1. येशूलाई मृत्युदण्ड दिलाउन कसरी रोमी शासक सामु पुर्याउने भनी सरसल्लाह गर्न एकाबिहानै पूजाहारीहरू र अरु अगुवाहरू भेला भए।
2. तिनीहरूले उहाँलाई बाँधे र रोमी शासक पन्तियस पिलातसकहाँ लगे।
3. तिनीहरूले येशूलाई मृत्युदण्ड नै दिन लागेका छन् भन्ने थाहा पाएपछि उहाँलाई धोका दिने यहूदालाई पछुतो लाग्यो। त्यसकारण उसले मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूकहाँ तीस चाँदीका सिक्का फिर्ता गर्यो।
4. उसले भन्यो, ‘‘मैले निर्दोष व्यक्तिलाई धोका दिएर ठूलो पाप गरेँ।’’ तिनीहरूले उसको उपहास गर्दै भने, ‘‘हामी के गरौं त? तिमी आफै जान।’’
5. तब यहूदाले ती सिक्का मन्दिर अगाडि फ्याँक्यो र बाहिर गएर झुन्डिएर आत्महत्या गर्यो।
6. पूजाहारीहरूले त्यो पैसा बटुले। तिनीहरूले भने, ‘‘हत्यारालाई दिइएको यो पैसा हामीले मन्दिरको ढुकुटीमा राख्नु उचित हुँदैन, किनकि यो रगतको मोल हो।’’
7. केही बेरको छलफलपछि तिनीहरूले त्यस पैसाले कुम्हालेको जमीन किनेर त्यसलाई परदेशीहरूको चिहानघारी बनाउने निर्णय गरे।
8. त्यसैकारणले गर्दा, त्यस ठाउँलाई अझै पनि रगतको जमीन भनिन्छ ।
9. यसरी यर्मिया अगमवक्ताको अगमवाणी पूरा भयो, ‘‘इस्राएलका मानिसहरूद्वारा तोकिएको उहाँको मोल तीस टुक्रा चाँदीबाट मैले,
10. परमप्रभुले अह्राउनुभएअनुसार कुम्हालेको जमीन किनेँ।’’
11. येशू रोमी शासक पिलातसको सामुन्ने उभिनुभएको थियो। उनले येशूलाई सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’ येशूले जवाफ दिनुभयो,‘‘तपाईं नै भन्नुहुन्छ।’’
12. तर मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूले उहाँलाई दोष लगाउँदा उहाँ चुप लागिरहनुभयो ।
13. पिलातसले सोधे, ‘‘यिनीहरूले तिमीमाथि आरोप लगाएको सुनेनौ?’’
14. तर उहाँले केही पनि प्रतिवाद नगर्नुभएको देखेर तिनी छक्क परे।
15. निस्तार-चाडको अवसरमा जनताले चाहेको कुनै एउटा कैदीलाई झ्यालखानबाट छोडिदिने चलन थियो।
16. त्यसबेला एक जना बारब्बा भनिने कुख्यात अपराधी झ्यालखानमा थियो।
17. त्यस बिहानी मानिसहरू आफ्नो घरमा भेला भइरहेकै मौका पारेर पिलातसले सोधे, ‘‘म कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ- बारब्बा कि मसीह कहलिएका येशूलाई?’’
18. यहूदी अगुवाहरूले येशूलाई ईर्ष्या गरेर मात्रै पक्रिएका हुन् भन्ने कुरा उनले राम्ररी बुझेका थिए।
19. पिलातस आफ्नो न्याय-आसनमा बसिरहेकै बेला उनकी पत्नीले उनलाई यसो भन्ने खबर पठाइन्: ‘‘त्यस धर्मीजनलाई छोडिदिनुहोस्, किनभने हिज राती मैले तिनको विषयमा डरलाग्दो सपना देखेकी थिएँ।’’
20. त्यसैबेला मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूले मानिसहरूलाई यसो भनेर हल्ला मच्चाउन लगाए- ‘बारब्बालाई छोडिदिनुहोस् र तिनको बदलामा येशूलाई मृत्युदण्ड दिनुहोस्।’
21. त्यसकारण, पिलातसले दोहोर्याएर सोधे, ‘‘यी दुईमध्ये म कसलाई छोडिदिऊँ भन्ने चाहन्छौ?’’ भीडले उच्च स्वरमा भन्यो, ‘‘बारब्बालाई।’’
22. पिलातसले आग्रह गर्दै भने, ‘‘तर मैले बारब्बालाई छोडिदिएँ भने मसीह कहलिएका येशूलाई के गरौं त?’’ अनि तिनीहरू सबै जना कराए,‘‘त्यसलाई क्रूसमा टाँग्नुहोस्।’’
23. पिलातसले सोधे, ‘‘किन? यिनले त्यस्तो के अपराध गरेका छन् र ?’’ तर भीडले अझ चर्को स्वरमा कराउँदै भन्यो, ‘‘त्यसलाई क्रूसमा टाँग्नुहोस्।’’
24. आफ्नो केही सीप नलागेको र त्यसको सट्टामा झन् कोलाहल मच्चिएको देखेर पिलातसले पानी लिएर भीडका सामु यसो भन्दै आफ्नो हात धोए : ‘‘म यस धर्मी मानिसको रगतदेखि निर्दोष छु, तिमीहरू आफै जान।’’
25. तब भीडले जवाफ दिँदै भन्यो, ‘‘त्यसको दोष हामीलाई नै लागोस्। त्यो रगतको दोष हामी र हाम्रा सन्तानमा परोस्।’’
26. यसरी पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए र येशूलाई कोर्रा लगाउने हुकुम दिएर क्रूसमा टाँग्न रोमी सिपाहीहरूको जिम्मा लगाइदिए।
27. रोमी शासकका केही सिपाहीहरूले येशूलाई पल्टनमा लगे र जम्मै फौजलाई बोलाए।
28. तिनीहरूले उहाँलाई नाङ्गोझार पारे र शाही पोशाक लगाइदिए।
29. तिनीहरूले काँडैकाँडाले भरिएको एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए र उहाँको हातमा एउटा निगालोको लौरो राखिदिए अनि उहाँको सामुन्ने घुँडा टेक्दै यसो भनेर गिल्ला गरे,‘‘हे यहूदीहरूका राजा, जय होस् !’’
30. त्यसपछि तिनीहरूले उहाँलाई थुके र उहाँको हातको लौरो खोसेर उहाँको शिरमा हिर्काए।
31. यसरी गिल्ला गरेर थाकेपछि, तिनीहरूले त्यो शाही पोशाक फुकाले र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि उहाँलाई क्रूसमा टाँग्न भनेर लगे।
32. बाटोमा जाँदै गर्दा कुरेनीबाट आएको एक जना सिमोन भनिने मानिसलाई तिनीहरूले भेट्टाए र उसलाई येशूको क्रूस बोक्न कर लगाए।
33. तब तिनीहरू शहरभन्दा बाहिर गलगथा भनिने ठाउँमा पुगे(गलगथाको अर्थ खप्परे डाँडा हुन्छ)।
34. सिपाहीहरूले येशूलाई पित्त मिसाएको सिर्का पिउन दिए तर त्यो चाखेर उहाँले पिउन मान्नुभएन।
35. तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँको वस्त्र कसले लिने भनी गोला हाले र बाँडे। यो भविष्यवक्ताद्वारा बोलिएका वचन पूरा हुनलाई भएको हो: तिनीहरूले मेरा वस्त्रहरू आपसमा बाँडे र मेरा पोशाकका लागि गोला हाले ।
36. त्यसपछि तिनीहरू वरिपरि बसेर उहाँलाई पहरा दिए।
37. उहाँको शिरमास्तिर तिनीहरूले दोषपत्र टाँसिदिए। त्यसमा यस्तो लेखिएको थियो : ‘‘यो यहूदीहरूको राजा, येशू हो।’’
38. दुई जना अपराधीहरूलाई पनि उहासँगै, उहाँको दायाँ-बायाँतिर क्रूसमा टाँगिएको थियो।
39. आउने - जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै उहाँको गिल्ला गर्नलागे,
40. ‘‘मन्दिरलाई भत्काएर तीनै दिनमा बनाउँछु भन्ने तैँ होइनस्? आफैलाई बचा र तँ साँच्चै परमेश्वरको पुत्र होस् भने क्रूसबाट ओर्लिआइज।’’
41. मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अरु यहूदी अगुवाहरूले पनि त्यसरी नै येशूको गिल्ला गर्दै भने,
42. ‘‘यसले अरुलाई त बचायो तर आफैलाई बचाउन सकेन। यो यहूदीहरूको राजा हो त? यदि हो भने क्रूसबाट तल ओर्लिआओस् र हामी विश्वास गरौंला।
43. उसले परमेश्वरमा भरोसा राख्दथ्यो, यदि परमेश्वरले चाहनुहुन्छ भने उहाँले उसलाई बचाऊन् किनकि उसले भन्थ्यो, ‘म परमेश्वरको पुत्र हुँ’ ।’’
44. उहाँसँगै टाँगिएका अपराधीहरूले समेत त्यसैगरी उहाँको अपमान गरे।
45. मध्यदिनमा चारैतिर अँध्यारो भयो र दिउँसोको प्राय : तीन बजेसम्म नै अन्धकार भइरह्यो।
46. तीन बजेतिर येशू यसो भनेर जोडले कराउनुभयो, ‘‘एली, एली, लामा सबखथनी?’’ यसको अर्थ हो, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?’
47. त्यहाँ उभिनेहरूमध्ये कतिले उहाँको कुरा बुझ्नसकेनन् र भने, ‘‘यसले एलियालाई बोलाउँदै छ।’’
48. तिनीहरूमध्ये एउटाले दगुरेर गई अमिलिएको अङ्गुरमद्य स्पन्जमा चोपेर निगालोको टाँगोमा राखी उहाँलाई पिउन दियो।
49. तर अरुले भने, ‘‘पर्ख, तिनलाई एकलै छोडिदिऔं, कतै एलिया आएर तिनलाई बचाउने हुन् कि हेरौं।’’
50. येशू फेरि जोडले कराउनुभयो र आफ्नो प्राण त्याग्नुभयो।
51. त्यसैबेला मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भएर बीचैमा च्यातियो, पृथ्वी काँप्यो र चट्टानहरू फुटे।
52. चिहानहरू उघ्रिए र पहिल्यै मरिगएका सन्तहरूका मृत-शरीरहरू जीवित भई उठे,
53. अनि येशू मृत्युबाट पुनर्जीवित भएपछि, तिनीहरू चिहानबाट निस्क े र येशूसँग पवित्र शहर यरूशलेममा गए र धेरै मानिसहरूकहाँ देखा परे।
54. त्यहाँ पहरा दिएर बसेका रोमी कप्तानहरू भूकम्प र त्यहाँ भएका घटनाहरूद्वारा भयभीत भए । तिनीहरूले भने, ‘‘यिनी त साँच्चै परमेश्वरका पुत्र रहेछन्।’’
55. गालीलबाट आएका धेरै जना स्त्रीहरूले टाढै बसेर ती घटनाहरू हेरिरहेका थिए।
56. तिनीहरूमा मरियम मग्दलिनी, याकूब र योसेसकी आमा मरियम अनि याकूब र यूहन्नाकी आमा जब्दियाकी पत्नी थिए।
57. साँझ परेपछि अरिमाथिया बस्ने एक जना धनी मानिस, योसेफ - जो येशूलाई पछयाउनेहरूमध्ये एक थिए,
58. उनी पिलातसकहाँ गए र येशूको मृत-शरीर पाऊँ भनी विन्ती गरे। तब पिलातसले उहाँको मृत-शरीर क्रूसबाट उतारेर योसेफलाई दिनू भनी हुकुम गरे।
59. योसेफले येशूको मृत-शरीरलाई लामो सुतीको कपडाले बेह्रे।
60. तब उनले चट्टानमा कपेर आफ्नैलागि बनाएको नयाँ चिहानमा उहाँलाई राखे। अनि बाहिर निस्केर एउटा ठूलो ढुङ्गो गुडाएर त्यसको मुख थुनिदिए।
61. मरियम मग्दलिनी र अर्की मरियम, दुवै नजीकै बसेर उहाँलाई चिहानमा राखेको हेरिरहेका थिए।
62. त्यसको भोलिपल्ट निस्तार-चाडको पहिलो दिन मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ गएर अनुरोध गरे।
63. तिनीहरूले उनलाई भने, ‘‘हजूर, त्यस ठगले जिउँदो हुँदा ‘म तेस्रो दिनमा फेरि मृतकबाट जीवित हुनेछु’ भनी भनेको कुरा हामीलाई सम्झना छ।
64. त्यसकारण तीन दिन नबितेसम्म त्यसको चिहानमा सिलछाप लगाएर पहरेदार खटाइदिनुहोस् भनी हामी तपाईंसँग अनुरोध गर्छौं। त्यसो भयो भने, उसका चेलाहरूले त्यसलाई त्यहाँबाट चोरेर लैजान पाउँदैनन् र ‘त्यो फेरि जीवित भयो’ भनेर हल्ला फिँजाउन पनि पाउँदैनन्। यदि तिनीहरूले त्यसो गर्न पाए भने त पहिलेको भन्दा पनि अझ नराम्रो स्थिति आउनसक्छ।’’
65. पिलातसले जवाफ दिए, ‘‘तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ र सकेसम्म राम्ररी पहरा दिन लगाओ।’’
66. त्यसरी तिनीहरूले चिहानको मुखमा सिलछाप लगाए र त्यसको सुरक्षा गर्न पहरेदारहरू खटाए ।
|