1. हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन् ! हे परमप्रभु, मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ, तपाईंले आदर र प्रतापको वस्त्र पहिरनुभएको छ,
2. तपाईंले आफैलाई वस्त्रले झैँ ज्योतिले ढाक्नुभएको छ, तपाईंले स्वर्गलाई पालझैँ फैलाउनुभएको छ,
3. तपाईंले आफ्ना कोठाहरूका दलिनहरू पानीमाथि राख्नुहुन्छ, तपाईंले बादललाई आफ्नो रथ बनाउनुहुन्छ र बतासको पखेटामाथि तपाईं सवार हुनुहुन्छ।
4. तपाईंले बतासलाई आफ्नो दूत र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ।
5. तपाईंले पृथ्वीको जग बसाल्नुभयो, यसैले कि यो कहिल्यै नडगमगाओस्।
6. तपाईंले यसलाई वस्त्रले झैँ गहिरो सागरले ढाक्नुभयो, अनि पहाडहरू माथि-माथिसम्म पानी पुग्यो।
7. तपाईंको हप्कीले पानी भाग्यो, तपाईंको गर्जनको आवाजले त्यो तुरुन्तै हटयो।
8. पहाडहरू भएर त्यो माथि जान्छ, बेँसीहरू भएर त्यो तल जान्छ, जुन ठाउँ तपाईंले त्यसको निम्ति तयार पार्नुभएको छ।
9. पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर, त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो।
10. उहाँले पानीका मूलहरूलाई बेँसीहरूमा पठाउनुहुन्छ, त्यो पहाडहरूको बीचबाट भएर बग्दछ।
11. त्यसले मैदानको हरेक पशुलाई पिउन दिन्छ, जङ्गली गधाहरूले आफ्नो तिर्खा मेट्छन्,
12. त्यसकै छेउछाउमा आकाशका चराचुरुङ्गीले आफ्नो गुँड बनाउँछन्, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।
13. उहाँले आफ्नो उच्च स्थानबाट पहाडहरूमा पानी बर्साउनुहुन्छ, उहाँको कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ।
14. उहाँले गाईवस्तुको निम्ति घाँस, अनि मानिसहरूका निम्ति अन्नपात उमार्नुहुन्छ, जसले गर्दा मानिसले पृथ्वीबाट खाद्यसामग्री उत्पादन गर्नसकोस्,
15. अङ्गुरमद्यले मानिसको हृदयलाई आनन्दित पार्छ, तेलले उसको मुहार चम्काइदिन्छ, अनि रोटीले मानिसको हृदय बलियो पार्छ।
16. परमप्रभुले लाउनुभएका वनस्पति र लेबनानका देवदारुले प्रशस्त पानी पाएका छन्।
17. त्यहाँ चराचुरुङ्गीले आफ्नो गुँड बनाउँछन्, सारसले सल्लाको रूखमा आफ्नो वासस्थान बनाउँछ।
18. अग्ला-अग्ला पहाडहरू जङ्गली बाख्राहरूका निम्ति, अनि चट्टान शापनहरूका निम्ति शरणस्थान हुन्।
19. चन्द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्नो अस्ताउने बेला थाहा हुन्छ।
20. तपाईंले अन्धकार ल्याउनुहुन्छ र रात पर्छ, अनि वनका सबै पशु घुमफिर गर्न थाल्छन्।
21. जवान ®सहहरू शिकारका निम्ति गर्जन्छन् र परमेश्वरबाट आफ्नो आहार खोज्छन्।
22. सूर्य उदाउँछ, तब ती भेला हुन्छन्, र आफ्ना ओडारमा गएर लेट्छन्।
23. तब मानिस आफ्नो कामतिर जान्छ, र साँझसम्म परिश्रम गर्छ।
24. हे परमप्रभु, तपाईंका काम कति धेरै छन् ! तपाईंले यी सबैलाई आफ्नै बुद्धिले बनाउनुभएको हो, पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।
25. समुद्र यति विशाल र फराकिलो छ कि त्यहाँ अनगिन्ती जलचर छन्, ठूलासाना दुवै थरीका जीवित प्राणीहरू छन्।
26. त्यहाँ जहाजहरू ओहोरदोहोर गर्छन्, त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई बनाउनुभयो।
27. ठीक समयमा तपाईंले तिनीहरूलाई आहार दिनुहुन्छ भनेर तिनीहरू सबैले तपाईंकै बाटो हेर्छन्।
28. तपाईंले तिनीहरूलाई दिनुहुन्छ, र तिनीहरूले बटुल्छन्, तपाईंले आफ्नो मुट्ठी खोल्नुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्।
29. तपाईंले आफ्नो मुहार छोप्नुहुँदा तिनीहरू भयभीत हुन्छन्। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्छन् र फेरि धुलोमै फर्कन्छन्।
30. तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूका सृष्टि हुन्छ र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
31. परमप्रभुको महिमा सदासर्वदा भइरहनेछ, परमप्रभु आफ्ना कामहरूमा आनन्दित हुनुहुनेछ।
32. तपाईंको दृष्टि पर्दा पृथ्वी कम्पायमान हुन्छ, तपाईंको स्पर्शमा मात्र पहाडहरूबाट धुवाँ निस्कन्छ।
33. मेरो जीवनभरि म परमप्रभुको निम्ति गाउनेछु, बाँचुन्जेल म मेरो परमेश्वरको स्तुति गाउनेछु।
34. मेरो ध्यान उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुनेछु।
35. पापीहरू पृथ्वीबाट मेटिजाऊन्, र दुष्टहरू फेरि कहिल्यै नरहून्। हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्, परमप्रभुको प्रशंसा गर्।
|