1. येशू फेरि सभाघरमा जानुभयो र त्यहाँ उहाँले हात सुकेको एक जना मानिसलाई बसिरहेको देख्नुभयो।
2. त्यो विश्राम-दिन परेको हुनाले येशूका विरोधीहरूले उहाँको चेवा गरिरहेका थिए -के उहाँले विश्राम-दिनमा त्यसलाई पनि निको पार्नु होला ! यदि उहाँले विश्राम-दिनमा त्यसो गर्नुभएमा उहाँलाई दोष्याउन सकिन्छ भन्ने योजना तिनीहरूले बनाएका थिए।
3. येशूले त्यस मानिसलाई भन्नुभयो, ‘‘यहाँ आएर सबैको अगाडि खडा होऊ।’’
4. त्यसपछि उहाँ आफ्ना विरोधीहरूतिर फर्किनुभयो र सोध्नुभयो, ‘‘के विश्राम-दिनमा असल काम गर्नु न्यायसङ्गत हुन्छ? कि यो दिन खराब काम गर्नका लागि हो? यो जीवन बचाउने दिन हो कि नाश पार्ने?’’ तर तिनीहरूले कुनै जवाफ दिएनन्।
5. उहाँले तिनीहरूलाई रिसाएर हेर्नुभयो, किनभने तिनीहरूको कठोर हृदय देखेर उहाँ ज्यादै विचलित हुनुभएको थियो। त्यसपछि उहाँले त्यस मानिसलाई भन्नुभयो, ‘‘तिम्रो हात पसार।’’ त्यसले हात पसार्यो र त्यो ठीक भइहाल्यो।
6. त्यसैबेला फरिसीहरू त्यहाँबाट निस्केर गए र हेरोदका समर्थकहरूसँग बसेर येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले।
7. येशू र उहाँका चेलाहरू त्यहाँबाट निस्किएर समुद्रतिर लाग्नुभयो र उहाँलाई गालीलीहरूले पछयाए।
8. अनि यरूशलेम, इदुमिआ, यर्दन नदीको पूर्वी इलाका, टुरोस र सीदोनभन्दा टाढाका मानिसहरूका भीड उहाँको ठूला - ठूला कामहरूको बारेमा सुनेर उहाँलाई भेट्न आए।
9. भीडले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नोनिम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो।
10. त्यस दिन उहाँले धेरैलाई निको पार्नुभयो। फलस्वरूप धेरै रोगी-बिमारीहरू उहाँलाई छुनका लागि ठेलमठेला गरिरहेका थिए ।
11. अशुद्ध आत्माहरूले सताइएकाहरू उहाँको सामु पर्दा ‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ’ भनेर कायल हुँदै भुइँमा लड्दथे।
12. तर येशूले तिनीहरूलाई उहाँको विषयमा केही नबोल्ने चेताउनी दिनुभयो।
13. त्यसपछि येशू डाँडामा उक्लनुभयो। उहाँले चाहनुभएकाहरूलाई मात्र आफूसँग लैजानुभयो र ती उहाँसँग गए।
14. तब उहाँले आफूसँगै सधैँ रहून् भनेर तिनीहरूमध्ये बाह्र जनालाई चुन्नुभयो र तिनीहरूलाई प्रेरित भन्नुभयो । उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउनुभयो,
15. उहाँले तिनीहरूलाई भूतात्मा निकाल्ने अधिकार पनि दिनुभयो।
16. उहाँले चुन्नुभएका बाह्र प्रेरितहरू यिनै हुन् : सिमोन (जसलाई पत्रुस पनि भनिन्छ),
17. याकूब र यूहन्ना(जब्दियाका छोराहरू,येशूले उनीहरूलाई ‘गर्जनका पुत्रहरू’ भन्नुभयो),
18. अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो), थेदियस, सिमोन कनानी
19. र यहूदा इस्करियोत (जसले पछि येशूलाई धोका दियो)।
20. येशू जब त्यहाँबाट फर्किएर आफू बसेको घरमा आउनुभयो, मानिसहरू त्यहाँ फेरि भेला हुनथाले। चाँडै नै ठूलो भीड जम्मा भइहाल्यो अनि उहाँ र उहाँका चेलाहरूलाई खाने फुर्सद पनि भएन।
21. जब येशूका परिवारले त्यो कुरा सुने, तब उहाँलाई घरमा लैजान भनी तिनीहरू त्यहाँ आए, किनकि ‘उहाँको होश ठेगानमा छैन’ भनी तिनीहरू ठान्दथे।
22. तर यरूशलेमबाट आएका धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘यिनमा शैतानको शक्ति छ । त्यसैले यिनले भूतात्माहरूलाई धपाउनसकेका हुन् ।’’
23. येशूले तिनीहरूलाई बोलाउनुभयो र उदाहरण दिँदै भन्नुभयो, ‘‘कसरी शैतानले शैतानलाई निकाल्न सक्छ?
24. आपसमा लडाइँ गर्ने राज्य विनाश हुन्छ।
25. आफैभित्र विभाजित घर नष्ट हुन्छ।
26. शैतानले पनि आफैसित लडाइँ गर्छ भने त्यो कसरी टिक्छ र? ऊ टिक्दैन।
27. म तिमीहरूलाई एउटा उदाहरण दिन्छु, तिमीहरूले एउटा बलियो मानिसलाई नबाँधी उसको घरमा पस्न र लुट्न सक्दैनौ।
28. साँच्चै, म तिमीहरूलाई भन्दछु, ईश्वर-निन्दा लगायत कुनै पनि पाप क्षमा हुनसक्छ,
29. तर जसले पवित्र आत्माको निन्दा गर्छ, त्यसलाई कदापि क्षमा हुनेछैन। तर त्यो अनन्त पापको दोषी हुन्छ।’’
30. उहाँले तिनीहरूलाई यो कुरा भन्नुभयो, किनभने तिनीहरू ‘उहाँमा दुष्टात्मा छ’ भन्थे।
31. उहाँले शिक्षा दिइरहनुभएको घरमा येशूकी आमा र भाइहरू आइपुगे। उनीहरू बाहिरै बसे र ‘बाहिर आएर हामीसँग बात गर्नुहोस्’ भनी खबर पठाए।
32. येशूको वरिपरि ठूलो भीड थियो । कसैले उहाँलाई भन्यो, ‘‘तपाईंकी आमा र भाइहरू बाहिर तपाईंलाई पर्खिरहेका छन्।’’
33. येशूले जवाफ दिनुभयो, ‘‘मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?’’
34. तब उहाँले आफ्नो वरिपरि उभिएका ती मानिसहरूलाई हेर्दै भन्नुभयो, ‘‘हेर, मेरी आमा र मेरा दाजुभाइहरू !
35. जसले परमेश्वरको इच्छा पालन गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी र आमा हुन्।’’
|