई बचाउन सकेन।
32. यो इस्राएलको राजा, मसीह क्रूसबाट ओर्लिएर आओस् तब हामी त्यो देखेर विश्वास गरौंला।’’ उहाँसँगै क्रूसमा टाँगिएका अपराधीहरूले समेत उहाँको गिल्ला गरे।
33. मध्यदिनमा चारैतिर अँध्यारो भयो र दिउँसोको प्राय: तीन बजेसम्म नै सारा देशभरि अन्धकार छायो।
34. येशू ठूलो सोरले कराउनुभयो, ‘‘एलोई, एलोई लामा सबकथनी?’’ यसको अर्थ हो, ‘‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?’’
35. त्यहाँ नजिकै उभिनेहरूले त्यो सुनेर भने, ‘‘हेर, यसले एलिया अगमवक्तालाई बोलाउँदै छ।’’
36. तिनीहरूमध्ये एक जना दगुर्दै गई अमिलिएको अङ्गुरमद्यमा स्पन्ज चोपेर त्यसलाई एउटा निगालोको टाँगोमा अडयाएर उहाँलाई पिउन दियो। अर्कोले भन्यो,‘‘त्यसलाई त्यतिकै छोडिदेऊ, हेरौं, कतै त्यसलाई बचाउन एलिया आउँछन् कि।’’
37. त्यसपछि येशू फेरि जोडले कराउनुभयो र प्राण त्याग्नुभयो।
38. अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै च्यातिएर दुई फ्याक भयो।
39. उहाँको मृत्युलाई नजिकैबाट हेरिरहेको रोमी सेनाको अधिकारीले भन्यो, ‘‘साँच्चै, यिनी त परमेश्वरका पुत्र रहेछन्।’’
40. त्यसको केही पर बसेर मरियम मग्दलिनी, सानो याकूब र योसेसकी आमा मरियम र सलोमीले सबै घटना हेरिरहेका थिए।
41. तिनीहरू पनि येशूलाई पछयाउनेहरू नै थिए र उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले नै उहाँको सेवा गरेका थिए। तिनीहरूसहित अरु पनि धेरै जना स्त्रीहरू उहाँसँगै यरूशलेम आएका थिए।
42. अनि साँझ परेपछि त्यो तयारीको दिन अर्थात् विश्राम-दिनको अघिल्लो दिन भएको हुनाले,
43. अरिमाथियाका योसेफ, महासभाका माननीय सदस्य (जसले गुप्तमा परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए) साहस गरेर पिलातसकहाँ गए रयेशूको लाश मागे।
44. येशू त्यति चाँडै मर्नुभयो भन्ने कुरा पिलातसले पत्त्याउन सकेनन्। तसर्थ तिनले रोमी सेनाका अधिकारीलाई बोलाएर सोधखोज गरे।
45. त्यस अधिकारीले येशू मर्नुभएको साँचो हो, भनेपछि पिलातसले योसेफलाई उहाँको लाश लगेर दफन गर्ने अनुमति दिए।
46. योसेफले लामो सुतीको कपडा किनेर ल्याए। येशूको लाश क्रूसबाट उतारे र त्यस कपडाले बेह्रेर चट्टानमा कपेर बनाएको चिहानमा लगेर राखे अनि उनले एउटा ठूलो ढुङ्गो गुडाएर चिहानको मुख थुनिदिए।
47. येशूलाई त्यहाँ लगेर राखिएको कुरा मरियम मग्दलिनी र योसेफकी आमा मरियमले राम्ररी हेरिरहेका थिए।
|