1. हे परमप्रभु, म तपाईंलाई पुकार्छु; मकहाँ आउन हतार गर्नुहोस्; मैले तपाईंलाई पुकार्दा मेरो सोरतिर ध्यान दिनुहोस्।
2. मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस् र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्।
3. हे परमप्रभु, मेरो मुखको निम्ति पाले राखिदिनुहोस्; मेरा ओठको ढोकामा पहरा दिनुहोस्।
4. अधर्म गर्ने मानिसहरूसित दुष्ट काम गर्न मेरो हृदय ढल्कन नदिनुहोस् रतिनीहरूका स्वादिष्ठ भोजनबाट मैले खान नपरोस्।
5. धर्मीजनले मलाई हिर्काऊन्; त्यो त दया ठहरिनेछ; तिनले मलाई हप्काऊन्; त्यो उत्तम तेल मानिनेछ, जसलाई मेरो शिरले अस्वीकार गर्नेछैन; किनभने तिनीहरूका विपत्तिमा मेरो प्रार्थना अझ पनि अटुट रहनेछ।
6. जब तिनीहरूका न्यायाधीशहरू पहरामाथिबाट खसालिन्छन्, तब तिनीहरूले मेरा वचन सुन्नेछन्,किनभने ती मीठा छन्।
7. कसैले जमिनमा दाउरा काट्दा र चिर्दा भएझैँ हाम्रा हड्डी चिहानको मुखमा छरिएका छन्।
8. तर हे परमप्रभु परमेश्वर, मेरा आँखा तपाईंतिर लगाइएका छन्; तपाईंमा म शरण लिन्छु; मेरो प्राणलाई सहाराहीननबनाउनुहोस्।
9. तिनीहरूले मेरो निम्ति थापेको पासो र कुकर्मीका धरापबाट मलाई जोगाउनुहोस्।
10. दुष्टहरू आफ्नै जालभित्र परून्, जब म सुरक्षित उम्कन सकूँ।
|