1. हे धर्मीजन हो, परमप्रभुमा आनन्द गर, किनकि सोझो मन भएकाहरूले उहाँको प्रशंसा गर्न सुहाउँछ।
2. वीणा बजाएर परमप्रभुको प्रशंसा गर, दशतारे सारङ्गी बजाएर उहाँको स्तुति गाओ।
3. उहाँको निम्ति एउटा नयाँ भजन गाओ, उच्च सोरमा निपुणतासाथ बजाओ।
4. किनकि परमप्रभुको वचन ठीक छ, र उहाँका सबै काम सत्यतामा गरिन्छन्।
5. उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ, पृथ्वी परमप्रभुको भलाइले भरपुर छ।
6. परमप्रभुको वचनद्वारा आकाश र उहाँको मुखको सासद्वारा सारा ग्रह-नक्षत्रहरू बनिए।
7. उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ, उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ।
8. सारा पृथ्वीले परमप्रभुको भय मानोस्, संसारका सबै बासिन्दाले उहाँको भय मानून्।
9. किनकि उहाँ बोल्नुभयो, तब त्यस्तै भइहाल्यो, उहाँले आज्ञा गर्नुभयो, र त्यो हुन आयो।
10. परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ, उहाँले मानिसहरूका युक्तिहरूलाई निष्फल तुल्याउनुहुन्छ।
11. परमप्रभुको सल्लाह सदासर्वदा स्थिर रहन्छ, उहाँको हृदयका विचार पुस्तौंपुस्तौंसम्म स्थिर रहन्छ।
12. त्यो जाति धन्यको हो, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ, र ती मानिसहरू जसलाई उहाँले आफ्नो उत्तराधिकारको निम्ति चुन्नुभएको छ।
13. परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ, उहाँले मानिसका सबै सन्तानलाई देख्नुहुन्छ।
14. उहाँले आफ्नो वासस्थानबाट पृथ्वीका सारा बासिन्दामाथि नजर राख्नुहुन्छ।
15. उहाँले सबैका हृदयको रचना गर्नुहुन्छ, उहाँले तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।
16. कुनै राजा आफ्नो सेनाको ठूलो दलद्वारा बचाइँदैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा छुटाइँदैन।
17. बचाउको निम्ति घोडा व्यर्थको कुरा हो, न त त्यसले आफ्नो ठूलो बलद्वारा कसैलाई छुटकारा दिनेछ।
18. हेर, परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, जसले उहाँको कृपामाथि आशा राख्दछन्,
19. तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।
20. हाम्रो प्राणले परमप्रभुको बाटो हेर्दछ, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।
21. किनकि उहाँमा हाम्रो हृदय आनन्दित हुनेछ, किनभने हामीले उहाँको पवित्र नाउँमाथि भरोसा राखेका छौं।
22. हे परमप्रभु, हामीले तपाईंमा आशा राखेअनुसार तपाईंको कृपा हामीमाथि रहोस्।
|