1. म परमप्रभुलाई प्रेम गर्दछु; किनभने उहाँले मेरो सोर र मेरा अन्तर्विन्ती सुन्नुभएको छ।
2. किनभने उहाँले आफ्नो कान मतिर लगाउनुभएको छ; यसकारण म बाँचुञ्जेल उहाँलाई पुकार्नेछु।
3. मृत्युका वेदनाले मलाई घेरेका थिए र नरकका पीडाले मलाई पक्रेका थिए; मैले दु:ख र शोक भोगेँ।
4. तब मैले परमप्रभुको नाउँ पुकारेँ, ‘हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो प्राणलाई बचाउनुहोस्।’
5. परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ; हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
6. परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; म कमजोर थिएँ तर उहाँले मलाई सहायता गर्नुभयो।
7. हे मेरो प्राण, तँ आफ्नो विश्राममा फर्की; किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।
8. किनकि तपाईंले मेरो प्राणलाई मृत्युदेखि, मेरा आँखालाई आँसु झार्नदेखि र मेरा खुट्टालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।
9. म जीवितहरूका देशमा परमप्रभुको सामु हिँड्नेछु।
10. मैले विश्वास गरेँ; यसकारण मैले भनेँ, ‘म त साह्रै कष्टमा परेको थिएँ।’
11. मेरो आतुरीमा मैले भनेँ, ‘सबै मानिस झुटा हुन्।’
12. परमप्रभुले मप्रति गर्नुभएका सबै उपकारको बदलामा म उहाँलाई के दिऊँ?
13. म उद्धारको कचौरा लिएर परमप्रभुको नाउँ पुकार्नेछु।
14. परमप्रभुका समस्त प्रजाको सामुन्ने उहाँकै निम्ति म आफ्ना भाकल पूरा गर्नेछु।
15. परमप्रभुको दृष्टिमा उहाँका पवित्रजनको मृत्यु अनमोल छ।
16. हे परमप्रभु, साँच्चै म तपाईंको दास हुँ; म तपाईंकी दासीको छोरो,तपाईंको दास हुँ; तपाईंले मेरा बन्धनखोलिदिनुभएको छ।
17. म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नामको पुकारा गर्नेछु।
18. परमप्रभुका समस्त प्रजाको सामुन्ने उहाँकै निम्ति म आफ्ना भाकल पूरा गर्नेछु;
19. परमप्रभुको भवनका चोकहरूमा, हे यरूशलेम, तेरै माझमा परमप्रभुको स्तुति गर !
|