1. हे परमप्रभु, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, म तपाईंका सबै अचम्मका कामको वर्णन गर्नेछु।
2. म तपाईंमा आनन्दित हुनेछु र रमाउनेछु, हे सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको स्तुति गाउनेछु।
3. जब मेरा शत्रुहरू पछि हट्छन् तब तिनीहरू तपाईंको सामु ठेस खाएर नाश हुन्छन्।
4. किनकि तपाईंले मेरो अधिकार र मामिला कायम राख्नुभएको छ, तपाईं धार्मिकतापूर्वक न्याय गर्दै सिंहासनमा बस्नुभएको छ।
5. तपाईंले जाति-जातिलाई हप्काउनुभएको छ र दुष्टलाई नष्ट पार्नुभएको छ, तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ।
6. शत्रुहरूमाथि अनन्त विनाश आएको छ, तपाईंले तिनीहरूका शहरहरू उखेल्नुभएको छ, तिनीहरूको नामनिसान नै मेटिएको छ।
7. परमप्रभुले सधैँभरि राज्य गर्नुहुन्छ । उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ।
8. अनि उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, उहाँले न्यायसाथ मानिसहरूमाथि शासन गर्नुहुनेछ।
9. परमप्रभु थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्टका बेलामा किल्ला हुनुहुन्छ।
10. जसले तपाईंको नाउँ जानेका छन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्नेछन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।
11. सियोनमा वास गर्नुहुने परमप्रभुको स्तुति गाओ, मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।
12. किनकि रगतको बदला लिनुहुनेले तिनीहरूको सम्झना गर्नुहुन्छ, सङ्कष्टमा परेकाहरूका पुकारलाई उहाँले बिर्सनुहुन्न।
13. हे परमप्रभु, ममाथि दया गर्नुहोस्। मलाई घृणा गर्नेहरूबाट मैले भोग्नुपरेको मेरो कष्टको विचार गर्नुहोस्। तपाईंले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस्,
14. अनि तपाईंको सबै प्रशंसा म सियोनकी छोरीका ढोकाहरूमा घोषणा गर्न सकूँ, म तपाईंको उद्धारमा आनन्द मनाउनेछु।
15. जाति-जातिका मानिसहरू आफैले खनेको खाडलमा जाकिएका छन्, आफैले थापेका जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।
16. परमप्रभु आफूले गर्नुभएको न्यायद्वारा चिनिनुभएको छ, दुष्टहरू आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला
17. दुष्टहरू पातालमै फर्केर जानेछन्, परमेश्वरलाई बिर्सने, सबै जाति पनि।
18. किनकि दरिद्र सधैँभरि बिर्सिइनेछैन, गरिबहरूको आशा सदाको लागि मेटिनेछैन।
19. हे परमप्रभु, उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्, तपाईंको सामु जातिजातिका मानिसहरूका न्याय गरियोस्।
20. हे परमप्रभु, तिनीहरूलाई भयभीत पार्नुहोस् र जाति-जातिका मानिसहरूले आफूहरू मानिसमात्र रहेछौं भनी जानून्। सेला
|