1. हे परमप्रभु, तपाईं किन टाढा उभिनुहुन्छ? किन तपाईं कष्टको बेलामा आफैलाई लुकाउनुहुन्छ?
2. दुष्टले आफ्नो घमन्डमा कमजोरलाई दु:ख दिन्छ, त्यसले रचेका युक्तिहरूमा त्यो आफै फस्छ।
3. किनकि दुष्टले आफ्नो हृदयको इच्छामा घमन्ड गर्छ र परमप्रभुले घृणा गर्नुहुने लोभीलाई आशीर्वाद दिन्छ।
4. दुष्टले आफ्नो मुहारको घमन्डमा परमेश्वरको खोजी गर्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन।
5. तापनि त्यसका कामकाजमा त्यो सफल हुन्छ, तपाईंका न्यायहरू त्यसको नजरदेखि अति टाढा छन्, त्यसले आफ्ना सबै शत्रुको उपहास गर्दछ।
6. त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘म कहिल्यै डगमगाउनेछैनँ, किनकि म कहिल्यै विपत्तिमा पर्नेछैनँ।’’
7. त्यसको मुख श्राप, धोका र छलले भरिएको छ, त्यसको जिब्रोमा उपद्रव र व्यर्थता छन्।
8. गाउँ-गाउँका नजिक त्यो ढुकिबस्छ, त्यसले गुप्त स्थानहरूमा निर्दोषको हत्या गर्छ, त्यसका आँखा सदा दु:खीको विरुद्धमा गुप्त रीतिले गडेका हुन्छन्।
9. सिंह आफ्नो ओडारमा बसेझैँ त्यो गुप्तमा ढुकेर बस्छ, त्यसले गरिबलाई आफ्नो जालभित्र फसाएर पक्रन्छ।
10. त्यो दबेर बस्छ र निहुरिन्छ अनि दु:खीहरू त्यसको बलियो पञ्जामा पर्छन्।
11. त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘परमेश्वरले बिर्सनुभएको छ, उहाँले आफ्नो मुख लुकाउनुहुन्छ, उहाँले यो कहिल्यै देख्नुहुनेछैन।’’
12. हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्, नम्रहरूलाई नबिर्सनुहोस्।
13. किन दुष्टले परमेश्वरको निन्दा गर्छ? त्यसले आफ्नो मनमा सोच्दछ, ‘‘उहाँले लेखा लिनुहुनेछैन।’’
14. तर हे परमेश्वर, तपाईंले दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफूलाई तपाईंको हातमा सुम्पन्छ, तपाईं नै अनाथका सहायक हुनुहुन्छ।
15. दुष्ट र खराब मानिसको पाखुरा भाँचिदिनुहोस्, एउटै पनि बाँकी नरहनेगरी त्यसको दुष्टताको लेखा लिनुहोस्।
16. परमप्रभु सदासर्वदाका निम्ति राजा हुनुहुन्छ, उहाँको भूमिबाट जातिजातिका मानिसहरू नाश भएका छन्।
17. हे परमप्रभु, तपाईंले नम्रहरूको इच्छा सुन्नुहुन्छ, तपाईंले तिनीहरूको हृदय तयार पार्नुहुन्छ र तपाईंले तिनीहरूको पुकार सुन्नुहुन्छ।
18. तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, जसले गर्दा पृथ्वीका मानिसले आतङ्क अझै नमच्चाओस्।
|