1. राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी थिइन्:
2. हे मेरो छोरा, हे मेरो गर्भको छोरा, हे मेरो भाकलको छोरा,
3. तेरो बल स्त्रीलाई नदे, तेरो ताकत तिनीहरूलाई नदे, जसले राजाहरूको पतन गराउँछन्।
4. ‘‘हे लमूएल, यो राजाहरूका निम्ति होइन, राजाहरूलाई अङ्गुरमद्य पिउनु असल होइन, शासकहरूले कडा मद्यको लालसा गर्नु असल होइन,
5. तिनीहरूले त्यो पिए भने ऐनकानुन र नीतिनियमलाई बिर्सनेछन्, अनि थिचोमिचोमा परेकालाई अधिकारदेखि वञ्चित गराउनेछन्।
6. नाश हुन लागेकालाई कडा मद्य देऊ, र विरह चलेकाहरूलाई अङ्गुरमद्य देऊ।
7. तिनीहरूले पिऊन् र दरिद्रतालाई बिर्सून्, र आफ्नो वेदनालाई फेरि नसम्झून्।
8. ‘‘आफ्नो पक्षमा बोल्न नसक्नेहरूका निम्ति बोल्, अनि असहायहरूका निम्ति तैँले आफ्नो मुख खोल्।
9. बोल् र ठीक न्याय गर्, गरिब र दरिद्रको अधिकारको रक्षा गर्।’’ असल चरित्र भएकी पत्नी
10. असल चरित्र भएकी पत्नी कसले पाउनसक्छ? तिनी बहुमूल्य रत्नभन्दा पनि अति नै मूल्यवान् हुन्छिन्।
11. तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन् र उनलाई कुनै कुराको अभाव हुँदैन।
12. तिनले आफ्नो जीवनभरि नै कुभलो होइन, तर भलो गर्छिन्।
13. तिनले ऊन र सनपाट छान्छिन्, अनि आफ्ना हातले उत्सुकतासाथ काम गर्छिन्।
14. व्यापारीका जहाजहरूले जस्तै तिनले टाढाबाट खाद्यसामग्री ल्याउँछिन्।
15. तिनी झिसमिसेमै उठ्छिन्, आफ्नो परिवारको लागि खानाको बन्दोबस्त गर्छिन् र आफ्ना सेविकाहरूलाई आ-आफ्ना भागअनुसार अह्राउँछिन्।
16. खुबै सोचविचार गरेर तिनले एउटा खेत किन्छिन् र आफ्नो कमाइले अङ्गुरबारी लगाउँछिन्।
17. तिनले आफ्नो कामको निम्ति कम्मर कस्छिन् र आफ्ना पाखुरा बलियो बनाउँछिन्।
18. तिनले आफ्नो व्यवसाय राम्ररी चलेको देख्छिन् र रातभरि तिनको घरमा बत्ती निभ्दैन।
19. तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र धागो कात्छिन्।
20. तिनले गरिबको निम्ति मुठी खोल्छिन्, र आफ्नो हात असहायहरूका लागि बढाउँछिन्।
21. हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले दुईसरे चहकिलो रातो वस्त्र पहिरेका हुन्छन्। हितोपदेश
22. तिनले आफ्नो निम्ति बुट्टेदार ओढ्ने ओछयाउने बनाउँछिन्, तिनले मलमल र बैजनी कपडा पहिरेकी हुन्छिन्।
23. तिनका पति शहरको मूलढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका भद्र-भलादमीसँग बसेका हुन्छन्।
24. तिनले मलमलका वस्त्र बनाउँछिन् र बिक्री गर्छिन्, अनि व्यापारीहरूका निम्ति पटुका उपलब्ध गराउँछिन्।
25. तिनी सामर्थ्य र गौरवले सुशोभित छिन्, अनि आउने दिनका निम्ति चिन्तित हुँदिनन्।
26. तिनी आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन् र तिनको जिब्रोमा विश्वसनीय उपदेश हुन्छ।
27. तिनी आफ्नो घरानाको चालचलनको हेरविचार गर्छिन् र आलस्यको रोटी खाँदिनन्।
28. तिनका छोराछोरीले खडा भएर तिनलाई धन्यकी भन्नेछन्, तिनका पतिले पनि तिनको प्रशंसा गरेर यसो भन्छन्,
29. ‘‘धेरै स्त्रीहरूले आदरयोग्यका काम गर्छन्, तर तिमी नै तिनीहरू सबैभन्दा श्रेष्ठ छयौ।’’
30. आकर्षण धोकापूर्ण हुन्छ र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
31. तिनको कमाइको इनाम तिनैलाई देऊ, र तिनको कामले शहरको मूलढोकामा नै तिनलाई प्रशंसा ल्याओस्।
|