1. याकेका छोरा आगूरका नीति-वचनएक ईश्वरवाणी: यस मानिसले इथिएललाई भन्यो, इथिएल र यूकाललाई पनि घोषणा गर्यो,
2. ‘‘मानिसहरूमध्ये म सबभन्दा पटमूर्ख हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।
3. न त मसित बुद्धि छ, न परमपवित्रको ज्ञान नै छ।
4. माथि स्वर्गमा को गएर तल ओर्लिआएको छ? कसले बतासलाई आफ्नो मुठीमा पार्नसक्छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीको चारकुनालाई कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्।
5. ‘‘परमेश्वरको हरेक वचन दोषरहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।
6. उहाँका वचनमा केही नथप्, नत्र त उहाँले तँलाई हप्काउनुहुनेछ र झुटा प्रमाणित गर्नुहुनेछ।
7. ‘‘हे परमप्रभु, म तपाईंसँग दुई वटा कुरा माग्दछु। म मर्नुअघि ती कुरा मलाई दिन इन्कार नगर्नुहोस्।
8. असत्यता र झुट मबाट टाढै राख्नुहोस्, मलाई दरिद्र पनि नबनाउनुहोस्, र धनी पनि नतुल्याउनुहोस्, तर मलाई दिनदिनको रोटी दिनुहोस्।
9. नत्र त मसँग धेरै भएकाले ‘‘परमप्रभु को हो र?’’ भनी म तपाईंलाई इन्कार गरूँला, अथवा म गरिब भएकोले चोरी गरी परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारूँला।
10. ‘‘मालिकको सामु त्यसका नोकरको निन्दा नगर्, नत्र त त्यसले तँलाई सराप्नेछ र तँ दोषी ठहरिनेछस्।
11. ‘‘यस्तो एउटा पुस्ता छ, जसले आफ्ना बाबुहरूलाई सराप्तछन् र आमाहरूलाई धन्यका ठान्दैनन्,
12. तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन्, तर आफ्ना फोहोरबाट सफा भएका हुँदैनन्,
13. तिनीहरू, जसका आँखा अतिघमन्डी हुन्छन्, जसको हेराइ अतिघृणित हुन्छ,
14. तिनीहरू, जसका दाँत तरवारजस्ता छन् र जसका बङ्गारा, पृथ्वीका दु:खी मानिसहरूका बीचबाट खाँचोमा परेकाहरूलाई खानका निम्ति छुराजस्ता छन्।
15. ‘‘जूकाका दुई छोरी छन्, जो ‘‘देऊ ! देऊ !’’ भन्दै चिच्च्याउँछन्। तीन कुरा छन्, जो कहिल्यै सन्तुष्ट हुँदैनन्, चौथो, जसले ‘‘पुग्यो’’ कहिल्यै भन्दैन:
16. पाताल, बाँझो गर्भ, पानी सोस्ने जमिन कहिल्यै सन्तुष्ट हुँदैनन् र आगो, जसले ‘‘पुग्यो’’ कहिल्यै भन्दैन।
17. ‘‘आफ्ना बाबुको निन्दा गर्ने र आफ्नी आमालाई तुच्छ ठान्नेका आँखा बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धका आहार बन्नेछन्।
18. ‘‘तीन वटा कुरा छन्; जो मेरो निम्ति साह्रै अचम्मका छन्, चौथो, जुन म बुझ्नै सक्दिनँ:
19. आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल र पुरुषसँग स्त्रीको चाल।
20. ‘‘व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, र त्यसपछि भन्छे, ‘‘मैले कुनै गल्ती गरेकी छैनँ।’’
21. ‘‘तीन वटा कुराले पृथ्वी काम्छ, चौथो कुरा, जुन त्यसले खप्नै सक्दैन:
22. नोकर राजा भएको, मूर्ख टन्न अघाएको,
23. अपहेलित स्त्रीले विवाह गरेकी, नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्साएर तिनको ठाउँमा बस्छे।
24. ‘‘पृथ्वीमा चार वटा कुरा साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:
25. कमिला थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरू ग्रीष्मऋतुमा नै आफ्ना आहारको सञ्चय गर्छन्।
26. शापन थोरै शक्ति भएका प्राणी हुन्, तापनि पहरामा तिनीहरूले आफ्नो घर बनाउँछन्,
27. सलह, जसको राजा हुँदैन, तापनि तिनीहरू लहरै हुल बाँधेर अघि बढ्छन्,
28. छेपारालाई हातले पक्रन सकिन्छ, तापनि राजाको महलमा यो पाइन्छ।
29. ‘‘तीन वटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन्, चौथो, जो शानसँग हिँड्छ :
30. सिँह, जो पशुहरूमा सबभन्दा बलवान् हुन्छ, जो कसैको सामु हच्कँदैन,
31. सानदारसित हिँड्ने कुखुराको भाले र बोका, अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा, जसको विरुद्धमा कोही खडा हुन सक्दैन।
32. ‘‘यदि तँ मूर्ख र हठी छस् भने र खराब कुरा गर्न तँलाई मन पर्छ भने चुप लाग्।
33. किनभने दूध मथेर घिउ निस्कन्छ, नाक माडयो भने रगत निस्कन्छ,त्यसरी नै रिस उठाउनेले झगडा उत्पन्नगराउँछ।’’
|