1. जसले अनुशासनलाई प्रेम गर्छ, उसले ज्ञानलाई प्रेम गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो मूर्ख हो।
2. असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर खराब युक्ति रच्ने दोषी ठहरिनेछ।
3. दुष्ट कामद्वारा कुनै मानिस स्थापित हुनसक्दैन, तर धर्मीजनको जरा हल्लिनेछैन।
4. सुयोग्य पत्नी आफ्नो पतिको मुकुट हो, तर तिनीमाथि अपमान ल्याउने पत्नी तिनका हड्डी सडाउने घाउजस्तै हो।
5. धर्मीजनको योजना न्यायसङ्गत हुन्छ, तर दुष्टहरूको युक्ति छलले भरिएको हुन्छ।
6. दुष्टको वचनले कसैको रक्तपात गर्न ढुकिबस्छ, तर धर्मीजनको वचनले तिनीहरूलाई छुटकारा दिन्छ।
7. दुष्टहरू पराजित भएपछि नामोनिसाना रहँदैन, तर धर्मीजनको वासस्थान सधैँ स्थिर रहन्छ।
8. मानिसको बुद्धिअनुसार उसलाई प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढो मन हुने तुच्छ ठहरिन्छ।
9. आफूलाई उच्च पारेर रोटी नहुनेभन्दा आफैलाई होच्याएर दास हुनु असल हो।
10. धर्मीजनले आफ्ना पशुको वास्ता गर्छ, तर दुष्ट मानिसको दया पनि कठोर हुन्छ।
11. आफ्नो जमिन खनजोत गर्नेसँग प्रशस्त अन्नपात हुन्छ, तर कल्पनाका पछि लाग्ने बुद्धिहीन हुन्छ।
12. दुष्टले लुटका मालको अभिलाषा गर्छ, तर धर्मीजन जरा गाडेर बस्छ।
13. दुष्ट मानिस आफ्नै झुटा कुराद्वारा पक्राउ पर्छ, तर धर्मीजन सङ्कष्टबाट उम्कन्छ।
14. मानिस आफ्नो ओठको फलद्वारा असल थोकले तृप्त हुन्छ, निश्चय नै उसले आफ्नो हातको कामद्वारा इनाम पाउनेछ।
15. मूर्खको चाल त्यसको दृष्टिमा ठीक हुन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह लिन्छ।
16. मूर्खले आफ्नो रिस झट्टै पोखाउँछ, तर समझदार मानिस अपमान हुँदा पनि चुप रहन्छ।
17. इमानदारीले साँचो कुरा बोल्छ, तर झुटो साक्षी छलले भरिएको हुन्छ।
18. कटुतापूर्ण वचन बोल्नेले तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
19. सत्य कुरा सधैँका लागि स्थिर रहन्छ, तर झुट कुरा क्षणिक हुन्छ।
20. खराब युक्ति रच्ने हृदय छली हुन्छ; तर शान्ति फैलाउने हृदय आनन्दित हुन्छ।
21. धर्मीजनमाथि खराबी आइपर्दैन; तर दुष्ट मानिसहरू दु:ख-कष्टले भरिएका हुन्छन्।
22. परमप्रभुले झुटो ओठलाई घृणा गर्नुहुन्छ, तर इमानदार मानिससित उहाँ प्रसन्न हुनुहुन्छ।
23. समझदार मानिसले आफ्नो ज्ञान आफैसित राख्छ; तर मूर्ख मानिसले आफ्नो मूर्खताको प्रकट गर्छ।
24. परिश्रमी हातले शासन गर्छ, तर आलस्यले कमारो बनाउँछ।
25. चिन्तित हृदयले मानिसलाई कमजोर बनाउँछ, तर दयालु वचनले त्यसलाई आनन्दित तुल्याउँछ।
26. धर्मीजनले छिमेकीलाई सचेत गराउँछ, तर दुष्ट मानिसको चालले तिनीहरूलाई भड्काउँछ।
27. अल्छे शिकारीले शिकार फेला पार्दैन, तर परिश्रमी मानिसले धनसम्पत्ति आर्जन गर्छ।
28. धार्मिकताको बाटोमा जीवन छ; मूर्खताको बाटोमा मृत्यु छ।
|