1. बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले आफ्ना सात खाँबा गाडेको छ।
2. त्यसले आफ्नो पशु मारेको छ, अङ्गुरमद्य तयार पारेको छ र त्यसले आफ्नो टेबुल पनि ठीकठाक पारेको छ।
3. त्यसले आफ्ना दासीहरूलाई निम्तो दिन पठाएको छ; त्यसले शहरका अग्ला ठाउँहरूबाट बोलाउँछ,
4. ‘‘ए निर्बुद्धिहरू हो, यतातिर आओ।’’समझ नभएकोलाई त्यसले भन्छ,
5. ‘‘आओ, मसँग खाओ र मैले मसला मिसाएको अङ्गुरमद्य पिओ।
6. आफ्ना अज्ञानी चाल छोडिदेओ र तिमी बाँच्नेछौ; अनि समझशक्तिको मार्गमा हिँड।
7. ‘‘जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान सहनुपर्छ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
8. गिल्ला गर्नेलाई नसुधार्, नत्र त त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई सुधार्, र त्यसले तँलाई प्रेम गर्नेछ।
9. बुद्धिमान्लाई अर्ती दियो भने त्यो झन् बुिद्धमानी हुनेछ, धर्मीलाई शिक्षा दियो भने त्यसको ज्ञान अझ बढ्नेछ।
10. ‘‘परमप्र्रभुको भय नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।
11. किनभने मद्वारा नै तँ दीर्घायु हुनेछस्, र तेरो जीवनको वर्ष थपिनेछ।
12. तँ बुद्धिमान् भइस् भने, त्यो तेरै लाभको निम्ति हुनेछ, तँ अहङ्कारी भइस् भने, तैँले नोक्सानी बेहोर्नुपर्नेछ।’’
13. मूर्ख स्त्री होहल्ला मच्चाउने हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे।
14. किनभने त्यो आफ्नो घरको ढोकामा बस्छे, शहरका अग्ला स्थानहरूमा बस्छे।
15. आ-आफ्ना मार्गमा हिँडेका मानिसहरूलाई यसो भनेर बोलाउँछे,
16. ‘‘ए मूर्ख मानिसहरू हो, यतातिर आओ।’’ समझ नभएकोलाई त्यसले भन्छे,
17. ‘‘चोरेको पानी मीठो हुन्छ, लुकेर खाएको रोटी स्वादिष्ठ हुन्छ।’’
18. तर मृतकहरू त्यहाँ छन् भन्ने कुरा तिनीहरूलाई अलिकति पनि थाहा छैन, र त्यसका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुरा तिनीहरूलाई थाहै छैन।
|