1. के बुद्धिले पुकार्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र?
2. त्यो त चौबाटोहरूमा उभिरहन्छ, सडकको किनारमा, डाँडाको टाकुरामा त्यो खडा हुन्छ।
3. मूलढोकाको छेउमा, शहरको प्रवेश द्वारमा, ढोकाहरूबाट भित्र पस्ने ठाउँमा त्यसले यसो भन्दै कराउँछ,
4. ‘‘हे मानिसहरू हो, म तिमीहरूलाई बोलाउँछु, म सबै मानिसलाई मेरो आवाज सुनाउँछु।
5. हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्ति प्राप्त गर।
6. सुन, म उत्तम कुरा बताउँछु, र ठीक कुरा बोल्न म मेरो मुख खोल्छु।
7. मेरो मुखले सत्य कुरा बोल्दछ, किनकि मेरो मुखले दुष्टतालाई घृणा गर्दछ,
8. मेरो मुखका सबै वचन न्यायपूर्ण छन्, तिनमा कुनै पनि टेढा वा कुटिल छैनन्।
9. जसले बुझ्नसक्छ, त्यसको लागि सबै सरल छन्। ज्ञान हुने मानिसको निम्ति सबै स्पष्टै छन्।
10. चाँदी होइन, तर मेरो उपदेशलाई चुन, नम्बरी सुन होइन, तर ज्ञानलाई छान।
11. किनभने बुद्धि हीरा-मोतीभन्दा उत्तम हो, कुनै पनि रत्न त्यसको दाँजोमा आउन सक्तैन।
12. ‘‘म, बुद्धि निपुणतासँग वास गर्दछु, मसँग ज्ञान र विवेक छन्।
13. परमेश्वरको भय मान्नु नै दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चाल, भड्काउने कुरा, म घृणा गर्छु।
14. सरसल्लाह र असल बुद्धि मेरा हुन्; मसँग समझशक्ति र सामर्थ्य छन्।
15. मद्वारा नै राजाहरू राज्य गर्छन्, र शासकहरूले उचित कानून बनाउँछन्।
16. मद्वारा नै राजकुमारहरू राज्य गर्छन्, मद्वारा नै अख्तियारवालहरूले पृथ्वीमा शासन गर्दछन्।
17. तिनीहरूलाई म प्रेम गर्छु, जसले मलाई प्रेम गर्छन्, जसले मलाई धुइँधुइँती खोज्छन्, तिनीहरूले मलाई भेट्टाउँछन्।
18. मसित धनसम्पत्ति र आदर छन्, मसित वैभव र समृद्धि छन्।
19. मेरो फल निखुर सुनभन्दा उत्तम छ, मेरो कमाइ चाँदीभन्दा पनि असल छ।
20. म धार्मिकताको बाटोमा हिँड्छु, म न्यायको मार्गमा हिँड्छु।
21. मलाई प्रेम गर्नेलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु, म तिनीहरूका ढुकुटी भरिदिन्छु।
22. ‘‘परमप्रभुले सृष्टिको सुरुमा नै सृजनुभयो, उहाँले मलाई उहाँका सबै कार्यभन्दा अघि नै सृष्टि गर्नुभयो।
23. आदिमा अर्थात् संसारको सुरुभन्दा अघि नै, अनन्तको निम्ति म नियुक्ति गरिएको थिएँ।
24. महासागर नहुँदै, पानीले भरिएका खोलानाला नहुँदै म जन्मेको थिएँ।
25. पर्वतहरू आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पनि अघि नै मेरो जन्म भएको थियो।
26. उहाँले पृथ्वी वा जमिन वा संसारको धुलोको कण सृष्टि गर्नुभन्दा अघि नै म सृजिएको थिएँ।
27. उहाँले आकाशलाई स्थापित गर्नुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा म त्यहीँ थिएँ।
28. उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, महासागरका असङ्ख्य मूललाई तिनीहरूका ठाउँमा दृढसँग बसाल्नुहुँदा,
29. उहाँको आज्ञा विपरीत पानी नाघेर नजाओस् भनी समुद्रको सिमाना तोकिदिनुहुँदा म त्यहीँ थिएँ।
30. म एक निपुण कारीगरझैँ उहाँकै साथमा थिएँ, म दिनहुँ हर्षले विभोर हुन्थेँ, निरन्तर उहाँको उपस्थितिमा म प्रसन्न थिएँ।
31. उहाँले सृजनुभएको सिङ्गो संसारमा आनन्दित हुँदै, म मानव-जातिमा प्रसन्न रहन्थेँ। हितोपदेश
32. ‘‘अब हे छोरा हो, मेरो कुरा सुन, किनकि जसले मेरो मार्ग पालन गर्छन्, उनीहरू धन्यका हुन्।
33. मेरो अर्ती सुन र बुद्धिमान् होओ, यसलाई अस्वीकार नगर।
34. त्यो मानिस धन्यको हो, जसले मेरो ढोकामा पहरा दिँदै र मेरो ढोकामा पर्खिंदै मेरो वचन सुन्छ।
35. किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ।
36. मलाई नभेट्टाउनेले आफैलाई हानि गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ।’’
|