1. परमप्रभुको स्तुति गर ! किनभने हाम्रा परमेश्वरको स्तुति गाउनु कति असल कुरा हो ! किनकि यो मनोहर हुन्छ र स्तुति गर्नु उचित छ।
2. परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई भेला गराउनुहुन्छ।
3. उहाँले टुटेका हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र उनीहरूका चोटमा मलमपट्टी बाँध्नुहुन्छ।
4. उहाँले ताराहरूको संख्या गन्नुहुन्छ; उहाँले ती सबैलाई आ-आफ्नो नाउँ दिनुहुन्छ।
5. हाम्रा प्रभु महान् र अतिशक्तिशाली हुनुहुन्छ; उहाँको ज्ञान अपार छ।
6. परमप्रभुले दु:खीहरूलाई सहायता गर्नुहुन्छ; उहाँले दुष्टहरूलाई भुइँमा पछार्नुहुन्छ।
7. धन्यवादका साथ परमप्रभुको निम्ति गाओ; वीणा बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ;
8. उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीलाई वर्षा दिनुहुन्छ अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।
9. उहाँले पशुहरू र कागका कराइरहने बचेराहरूलाई आहार दिनुहुन्छ।
10. उहाँ घोडाको बलमा प्रसन्न हुनुहुन्न; उहाँ मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न।
11. परमप्रभु त उहाँको भय मान्नेहरू र उहाँको करुणामा आशा राख्नेहरूसँग प्रसन्न रहनुहुन्छ।
12. हे यरूशलेम, परमप्रभुको प्रशंसा गर्। हे सियोन, आफ्नो परमेश्वरको स्तुति गर्;
13. किनभने उहाँले तेरा मूलढोकाहरूका आग्लोहरू बलियो पार्नुभएको छ; उहाँले तँभित्र तेरा छोराछोरीलाई आशिष् दिनुभएको छ।
14. उहाँले तेरा साँधसिमानामा शान्ति दिनुहुन्छ र तँलाई सबभन्दा उत्तम गहुँले तृप्त पार्नुहुन्छ।
15. उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको वचन तेजगतिले दौडन्छ।
16. उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ; उहाँले खरानीझैँ तुसारो छर्नुहुन्छ।
17. उहाँले रोडाझैँ असिना बर्साउनुहुन्छ; उहाँको जाडोको सामु को टिक्नसक्छ र?
18. उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो हावा चलाउनुहुन्छ र पानी बग्न थाल्छ।
19. उहाँले आफ्नो वचन याकूबलाई, आफ्ना नियम र न्यायहरू इस्राएललाई घोषणा गर्नुहुन्छ।
20. अरू कुनै जातिसँग उहाँले यस्तो व्यवहार गर्नुभएको छैन र उहाँका न्यायहरू त तिनीहरूले जानेका छैनन्। परमप्रभुको स्तुति गर !
|