1. छलको तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तराजुदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
2. अहङ्कार आउँदा निन्दा पनि आउँछ, तर नम्रहरूसँग बुद्धि पाइन्छ।
3. सोझाहरूको इमानदारीले उनीहरूलाई डोर्याउँछ, तर विश्वासघातीहरूको छली कुराले तिनीहरूलाई नष्ट पार्छ।
4. क्रोधको दिनमा धनसम्पत्ति मूल्यहीन हुन्छ, तर धार्मिकताले मृत्युबाट छुटकारा दिन्छ।
5. निर्दोषको धार्मिकताले तिनीहरूको बाटो सोझो पार्छ, तर दुष्टहरूको दुष्टताले आफ्नै पतन गराउँछ।
6. सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटकारा दिन्छ, तर अविश्वासीहरूको खराब अभिलाषाले पासोमा पार्छ।
7. जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि मर्छ, त्यसले आशा गरेको सबै कुरा निरर्थक हुन्छ।
8. धर्मी मानिस सर्वनाशबाट बचाइन्छ, दुष्ट मानिस त्यसभित्र जाकिन्छ।
9. ईश्वरहीनको मुखले आफ्नो छिमेकीलाई नाश पार्छ, तर ज्ञानद्वारा धर्मीजनले छुटकारा पाउँछ।
10. जब धर्मीजनको फलिफाप हुन्छ, तब शहरै आनन्दित हुन्छ, जब दुष्टहरू नष्ट हुन्छन्, तब रमाहटको नारा लगाइन्छ।
11. धर्मीजनको आशीर्वादले शहरको उन्नति हुन्छ, तर दुष्टको मुखले गर्दा त्यो नष्ट हुन्छ।
12. निर्बुद्धि मानिसले अरूलाई घृणा गर्छ, समझशक्ति भएको मानिस मौन रहन्छ।
13. कुरौटे मानिसले गुप्त कुरा प्रकट गर्छ, तर विश्वासयोग्य मानिसले गुप्त कुरा मनमा राख्छ।
14. पथप्रदर्शनको अभावले जातिको पतन हुन्छ, तर धेरै सल्लाहकारको कारण सुरक्षा निश्चित हुन्छ।
15. परदेशीको जमानी बस्नेले पीडा भोग्नेछ, तर जमानी बस्न अस्वीकार गर्ने सुरक्षित रहनेछ।
16. दयावन्त स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसहरूले केवल धनसम्पत्ति कमाउँछन्।
17. दयालु मानिसले आफ्नै भलाइ गर्छ, तर निर्दयी मानिसले आफ्नै शरीरलाई कष्ट दिन्छ।
18. दुष्ट मानिसले छली काम गर्छ, धर्मी मानिसले निश्चय इनाम पाउँछ।
19. धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ।
20. कुटिल हृदय भएकालाई परमप्रभुले घृणा गर्नुहुन्छ, निर्दोष चाल भएकाहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
21. यो कुरा निश्चित छ; दुष्ट मानिस सजायबाट उम्कनेछैन, तर धर्मी मानिस र त्यसका वंशको केही हानि हुनेछैन।
22. विवेक नभएकी सुन्दरी स्त्री, सुङ्गुरको नाथ्रीमा सुनको नत्थ लाएझैँ हो।
23. धर्मीजनको चाहना असल कुरामा मात्र हुन्छ, तर दुष्टको आशाको अन्त दण्डमा हुन्छ।
24. कुनै मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले असाध्य जोहो गर्छ, तापनि ऊ दरिद्रतामा नै मर्छ।
25. उदार मानिसको फलिफाप हुन्छ, उत्साह दिने मानिस, आफै उत्साहित हुन्छ।
26. अन्न लुकाएर ढुकुटी भर्ने मानिसलाई अरूले सराप्नेछ, तर स्वेच्छाले अनाज बिक्री गर्ने व्यक्ति आशिष्ले भरपुर हुनेछ।
27. भलाइको खोजी गर्नेले निगाह प्राप्त गर्छ, तर कुभलो चिताउने मानिसमाथि हानि आइपर्छ।
28. आफ्नो धनसम्पत्तिमा भरोसा गर्ने मानिसको पतन हुनेछ, तर धर्मीजन हरियो पातझैँ लहलह मौलाउनेछ।
29. आफ्नो परिवारलाई दु:ख दिनेको भाग हावा मात्रै हुनेछ, र मूर्ख मानिस बुद्धिमान्को सेवक हुनेछ।
30. धर्मीजनको फल जीवनको रूख हो, जसले आत्मा जित्छ, त्यो बुद्धिमान् हो।
31. यदि धर्मीजनले पृथ्वीमा इनाम पाउँछन् भने, ईश्वरहीन र पापीको अवस्था झन् कति डरलाग्दो होला !
|