1. केही दिनपछि येशू कफर्नहुममा फर्किनुभयो र उहाँ, त्यहाँ आइपुग्नुभएको खबर तुरुन्तै फैलिहाल्यो।
2. उहाँ बस्नुभएको घर एकैछिनमा भरियो, ढोका वरिपरिसमेत मानिसहरू बस्ने ठाउँ थिएन। येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो।
3. एउटा पक्षाघातीलाई गुन्द्रीमा राखेर चार जना मानिसहरू त्यहाँ आए।
4. भीडको कारण तिनीहरू भित्र पस्न सकेनन्। त्यसकारण तिनीहरू छानामा चढेर येशू बस्नुभएको ठीक माथिको छाना उप्काए र त्यहाँबाट तिनीहरूले त्यस बिमारीलाई गुन्द्रीसहित येशूको अघिल्तिर झारे।
5. तिनीहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, तिम्रा पाप क्षमा भएका छन्।’’
6. तर त्यहाँ बसिरहेका कोही-कोही धार्मिक व्यवस्थाका शिक्षकहरूले आपसमा भने,
7. ‘‘के यो ईश्वर-निन्दा होइन? परमेश्वरबाहेक अरु कसले पाप क्षमा गर्नसक्छ?’’
8. तिनीहरू आपसमा के भन्दैछन् भन्ने कुरा चाल पाएर येशूले भन्नुभयो, ‘‘तिमीहरू यसलाई किन ईश्वर-निन्दा भन्छौ?
9. कुन सजिलो, पक्षाघातीलाई ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि, ‘उठ र आफ्नो गुन्द्री उठाएर घर जाऊ’ भन्नु?
10. तर पुष्टि गरिदिन्छु, म, मानिसको पुत्रलाई पाप क्षमा गर्ने अधिकार छ।’’ अनि उहाँ त्यस पक्षाघातीतिर फर्किनुभयो र भन्नुभयो,
11. ‘‘उठ, तिम्रो गुन्द्री उठाऊ र घर जाऊ, किनभने तिमी निको भएका छौ।’’
12. त्यो मानिस बुर्लुक्कै उफ्रिएर खडा भयो र आफ्नो गुन्द्री बोकेर सबैलाई छक्क पार्दै बाटो लाग्यो। त्यो देखेर त्यहाँ हुने सबैले परमेश्वरको प्रशंसा गर्दै भने,‘‘यसभन्दा पहिले हामीले कहिल्यै यस्तो देखेका थिएनौं !’’
13. त्यसपछि येशू फेरि झीलको किनारमा जानुभयो र त्यहाँ भेला भएका मानिसहरूलाई उहाँले शिक्षा दिनुभयो।
14. उहाँ त्यस ठाउँबाट जाँदै गर्नुहुँदा महसुल उठाउने अड्डामा अल्फयसका छोरो मत्तीलाई बसिरहेको देख्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, ‘‘आऊ, तिमी मेरोपछि लाग।’’ त्यो सुनेर लेवी जुरुक्कै उठे र उहाँको पछि लागे।
15. त्यस बेलुकी लेवीले येशू र उहाँका अरु चेलाहरूलाई आफ्नो घरमा भोजन गर्न निम्त्याए। उहाँ तिनको घरमा भोजन गर्न बस्नुहुँदा त्यहाँ अरु धेरै जना महसुल उठाउनेहरू र अरु पापीहरू पनि सामेल भएका थिए। येशूलाई पछयाउनेहरूमा धेरै जना त्यस्ता मानिसहरू थिए।
16. तर धार्मिक व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, येशूलाई तिनीहरूसँगै बसेर खाँदै गरेको देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई भने, ‘‘उनी किन यस्ता नीच मानिसहरूसँगै बसेर खान्छन्?’’
17. जब येशूले त्यो कुरा सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो,‘‘निरोगीलाई वैद्यको खाँचो पर्दैन, रोगीलाई मात्र। त्यसैगरी म, आफूलाई धर्मी ठान्नेहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको छु।’’
18. यूहन्नाका चेलाहरू र कोही-कोही फरिसीहरू बेला-बेलामा उपवास बस्थे। एक दिन तिनीहरूमध्ये केही मानिसहरू येशूकहाँ आए र सोधे, ‘‘यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्छन् तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’’
19. येशूले जवाफ दिनुभयो, ‘‘के दुलहासँगै आनन्द मनाउने जन्तीहरू उपवास बस्छन्? जबसम्म दुलहा तिनीहरूको साथमा हुन्छन् तिनीहरू उपवास बस्न सक्दैनन्।
20. तर एक दिन तिनीहरूबाट दुलहालाई लगिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्।
21. त्यसैगरी पुरानो लुगामा कसले नयाँ टालो टाल्छ? किनकि नयाँ टालोले लुगालाई फटाउनेछ र वस्त्र झन् बढी च्यातिन्छ।
22. पुरानो छालाको मशकमा कसैले पनि नयाँ अङ्गुरमद्य हाल्दैन। नत्र त अङ्गुरमद्यले मशकलाई फटाउँछ र अङ्गुरमद्य पोखिन्छ। नयाँ अङ्गुरमद्य राख्न त नयाँ नै छालाको मशक चाहिन्छ।’’
23. एक विश्रामको दिनमा येशू गहुँको खेतको बाटो हिँडिरहनुभएको थियो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर माड्दै खान थाले।
24. त्यो देखेर फरिसीहरूले येशूलाई भने, ‘‘यिनीहरूले यस्तो गर्नु हुँदैनथ्यो। विश्राम-दिनमा फसलको काम गर्नुसमेत व्यवस्थाको विरुद्धमा हुन्छ।’’
25. तर येशूले जवाफ दिनुभयो,‘‘तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ-दाऊद र तिनका मानिसहरू भोकाउँदा तिनले के गरे ?
26. प्रधान पूजाहारी अबियाथारको पालामा तिनी परमप्रभुको भवनभित्र पसे र पूजाहारीहरूको निम्ति मात्रै अलग गरिएको रोटी आफूले खाए र आफ्ना मानिसहरूलाई पनि खान दिए। त्यो पनि त व्यवस्थाको विरुद्धमा थियो।’’
27. त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘विश्राम-दिन त मानिसहरूको भलाइको निम्ति बनाइएको हो र मानिस विश्राम-दिनको निम्ति बनाइएको होइन।
28. यसकारण म, मानिसको पुत्र त विश्राम-दिनको पनि प्रभु हुँ।’’
|