1. राजाको हृदय परमप्रभुको हातमा हुन्छ, उहाँले त्यसलाई खोलाको पानीझैँ जता मन लाग्यो, त्यतै डोर्याउनुहुन्छ।
2. मानिसको हरेक चाल आफ्नै दृष्टिमा ठीक हुन्छ; तर हृदय जाँच्ने परमप्रभु नै हुनुहुन्छ।
3. जे ठीक र न्यायसङ्गत छ त्यही गर, बलिदानभन्दा बढी परमप्रभुलाई त्यही ग्रहणयोग्य हुन्छ।
4. घमन्डी आँखा र अहङ्कारी हृदय- यिनै हुन् दुष्टको दियो, जो पाप हो।
5. परिश्रमीको योजनाले फलिफाप गराउँछ, अनि हतार गर्नाले दरिद्रतातिर डोर्याउँछ।
6. झुटद्वारा आर्जन गरेको सम्पत्ति उडिजाने बादल र घातक पासो हो।
7. दुष्टहरूको अत्याचारले तिनीहरूलाई नष्ट पार्छ; किनभने जे कुरा न्यायसङ्गत छ, त्यो तिनीहरू इन्कार गर्छन्।
8. दोषी मानिसको चाल कुटिल हुन्छ, तर निर्दोषको चाल इमानदार हुन्छ।
9. कचकचे पत्नीसँग महलमा बस्नुभन्दा कौसीको कुनामा बस्नु उत्तम हो।
10. दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसबाट छिमेकीले दया पाउँदैन।
11. जब खिल्ली गर्नेले दण्ड पाउँछ, तब निर्बुद्धि मानिस बुद्धिमान् बन्छ; जब बुद्धिमान्लाई अर्ती दिइन्छ, तब त्यसले ज्ञान प्राप्त गर्छ।
12. परमेश्वरले दुष्टको घरमाथि दृष्टि राख्नुहुन्छ, अनि उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ।
13. जसले गरिबको पुकार सुन्न कान थुन्दछ, त्यो आफैले पनि पुकार्नेछ, तर त्यसको सुनाइ हुनेछैन।
14. गुप्तमा दिएको दानले रिस मारिदिन्छ, सुटुक्क दिएको घुसले ठूलो क्रोधलाई शान्त गराउँछ।
15. जब न्याय हुन्छ, धर्मीजन हर्षित हुन्छन्, तर कुकर्मीमाथि विनाश आइपर्नेछ।
16. समझशक्तिअनुसार नचल्ने मानिस मृतकहरूसँग सङ्गत गर्न पुग्नेछ।
17. सुखविलासलाई प्रेम गर्ने मानिस दरिद्र हुनेछ, अङ्गुरमद्य र तेललाई प्रेम गर्ने मानिस कहिल्यै धनी हुनेछैन।
18. धर्मीजनको छुटकाराको माध्यम दुष्ट मानिस हो,इमानदारीको छुटकाराको माध्यमबेइमान मानिस हो।
19. कचकचे र रिसालु पत्नीसँग बस्नुभन्दा उजाडस्थानमा बस्नु उत्तम हो।
20. बुद्धिमान्को घरमा असल भोजन र तेल हुन्छ, तर मूर्खले आफूसँग भएको सबै उडाउँछ।
21. धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, सफलता र आदर पाउँछ।
22. बुद्धिमान् मानिसले शक्तिशालीहरूको शहरमाथि आक्रमण गर्छ, अनि तिनीहरूले भरोसा राखेको बलियो गढलाई भताभुङ्ग पारिदिन्छ।
23. जसले आफ्नो मुख र जिब्रो सम्हाल्छ, उसले आफूलाई सङ्कष्टबाट बचाउँछ।
24. अहङ्कारी र हठी मानिसको नाउँ ‘‘खिल्ली उडाउने’’ हो, त्यसले अभिमानीपूर्ण व्यवहार गर्छ।
25. अल्छेको इच्छाले आफैलाई मार्छ, किनकि त्यसले परिश्रम गर्नु इन्कार गर्छ।
26. त्यसले दिनभरि लालच गर्छ, तर धर्मीजनले उदार चित्तले दिन्छ।
27. दुष्टको बलिदान परमप्रभुको दृष्टिमा घिनलाग्दो हुन्छ; खराब विचारले चढाएको बलिदान झन् कति बढी घृणित होला !
28. झुटो गवाही नष्ट हुनेछ, झुटो गवाही सुन्ने मानिस सधैँको निम्ति नष्ट हुनेछ।
29. दुष्ट मानिस साहसीझैँ हिँड्छ, तर इमानदारी मानिसले आफ्नो मार्गको विचार गर्छ।
30. कुनै पनि बुद्धि, समझशक्ति, योजना परमप्रभुको विरुद्धमा सफल हुनेछैन।
31. युद्धको दिनको निम्ति घोडा तयार पारिन्छ, तर विजय परमप्रभुबाट नै आउँछ।
|