1. हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो? मलाई उद्धार गर्नदेखि र मेरा चित्कारका शब्दहरूदेखि तपाईं किन यति टाढा हुनुहुन्छ?
2. हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्नँ अनि राति पुकार्छु र म चुप रहँदिनँ।
3. तर, हे इस्राएलका स्तुति-प्रशंसामा विराजमान हुनुहुने, तपाईं पवित्र हुनुहुन्छ।
4. हाम्रा पिता-पुर्खाले तपाईंमाथि भरोसा गरे, भर परे र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो।
5. तिनीहरूले तपाईंलाई पुकारे र छुटकारा पाए, तिनीहरूले तपाईंमाथि भरोसा राखे र निराश भएनन्।
6. तर म त एउटा कीरा हुँ, मानिस होइनँ, म त मानिसहरूद्वारा निन्दित र जाति जातिबाट तिरस्कृत व्यक्ति हुँ।
7. जतिले मलाई देख्छन्; तिनीहरू सबै मलाई खिसी गरेर हाँस्छन्,तिनीहरूले मेरो उपहास गर्छन् र टाउकोहल्लाउँदै यसो भन्छन्,
8. ‘‘उहाँले त्यसलाई छुटकारा दिनुहुन्छ भनी त्यसले परमप्रभुमाथि भरोसा राख्थ्यो, उहाँले नै त्यसलाई बचाऊन् किनकि उहाँ त्यसमा प्रसन्न हुनुभएको छ।’’
9. तर मलाई गर्भबाट निकाल्नुहुने तपाईं नै हुनुहुन्छ, आमाको स्तनपान गर्ने अवस्था हुँदादेखि नै तपाईंले मलाई भरोसा गर्न लगाउनुभयो।
10. म गर्भदेखि नै तपाईंकहाँ सुम्पिएँ, मेरी आमाको गर्भदेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ।
11. मबाट टाढा नहुनुहोस्, सङ्कष्ट नजिकै छ, किनकि सहायता गर्ने कोही छैन।
12. धेरै साँढेले मलाई घेरेका छन्। बाशानका बलिया-बलिया साँढेहरूले मलाई चारैपट्टि घेरा हालेका छन्।
13. आफ्ना शिकारलाई फहराउने र गर्जने सिंहझैँ तिनीहरूले मतिर आफ्ना मुख बाएका छन्।
14. म पानीझैँ पोखिएको छु, अनि मेरा सबै हड्डी जोर्नीबाट फुस्केका छन्, मेरो हृदय मैनजस्तो भएको छ, त्यो मेरो छातीभित्र पग्लेको छ।
15. खपटोझैँ मेरो बल ह्रास भएको छ र मेरो जिब्रो तालुमा टाँसिएको छ, अनि तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ।
16. किनकि कुकुरहरूले मलाई घेरेका छन्, दुष्टहरूको झुन्डले मलाई घेरा हालेको छ, तिनीहरूले मेरा हात र खुट्टा छेँडेका छन्।
17. म मेरा सबै हड्डीलाई गन्न सक्छु, तिनीहरू मलाई एकटक लगाएर हेर्छन्।
18. तिनीहरूले मेरा वस्त्र आपसमा बाँड्छन्, र मेरो पोशाकको निम्ति चिट्ठा हाल्छन्।
19. तर हे परमप्रभु, मदेखि टाढा नहुनुहोस्, हे मेरो शक्ति, मलाई सहायता गर्न हतारिनुहोस्।
20. मलाई तरवारबाट बचाउनुहोस्, मेरो जीवनलाई कुकुरको पन्जाबाट छुटाउनुहोस्।
21. मलाई सिंहको मुखबाट बचाउनुहोस्, किनकि जङ्गली साँढेहरूका सिङहरूबाट मेरो विन्ती सुन्नुभएको छ।
22. मेरा भाइहरूलाई म तपाईंको नाउँ घोषणा गर्नेछु, म तपाईंको प्रशंसा सभाको बीचमा गर्नेछु।
23. हे परमप्रभुको भय मान्नेहरू हो, उहाँको प्रशंसा गर, हे याकूबका सबै सन्तान हो, उहाँको महिमा गर र हे इस्राएलका सबै सन्तान हो, उहाँको भय मान।
24. किनकि उहाँले दु:खीको दु:खलाई तुच्छ ठान्नुभएको छैन, न त घृणा नै गर्नुभएको छ, न ऊबाट आफ्नो मुहार नै लुकाउनुभएको छ, तर जब उसले उहाँलाई पुकार्यो, तब उहाँले सुन्नुभयो।
25. ठूलो सभामा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्छ, उहाँका डर मान्नेहरूको सामु म आफ्ना भाकल पूरा गर्नेछु।
26. नम्रहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिमीहरूका हृदय सदासर्वदा जीवित रहनेछ।
27. सारा पृथ्वीका सबै जातिले उहाँको स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन्, अनि जाति-जातिका सबै परिवारले तपाईंको सामु दण्डवत् गर्नेछन्।
28. किनकि राज्य परमप्रभुकै हो, अनि जाति-जातिमाथि उहाँ नै शासक हुनुहुन्छ।
29. पृथ्वीका सबै हृष्टपुष्ट मानिसहरूले खानेछन् र दण्डवत् गर्नेछन्, सबै माटोमा मिल्नेहरूले उहाँको अघि दण्डवत् गर्नेछन्, कसैले पनि आफ्नो प्राण जीवित राख्न सक्नेछैन।
30. एउटा वंशले उहाँको सेवा गर्नेछ र भावी पुस्तालाई प्रभुको विषयमा बताइनेछ।
31. तिनीहरू आउनेछन् र तिनीहरूबाट जन्मेको एउटा जातिलाई ‘उहाँले यो गर्नुभएको छ’ भनेर उहाँको धार्मिकताको वर्णन गर्नेछन्।
|