1. परमप्रभु, मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ, मैले कसको भय मानूँ? परमप्रभु, मेरो जीवनको बल हुनुहुन्छ, मैले कसको भय मानूँ?
2. जब दुष्टहरू, मेरा शत्रु र विरोधीहरू ममाथि आक्रमण गर्न आइलागे, तब तिनीहरू ठक्कर खाएर लडे।
3. फौजले मेरो विरुद्धमा घेरा हाले तापनि मेरो हृदय डराउनेछैनँ, मेरो विरुद्धमा लडाइँ मच्चिए तापनि म दृढ रहनेछु।
4. परमप्रभुसँग मैले एउटा कुरा मागेको छु, त्यसैको पछि म लाग्नेछु, जसले गर्दा परमप्रभुको सुन्दरता हेर्न र उहाँको मन्दिरमा ध्यान गर्न म मेरो जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ।
5. किनकि सङ्कष्टको दिनमा उहाँले मलाई आफ्नो वासस्थानभित्र लुकाउनुहुनेछ, उहाँले मलाई उहाँको पवित्र वासस्थानको गुप्तमा राख्नुहुनेछ, अनि उहाँले मलाई चट्टानमाथि बसाल्नुहुनेछ।
6. अब मेरो शिर मेरा वरिपरि भएका शत्रुहरूभन्दा उच्च पारिनेछ, म उहाँको पवित्र वासस्थानमा आनन्दको बलि चढाउनेछु, म गाउनेछु, अँ, म परमप्रभुको प्रशंसा गाउनेछु।
7. हे परमप्रभु, जब म उच्च स्वरमा पुकार्छु, ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस्।
8. जब तपाईंले ‘‘मेरो मुहारको खोजी गर्’’ भन्नुभयो, तब मेरो हृदयले तपाईंलाई भन्यो, ‘‘हे परमप्रभु, म तपाईंकै मुहारको खोजी गर्नेछु।’’
9. तपाईंको मुहार मबाट नलुकाउनुहोस्, रिसमा तपाईंको दासलाई इन्कार नगर्नुहोस्, तपाईं मेरो सहायक हुनुभएको छ, हे मेरा उद्धारका परमेश्वर, मलाई नछोड्नुहोस्, न त मलाई त्याग्नुहोस्।
10. मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
11. हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् र मेरा शत्रुहरूका कारण मलाई ठीक मार्गमा डोर्याउनुहोस्।
12. मलाई मेरा शत्रुहरूका इच्छामा नसुम्पनुहोस्, किनकि झुटा साक्षीहरू मेरो विरुद्धमा उठेका छन् र हिंसाको फुत्कार छोड्छन्।
13. म विश्वास गर्छु कि जीवितहरूका देशमा म परमप्रभुको भलाइ देख्नेछु।
14. धैर्यपूर्वक परमप्रभुको बाटो हेर, साहसिलो होओ र उहाँले तिमीहरूको हृदयलाई बलियो पार्नुहुनेछ।
|