1. हे परमप्रभु, तपाईंमाथि म मेरो भरोसा राख्छु, म कहिल्यै सर्माउन नपरोस्, तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस्।
2. तपाईंको कान मतिर लगाउनुहोस्, मलाई चाँडै छुटकारा दिनुहोस्। तपाईं मेरो बलियो चट्टान र मलाई बचाउने बलियो किल्ला हुनुहोस्।
3. किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, यसकारण, तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस्, र मलाई अगुवाइ गर्नुहोस्।
4. मेरो निम्ति गुप्त रूपमा थापेको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं मेरो बल हुनुहुन्छ।
5. म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु, हे परमप्रभु, सत्यका परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुभएको छ।
6. व्यर्थका कुरातिर मन लगाउनेहरूलाई मैले घृणा गरेको छु, तर म परमप्रभुमाथि भरोसा राख्तछु।
7. म आनन्दित हुनेछु र तपाईंको कृपामा रमाउनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभएको छ, तपाईंले मेरो प्राणको वेदनालाई जान्नुभएको छ,
8. अनि मलाई शत्रुको हातमा सुम्पनुभएको छैन, तपाईंले मेरा खुट्टा फराकिलो ठाउँमा राख्नुभएको छ।
9. हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्, किनकि म कष्टमा छु, शोकले मेरो आँखा धमिलो भएको छ, अँ, मेरो प्राण र शरीर पनि क्षीण भएको छ।
10. किनकि मेरो जीवन शोक र मेरा वर्ष सुस्केरामा बितेका छन्, मेरो अधर्मको कारण म शक्तिहीन भएको छु, र मेरा हड्डीहरू मकिएका छन्।
11. मेरा सबै शत्रुहरूले गर्दा, विशेषगरी मेरो छरछिमेकका बीचमा म निन्दाको कारण र मेरा मित्रहरूका निम्ति डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन्।
12. म मरेको मानिससरह बिर्सिइएको छु, मेरो बारेमा कसैले सोच्दैन, म त फुटेको भाँडासरह भएको छु।
13. किनकि धेरै जनाले मेरो निन्दा गरेको मैले सुनेको छु, चारैतिर डर छाएकोथियो, जब तिनीहरूले मेरो विरुद्धमाएकसाथ मतो गरे,तब तिनीहरूले मेरो प्राण लिने युक्तिगरे।
14. तर हे परमप्रभु, मैले तपाईंमाथि भरोसा गरेँ, मैले भनेँ, ‘‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ।’’
15. मेरा दिनहरू तपाईंकै हातमा छन्, मलाई मेरा शत्रु र मलाई सताउनेहरूका हातबाट छुटाउनुहोस्।
16. आफ्नो दासमाथि तपाईंको मुहार चम्कन दिनुहोस्, आफ्नो कृपाको खातिर मलाई बचाउनुहोस्।
17. हे परमप्रभु, म सर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु, दुष्टहरू सर्ममा परून् र तिनीहरू पातालमा चुपचाप रहून्।
18. झुट बोल्ने ओठहरू चुप पारिऊन्, जसले घमण्ड र घृणासाथ धर्मीहरूका विरुद्धमा बोल्दछन्।
19. अहो ! तपाईंको भलाइ कति महान् छ, जुन तपाईंले तपाईंका भय मान्नेहरूका निम्ति साँचेर राख्नुभएको छ, जुन तपाईंले मानिसहरूका सन्तानको सामु तपाईंमाथि भरोसा गर्नेहरूका निम्ति प्रकट गर्नुभएको छ !
20. तपाईंले तिनीहरूलाई आफ्नो उपस्थितिको गुप्त स्थानमा मानिसको षडयन्त्रदेखि लुकाएर राख्नुहुनेछ, तपाईंले तिनीहरूलाई वासस्थानभित्र झगडालु जिब्रोदेखि सुरक्षित राख्नुहुनेछ।
21. परमप्रभु धन्यका होऊन्, किनकि उहाँले मलाई बलियो शहरमा आफ्नो अचम्मको दया देखाउनुभएको छ।
22. किनकि आत्तिएको बेलामा मैले भनेँ, ‘‘म तपाईंको दृष्टिबाट अलग भएको छु,’’ तैपनि जब मैले तपाईंलाई पुकारेँ, तपाईंले मेरो प्रार्थना सुन्नुभयो।
23. हे परमप्रभुका सबै पवित्रजन हो, उहाँलाई प्रेम गर, किनकि उहाँले विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ र अहङ्कार गर्नेहरूलाई प्रशस्त गरी प्रतिफल दिनुहुन्छ।
24. हे सबै परमप्रभुमाथि आशा राख्नेहरू हो, साहसिलो होओ, र उहाँले तिमीहरूको हृदयलाई बलियो पार्नुहुनेछ।
|