1. परमप्रभुको स्तुति गर। हे मेरो प्राण, परमप्रभुको स्तुति गर्।
2. मेरो जीवनभरि म परमप्रभुको स्तुति गर्नेछु; मेरो जीवनभरि म मेरा परमेश्वरको स्तुति गाउनेछु।
3. राजकुमारहरूमाथि भरोसा नराख, मरणशील मानिसको सन्तानमाथि पनि नराख; जसले बचाउन सक्दैन।
4. त्यसको सास निस्कन्छ, त्यो आफ्नो माटोमा फर्किजान्छ; त्यही दिन त्यसका कल्पनाहरू पनि नष्ट हुन्छन्।
5. त्यो मानिस धन्यको हो, जसको सहायता याकूबका परमेश्वर हुनुहुन्छ, जसको आशा त्यसका परमप्रभु परमेश्वरमाथि छ;
6. जसले स्वर्ग र पृथ्वी, समुद्र र त्यहाँ भएका सबै थोक बनाउनुभयो, जसले सदासर्वदा सत्यता कायम राख्नुहुन्छ;
7. जसले थिचोमिचोमा परेकाहरूको न्याय गर्नुहुन्छ; जसले भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ।
8. परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ; परमप्रभुले झुकेकाहरूलाई उठाउनुहुन्छ; परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ;
9. परमप्रभुले परदेशीहरूलाई जोगाउनुहुन्छ; उहाँले टुहुरा र विधवालाई सहायता गर्नुहुन्छ; तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ।
10. हे सियोन, तेरा परमप्रभु परमेश्वरले सदासर्वदा पुस्तौं-पुस्तासम्म राज्य गर्नुहुनेछ। परमप्रभुको स्तुति गर !
|