1. हरसमय म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।
2. मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ, नम्रहरूले यो सुन्नेछन् र आनन्दित हुनेछन्।
3. मसँग परमप्रभुको बढाइँ गर, हामी मिलेर उहाँको नाउँ उच्च पारौं।
4. मैले परमप्रभुको खोजी गरेँ र उहाँले मेरो विन्ती सुन्नुभयो अनि मेरा सबै डरदेखि मलाई छुटकारा दिनुभयो।
5. तिनीहरूले उहाँलाई हेरे र उज्ज्वल भए, अनि तिनीहरूका मुहारहरू लज्जित भएनन्।
6. यस दु:खित मानिसले परमप्रभुलाई पुकार्यो र परमप्रभुले यसको विन्ती सुन्नुभयो, अनि यसलाई, यसका सबै सङ्कष्टबाट छुटाउनुभयो।
7. परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले घेरा हाल्दछन् र तिनीहरूलाई छुटकारा दिन्छन्।
8. अहो ! चाखेर हेर, परमप्रभु कति भलो हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्यको हो।
9. हे परमप्रभुका पवित्रजन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई कुनै कुराको अभाव हुँदैन।
10. जवान सिंहहरूलाई घटी होला र ती भोकाउलान्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुनेछैन।
11. आओ, हे छोराछोरी हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय सिकाउनेछु।
12. त्यो कुन मानिस हो, जसले जीवनको चाह गर्दछ, अनि दीर्घायु र खुशीको जीवन मन पराउँछ?
13. आफ्नो जिब्रो खराबीबाट र आफ्ना ओठ छलका कुरा बोल्नबाट जोगाऊ।
14. खराबीबाट भाग र भलाइ गर, शान्ति खोज र त्यसकै पछि लाग।
15. परमप्रभुको दृष्टि धर्मीजनमाथि छ, र उहाँका कान तिनीहरूको पुकार सुन्न खुला छन्।
16. पृथ्वीबाट तिनीहरूको सम्झना मेटाइदिन परमप्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा छ।
17. धर्मीजनले पुकार्दछन्, अनि परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
18. परमप्रभु तोडिएको हृदय हुनेहरूको नजिकमा हुनुहुन्छ र पश्चात्तापी आत्मा हुनेहरूलाई उद्धार गर्नुहुन्छ।
19. धर्मीजनलाई धेरै दु:ख त हुन्छ, तर परमप्रभुले त्यसलाई ती सबैबाट छुटकारा दिनुहुन्छ।
20. उहाँले त्यसका सबै हड्डीको रक्षा गर्नुहुन्छ, तिनमा एउटै पनि भाँचिदैन।
21. खराबीले दुष्टलाई मार्नेछ र धर्मीजनलाई घृणा गर्नेहरू दोषी ठहरिनेछन्।
22. परमप्रभुले आफ्ना दासहरूको प्राणलाई उद्धार गर्नुहुन्छ, उहाँमाथि भरोसा गर्नेहरूमध्ये कोही पनि दोषी ठहरिनेछैन।
|