1. हे सबै जातिका मानिसहरू हो, यो कुरा सुन, संसारका सबै बासिन्दा हो, ध्यान दिएर सुन,
2. साना र ठूला, धनी र गरिब सबैले एकसाथ ध्यान देऊ।
3. मेरो मुखले बुद्धिका कुरा बोल्नेछ, अनि मेरो हृदयको ध्यानले समझ प्रदान गर्नेछ।
4. म दृष्टान्ततिर आफ्नो ध्यान लगाउनेछु, वीणा बजाएर म आफ्नो अडको फुकाउनेछु।
5. जब मेरा कुर्कुच्चाको अपराधले मलाई घर्नेछ, तब विपत्तिका दिनहरूमा म किन डराऊँ?
6. तिनीहरू आफ्नो धनसम्पतिमाथि भरोसा राख्छन् र आफ्नो धनको प्रशस्ततामा अहङ्कार गर्छन्,
7. तीमध्ये कसैले पनि आफ्नो भाइलाई कुनै रीतिले छुटाउन सक्दैन, न त उसको निम्ति परमेश्वरलाई छुटकाराको मोल नै तिर्न सक्छ,
8. किनकि तिनीहरूको प्राणको छुटकारा बहुमूल्य छ, र यसको मोल कहिल्यै तिरेर सकिँदैन
9. यसैले कि ऊ सधैँ बाँचिरहोस् र कहिल्यै पातालमा नजाओस्।
10. किनकि बुद्धिमान् मानिसहरू मर्छन्, त्यस्तैगरी मूर्ख र विवेकहीन मानिस पनि नष्ट हुन्छन् र आफ्नो धनसम्पत्ति अरूका निम्ति छोड्छन् भनी उसले देख्छ।
11. तिनीहरूका घर सधैँभरि र तिनीहरूका वासस्थान पुस्तौँ-पुस्तासम्म रहिरहनेछन् भन्ने तिनीहरूको भित्री विचार हुन्छ, तिनीहरूले आ-आफ्नै नामअनुसार जमिनका नाम राख्छन्।
12. तर आदर भए तापनि त्यो मानिस रहिरहँदैन, त्यो त नष्ट भइजाने पशुतुल्य हो।
13. मूर्ख मानिसको चाल यस्तै हुन्छ, तैपनि तिनीहरूका भावी सन्ततिले तिनीहरूका कुरालाई समर्थन गर्दछन्। सेला
14. भेडाहरूझैँ तिनीहरू पातालमा जान्छन्, मृत्युले तिनीहरूलाई निल्नेछ, बिहानैदेखि सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन् र तिनीहरूको वासस्थानबाट टाढा तिनीहरूका सुन्दरता पातालमा नष्ट हुनेछ।
15. तर परमेश्वरले मेरो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिनुहुनेछ, किनकि उहाँले मलाई ग्रहण गर्नुहुनेछ।
16. कोही धनी भयो भने र त्यसको घरको महिमा बढयो भने तिमी नडराऊ,
17. किनकि त्यो मर्दा, त्यसले केही पनि साथमा लानेछैन, न त त्यसको महिमा त्यसको पछि लाग्नेछ।
18. आफू बाँचुन्जेल त्यसले आफ्नो प्राणलाई धन्यको भने तापनि, जब तिमीले आफ्नै भलाइ गर्दछौ, मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्
19. त्यो आफ्नै पिता-पुर्खाको पुस्तासँग मिल्न जानेछ, तिनीहरूले कहिल्यै ज्योति देख्नेछैनन्।
20. मान-सम्मान पाएको तर समझ नभएको मानिस नष्ट हुने पशुसरह हो।
|