1. हे परमप्रभु, राजाले तपाईंको सामर्थ्यमा आनन्द मनाउनेछन् र उनी तपाईंको उद्धारमा कति हर्षित हुनेछन् !
2. तपाईंले उनको मनोरथ पूरा गरिदिनुभएको छ र उनका मुखको विन्तीलाई तपाईंले अस्वीकार गर्नभएको छैन। सेला
3. किनकि तपाईंले उनलाई उत्तम आशिष् दिनुहुन्छ, तपाईंले उनको शिरमाथि निखुर सुनको मुकुट पहिर्याइदिनुहुन्छ।
4. उनले तपाईंसित जीवन मागे अनि तपाईंले उनलाई सदासर्वदा रहने लामो आयु दिनुभयो।
5. तपाईंको उद्धारमा उनको महिमा ठूलो छ, तपाईंले उनीमाथि आदर र श्रेष्ठता राखिदिनुभएको छ।
6. किनकि तपाईंले उनलाई सदासर्वदाको निम्ति अति आशिषित बनाउनुभएको छ, तपाईंले उनलाई आफ्नो मुहारले अति आनन्दित तुल्याउनुभएको छ।
7. किनकि राजाले परमप्रभुमाथि भरोसा राख्दछन् र सर्वोच्च परमेश्वरको अचुक करुणाले गर्दा उनी डगमगाउनेछैनन्।
8. तपाईंको बाहुलीले तपाईंका सबै शत्रुलाई भेट्टाउनेछ, तपाईंको दाहिने बाहुलीले तपाईंलाई घृणा गर्नेहरूलाई भेट्टाउनेछ।
9. तपाईंको क्रोधको समयमा तपाईंले तिनीहरूलाई अग्निमय भट्टीझैँ तुल्याउनुहुनेछ, परमप्रभुले तिनीहरूलाई आफ्नो क्रोधमा निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।
10. तपाईंले तिनीहरूको फल पृथ्वीदेखि र तिनीहरूको सन्तानलाई मानिसका सन्तानको बीचबाट नष्ट गर्नुहुनेछ।
11. किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराबी सोचे, तिनीहरूले दुष्ट युक्तिको कल्पना गरे, तापनि तिनीहरू सफल हुनेछैनन्।
12. यसकारण, जब तपाईंले तिनीहरूको विरुद्धमा आफ्ना काँडहरू ताँदोमा चढाएर तयार पार्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई आफ्ना पिठयुँ फर्काएर भाग्ने तुल्याउनुहुनेछ।
13. हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्, हामी गाउनेछौं र तपाईंको सामर्थ्यको प्रशंसा गर्नेछौं।
|