1. हे मेरो छोरा, तैँले मेरा वचन ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई आफ्नो हृदयभित्र लुकाइराखिस् भने,
2. अनि बुद्धितिर ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3. ज्ञानका निम्ति पुकारिस् र समझशक्तिका निम्ति आफ्नो सोर उचालिस् भने,
4. यदि तैँले त्यसलाई चाँदीझैँ खोजिस् र गाडधनझैँ त्यो खनिस् भने,
5. तब तैँले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
6. किनकि बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ; ज्ञान र समझशक्ति उहाँबाट नै आउँदछन्।
7. उहाँले धर्मीजनका निम्ति आफ्नो भण्डारमा उत्तम बुद्धि साँचेर राख्नुहुन्छ; जसको चाल निर्दोष छ, तिनीहरूका
8. लागि उहाँ ढाल हुनुहुन्छ। किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य व्यक्तिको मार्ग सुरक्षित राख्नुहुन्छ।
9. तब जे उचित र न्यायसङ्गत छ, सो तैँले बुझ्नेछस्, साथै हरेक असल मार्ग के हो तैँले त्यो जान्नेछस्।
10. जब बुद्धि तेरो हृदयमा प्रवेश गर्नेछ र ज्ञान तेरो प्राणको आनन्द हुनेछ।
11. विवेकले तँलाई सुरक्षित गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ,
12. त्यसले तँलाई खराब चाल र छली मानिसबाट जोगाउनेछ।
13. त्यस्ताहरू धार्मिकताको मार्ग छोडेर अन्धकारमा हिँडडुल गर्छन्,
14. तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्टको छली कुरामा आनन्दित हुन्छन्,
15. जसका मार्ग टेढा र चाल दुष्ट छन्।
16. बुद्धिले तँलाई व्यभिचारिणी र अनैतिक स्त्रीका लोभ्याउने कुराबाट जोगाउनेछ;
17. जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे र परमेश्वरको सामु आफूले बाँधेकी करारको बेवास्ता गरेकी छे।
18. त्यसको घर मृत्युतिर र त्यसका मार्ग मृतक आत्माहरूतिर डोर्याइएको हुन्छ।
19. जो त्यसकहाँ जान्छ, त्यो कहिल्यै फर्कदैन, न त तिनीहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।
20. यसैकारण भला मानिसहरूको अनुसरण गर् र धर्मी मानिसको चालमा लागिबस्।
21. किनकि धर्मीहरू देशमा वास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।
22. तर दुष्ट मानिसहरू पृथ्वीबाट नष्ट हुनेछन् र अपराधीहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्।
|