1. किन जाति-जातिका मानिसहरू क्रोधित हुन्छन् र व्यर्थमा षडयन्त्र रच्दछन्?
2. परमप्रभु र उहाँका अभिषिक्तजनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एक-आपसमा सल्लाह गर्छन्।
3. तिनीहरू भन्छन्, ‘‘आओ, हामी तिनीहरूका बन्धन छिनालौं र डोरी फुकाऔं।’’
4. स्वर्गमा विराजमान हुनुहुने हाँस्नुहुन्छ, प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
5. तब उहाँले आफ्नो क्रोधमा तिनीहरूलाई हप्काउनुहुन्छ र आफ्नो रिसको झोंकमा तिनीहरूलाई भयभीत पार्नुहुन्छ।
6. उहाँले भन्नुहुन्छ, ‘‘मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो राजालाई म आफैले नियुक्त गरेको छु।’’
7. म परमप्रभुको यो आदेश घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘‘तिमी मेरा प्रिय पुत्र हौ, आज म तिम्रो पिता भएको छु।
8. मसँग माग र म जाति-जातिका मानिसहरूलाई तिम्रो उत्तराधिकारको रूपमा दिनेछु र पृथ्वीको समस्त भूभाग तिम्रै सम्पत्ति बनाइदिनेछु।
9. तिमीले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नेछौ र माटोका भाँडालाई झैँ तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ।’’
10. अब हे राजाहरू हो, यसकारण, बुद्धिमान् होओ, हे पृथ्वीका शासक हो, सावधान !
11. भयसाथ परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द गर।
12. पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनुहुनेछ र तिमीहरू बाटोमै नाश हुनेछौ, किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। उहाँमाथि भरोसा राख्नेहरू सबै धन्यका हुन्।
|