1. आइतवार बिहानै रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न भनेर गए।
2. अचानक त्यहाँ ठूलो भूकम्प गयो, किनकि स्वर्गबाट एक जना प्रभुका दूत ओर्लिआए र चिहानको ढुङ्गो हटाएर त्यसमाथि बसे।
3. तिनको अनुहार चम्किलो ज्योतिजस्तै थियो र तिनको वस्त्र पनि हिउँजस्तै सेतो थियो।
4. पहरामा खटिएका सिपाहीहरू तिनलाई देखेर डरले मूर्च्छा परे।
5. तब स्वर्गदूतले ती स्त्रीहरूलाई भने, ‘‘नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।
6. उहाँ त यहाँ हुनुहुन्न। उहाँले भन्नुभएझैँ उहाँ मृत्युबाट जीवित हुनुभएको छ। उहाँलाई राखिएको ठाउँमा आएर हेर।
7. अब तिमीहरू चाँडो गरी जाओ र उहाँ मृत्युबाट पुनर्जीवित हुनुभयो भनी उहाँका चेलाहरूलाई सुनाओ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जानुभएको छ। मैले तिमीहरूलाई भनेको कुरा याद राख, तिमीहरूले उहाँलाई त्यहीँ भेट्टाउनेछौ।’’
8. ती स्त्रीहरू चिहानबाट तुरुन्तै दौडिएर गए। तिनीहरू डराएका थिए, तापनि अत्यन्तै खुशीले भरिएका थिए। तिनीहरू चेलाहरूलाई भेटेर त्यो खबर सुनाउन ज्यादै हतारिएका थिए।
9. तिनीहरू जाँदै गर्दा बाटोमा येशूले भेट्नुभयो र उहाँले अभिवादन गर्नुभयो। तिनीहरू दौडिँदै गएर उहाँको पाउमा परे र उहाँको आराधना गरे ।
10. तब येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ। तिनीहरूले मलाई त्यहाँ भेट्टाउनेछन्।’’
11. ती स्त्रीहरू शहरतिर जाँदै गर्दा चिहानमा पहरा दिएर बस्ने सिपाहीहरू मुख्य पूजाहारीहरूकहाँ गए र सबै खबर बताए।
12. सबै धार्मिक अगुवाहरूको बैठक डाकियो र तिनीहरूले सल्लाह गरेर सिपाहीहरूलाई धेरै घूस दिए।
13. तिनीहरूले भने, ‘‘तिमीहरूले ‘हामी सुतिरहेको बेला राती येशूका चेलाहरू आए र उसलाई चोरेर लगे’ भन्नू।
14. यदि हाकिमले यो कुरा सुने भने हामी छौं, हामी नै तिमीहरूको पक्षमा बोलौंला र सबै कुरा ठीक हुनेछ।’’
15. त्यसरी ती सिपाहीहरूले घूस लिए र तिनीहरूले भनेझैँ भनिदिए । त्यही कुरा यहूदीहरूमाझ व्यापकरूपमा फैलियो र उनीहरू आजसम्मै त्यसै भन्छन्।
16. तब एघारै जना चेलाहरू गालीलतिर लागे, तिनीहरू येशूले भन्नुभएझैँ त्यहाँको एउटा डाँडामा गए।
17. जब तिनीहरूले येशूलाई भेटे, तब उहाँलाई दण्डवत् गरे तर कतिले अझै शङ्का गरे।
18. येशू तिनीहरूको नजिकै आउनुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘स्वर्ग र पृथ्वीमा सम्पूर्ण अधिकार मलाई दिइएको छ।
19. यसकारण, जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।
20. मैले तिमीहरूलाई दिएका सबै आज्ञाहरू पालन गर्न ती चेलाहरूलाई सिकाओ। हेर, यस कुरामा तिमीहरू निश्चित होओ : संसारको अन्त्यसम्म नै म तिमीहरूको साथमा छु।’’
|