1. मेरो सोरले मैले परमप्रभुलाई पुकारेँ; मेरो सोरले नै मैले परमप्रभुलाई अन्तर्विन्ती चढाएँ।
2. उहाँको सामु मैले मेरो गुनासो पोखेँ; उहाँकै सामु मैले आफ्नो दु:ख प्रकट गरेँ।
3. मभित्र मेरो आत्मा खिन्न हुँदा तपाईंले मेरो चाल जान्नुहुन्थ्यो। म हिँडेको बाटोमा तिनीहरूले मेरो निम्ति गुप्तरूपले पासो थापेका छन्।
4. मैले मेरो दाहिनेतिर नजर लगाएँ, तर त्यहाँ मलाई चिन्ने कोही थिएन; मेरो निम्ति कुनै उम्किने बाटो थिएन; कसैले मेरो प्राणको वास्ता गरेन।
5. हे परमप्रभु, मैले तपाईंलाई पुकारेँ; मैले भनेँ,‘तपाईं मेरो शरणस्थान हुनुहुन्छ रजीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।’
6. मेरो पुकारतिर ध्यान दिनुहोस्; किनकि म धेरै खिन्न भएको छु। मलाई सताउनेहरूबाट मलाई छुटकारा दिनुहोस्; किनकि तिनीहरू मभन्दा बलिया छन्।
7. तपाईंको नाउँको प्रशंसा गर्न मेरो प्राणलाई कैदबाट छुटाउनुहोस्; धर्मीजनले मलाई घेर्नेछन्; किनभने तपाईंले मेरो प्रशस्त उपकार गर्नुहुनेछ।
|