1. छली कुरा गर्ने मूर्ख मानिसभन्दा गरिब भएर निष्कलङ्क रहनु उत्तम हो।
2. बिनाज्ञानको उत्साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ।
3. मानिसको आफ्नै मूर्खताले उसको जीवन नाश हुन्छ, त्यसपछि त्यसको हृदयले परमप्रभुको विरुद्धमा असन्तोष प्रकट गर्छ।
4. धनले धेरै मित्र बनाउँछ, तर गरिब आफ्नो मित्रबाट अलग पारिन्छ।
5. झुटो गवाही दिने मानिस दण्ड नपाई उम्कँदैन, अनि झुट बोल्ने मानिस पनि उम्कनेछैन।
6. धेरै मानिसहरू शासकको निगाह खोज्छन्, तर उदारसित दिनेको निम्ति सबै आफ्नो मित्र हुन्छन्।
7. गरिब मानिस आफ्ना सबै आफन्तबाट त्यागिन्छ, त्यसका मित्रहरूले त त्यसलाई झन् कति बढी त्याग्लान् ! त्यसले विन्ती गरेर तिनीहरूको पछि लागे तापनि तिनीहरू कहीँ फेला पर्दैनन्।
8. बुद्धि प्राप्त गर्नु आफैलाई साँचो प्रेम गर्नु हो, समझशक्ति प्राप्त गर्नु सफलता पाउनु हो।
9. झुटो गवाही दिने मानिस दण्ड नपाई उम्कँदैन, झुट बोल्ने मानिस नाश हुनेछ।
10. मूर्खलाई अमनचैनमा जिउनु सुहाउँदैन, दासले राजकुमारमाथि शासन गर्न झन् सुहाउँदैन !
11. मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ; अरूले गरेको अपमान सहिदिनु उसको निम्ति महानता हो।
12. राजाको क्रोध सिंहको गर्जनजस्तै हो; तिनको निगाह घाँसमाथिको शीतजस्तै हो।
13. मूर्ख छोराले आफ्नो बाबुमाथि विपत्ति ल्याउँछ; अनि कचकचे पत्नी नटुङ्गिने पानीको तपतप गर्ने थोपाझैँ हो।
14. घर र धनसम्पत्ति पिता-पुर्खाबाट आएको हुन्छ; तर बुद्धिमत्ती पत्नी परमप्रभुबाट आएकी हुन्छे।
15. अल्छीपनले गहिरो निद्रामा पार्छ; अल्छे मानिस भोकभोकै तड्पिनुपर्छ।
16. आज्ञापालनले मानिस सुरक्षित हुन्छ, तर परमप्रभुको मार्गलाई तुच्छ ठान्ने मर्नेछ।
17. गरिबलाई दया देखाउनु परमप्रभुलाई सापट दिनु हो; अनि उसले उहाँलाई जे दिएको छ, उहाँले त्यो फिर्ता दिनुहुनेछ।
18. आशा भएसम्म छोरालाई दण्ड देऊ, तर पिटेर मृत्युसम्म नपुर्याऊ।
19. रिसाहा मानिसले दण्ड भोग्नेछ; यदि त्यसलाई जोगायौ भने फेरि पनि त्यसै गर्नुपर्नेछ।
20. दिएको सल्लाह राम्ररी सुन र अर्तीलाई ग्रहण गर, अनि अन्त्यमा तिमी बुद्धिमान् हुनेछौ।
21. मानिसको मन योजनाले भरिएको हुन्छ, तर परमप्रभुको उद्देश्य नै सफल हुन्छ।
22. मानिसले अचुक प्रेमको चाहना गर्छ, झुट बोल्नुभन्दा त गरिब हुनु असल हो।
23. परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्क भएर बस्नेछ र दु:खले त्यसलाई छुनेछैन।
24. अल्छेले आफ्नो हात थालमा गाड्छ, त्यसले आफ्नो हात उठाएर मुखमा समेत पुर्याउँदैन।
25. खिल्ली उडाउनेलाई कोर्रा लगाऊ, अनि निर्बुद्धि मानिस होसियार हुनेछ; समझशक्ति भएको मानिसलाई हप्काऊ, अनि त्यसले आफ्नो ज्ञान बढाउनेछ।
26. जसले बाबुलाई लुट्छ, त्यसले आमालाई लखेट्छ, त्यही नै सर्ममा पार्ने र कलङ्क लगाउने छोरा हो। हितोपदेश
27. हे मेरो छोरा, त्यस्तो शिक्षा सुन्न छोडिदे, जसले तँलाई ज्ञानका वचनबाट भड्काउँछ।
28. भक्तिहीन गवाहीले न्यायलाई ठट्टामा उडाउँछ; अनि दुष्ट मानिसको कुराले उपद्रव बढाउँछ।
29. खिल्ली उडाउनेको निम्ति दण्ड र मूर्खको निम्ति कोर्रा राखिएको छ।
|