1. हे परमप्रभु, म आफ्नो मन तपाईंतिर उठाउँछु।
2. हे मेरा परमेश्वर, म तपाईंमा भरोसा राख्छु, मलाई शर्ममा पर्न नदिनुहोस्। मेरा शत्रुहरू ममाथि विजयी हुन नपाऊन्।
3. अँ, तपाईंको बाटो हेर्ने कोही पनि शर्ममा पर्नेछैनन्, तर दुष्कर्म गर्नेहरूलाई बहाना छैन, तिनीहरू शर्ममा पर्नेछन्।
4. हे परमप्रभु, तपाईंका मार्गहरू मलाई देखाउनुहोस्, मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्।
5. मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र सिकाउनुहोस्, किनकि तपाईं मेरा मुक्तिका परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दछु।
6. हे परमप्रभु, तपाईंको कोमल कृपा र तपाईंको करुणाको स्मरण गर्नुहोस्, किनकि ती अनन्तकालदेखिकै हुन्।
7. मेरा जवानीका पाप र मेरा अपराधको सम्झना नगर्नुहोस्, हे परमप्रभु, तपाईंको भलाइको कारण, तपाईंको करुणाअनुसार तपाईंले मेरो सम्झना गर्नुहोस्।
8. परमप्रभु, भला र सीधा हुनुहुन्छ, यसैकारण, उहाँले पापीहरूलाई आफ्नो मार्गको शिक्षा दिनुहुनेछ।
9. उहाँले नम्रहरूलाई न्यायमा अगुवाइ गर्नुहुनेछ, अनि उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुनेछ।
10. उहाँको करार र उहाँका साक्षी पालन गर्नेहरूका निम्ति परमप्रभुका सबै मार्ग प्रेममय र विश्वासयोग्य छन्।
11. हे परमप्रभु, तपाईंको नामको खातिर, मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ।
12. परमप्रभुको भय मान्ने मानिस को हो? उहाँले त्यसलाई, त्यो कुन बाटो हिँड्नुपर्ने हो, सिकाउनुहुन्छ।
13. त्यसले सुखचैनमा आफ्नो जीवन बिताउनेछ, अनि उसको सन्तान पृथ्वीको हकवाला बन्नेछ।
14. परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार प्रकट गर्नुहुनेछ।
15. मेरा आँखा निरन्तर परमप्रभुतिर छन्, किनकि उहाँले नै मेरा खुट्टालाई पासोबाट निकाल्नुहुनेछ।
16. मतिर फर्कनुहोस् र मलाई कृपा गर्नुहोस्, किनकि म एक्लो र पीडित छु।
17. मेरा हृदयका वेदना बढेका छन्, मलाई मेरा कष्टबाट छुटकारा दिनुहोस्।
18. मेरो कष्ट र पीडामाथि दृष्टि दिनुहोस्, र मेरा सबै पाप क्षमा गर्नुहोस्।
19. मेरा शत्रुहरूमाथि विचार गर्नुहोस्, किनकि तिनीहरू धेरै छन्, अनि तिनीहरूले मलाई क्रूरतापूर्वक घृणा गर्छन्।
20. मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, मलाई शर्ममा नपार्नुहोस्, किनकि तपाईंमाथि म भरोसा राख्दछु।
21. इमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंको बाटो हेर्दछु।
22. हे परमेश्वर, इस्राएललाई त्यसका सबै दु:खबाट मुक्त गर्नुहोस्।
|