1. हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो पुकार तपाईंकहाँ पुगोस्।
2. म सङ्कष्टमा परेको दिनमा आफ्नो मुहार मदेखि नलुकाउनुहोस्, मतिर ध्यान दिनुहोस्, मैले पुकारेको दिनमा मलाई तुरुन्तै जवाफ दिनुहोस्।
3. किनकि मेरा दिनहरू धुवाँझैँ मेटिएका छन् र मेरा हड्डीहरू आगोझैँ जलेका छन्।
4. मेरो हृदय घायल पारिएको छ र घाँसझैँ ओइलिएको छ, म आफ्नो भोजन खान पनि बिर्सन्छु।
5. मेरो ऐयाआत्थाको आवाजले मेरा हड्डीहरू मेरो छालासित टाँसिन्छन्।
6. म उजाडस्थानको धनेस भएको छु, म मरुभूमिको उल्लुजस्तो भएको छु।
7. म जागै रहन्छु र छानामाथिको एकलो परेको भँगेरोझैँ भएको छु।
8. दिनभरि मेरा शत्रुहरूले मेरो निन्दा गर्छन्, अनि मलाई खिसी गरेर हाँस्नेहरूले मेरो विरुद्धमा शपथ खाएका छन्।
9. किनकि मैले रोटीझैँ गरी खरानी खाएको छु र मेरो पिउने कुरा आँसुसँग मिसिएको छ।
10. यो तपाईंको रिस र तपाईंको क्रोधको कारणले भएको हो, किनभने तपाईंले मलाई उचालेर पछारिदिनुभएको छ।
11. मेरा दिनहरू ढल्किँदै गएको छायाँजस्ता छन्, अनि म घाँसजस्तो ओइलिएको छु।
12. तर हे परमप्रभु, तपाईं सदासर्वदा रहिरहनुहुन्छ र तपाईंको सम्झना पुस्तापुस्तासम्म रहिरहन्छ।
13. तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपादृष्टि गर्नुहुनेछ, किनकि यसमाथि अनुग्रह गर्ने समय अहिले नै हो।
14. किनकि तपाईंका सेवकहरू यसका ढुङ्गाहरूमा प्रसन्न हुन्छन् र यसको धुलोलाई टिठाउँछन्।
15. यसकारण जाति-जातिका मानिसहरूले परमप्रभुको नाउँको भय मान्नेछन्, साथै पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।
16. परमप्रभुले जब सियोनको पुनर्निर्माण गर्नुहुनेछ, तब उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।
17. उहाँले दीनहीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुनेछ, उहाँले तिनीहरूको प्रार्थनाको उपेक्षा गर्नुहुनेछैन।
18. यो कुरा आउँदो पुस्ताको लागि लेखिनेछ, अनि त्यस जातिले, जो सृजना गरिनेछन्, परमप्रभुको प्रशंसा गर्नेछन्।
19. किनभने उहाँले आफ्नो पवित्रस्थानको उच्चाइबाट तल हेर्नुभएको छ, परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ।
20. कैदीको सुस्केरा सुन्नको निम्ति, मृत्युको निम्ति नियुक्त गरिएकाहरूलाई छुटकारा दिनको निम्ति,
21. सियोनमा परमप्रभुको नाउँ घोषणा गर्न र यरूशलेममा उहाँको प्रशंसा गर्नको निम्ति,
22. जब जाति-जाति र राज्य-राज्यका मानिसहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन्।
23. बीच बाटोमा उहाँले मेरो बल घटाउनुभयो, उहाँले मेरा दिनहरू छोटयाउनुभयो।
24. यसैले मैले भनेँ, ‘‘हे मेरा परमेश्वर, मेरो आधा उमेरमा नै मलाई नलैजानुहोस्, तपाईंका वर्षहरू त पुस्तापुस्तासम्म रहिरहन्छन्।
25. प्राचीनकालदेखि नै तपाईंले पृथ्वीको जग बसाल्नुभयो, अनि स्वर्गहरू तपाईंकै हातका काम हुन्।
26. ती नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ, ती सबै नै वस्त्रझैँ पुराना हुनेछन्, तपाईंले तिनलाई वस्त्रझैँ बदली गर्नुहुनेछ र ती बदली हुनेछन्।
27. तर तपाईं एक-समान हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त हुनेछैन।
28. तपाईंका दासहरूका सन्तान रहिरहनेछन् र उनीहरूको वंश तपाईंको सामु स्थिर रहनेछ।’’
|