1. हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान दिनुहोस्, अनि मेरो विन्तीबाट आफैलाई नलुकाउनुहोस्।
2. मतिर ध्यान दिनुहोस् र मेरो विन्ती सुन्नुहोस्, शत्रुको सोर र दुष्टको थिचोमिचोका कारण म मेरो दु:खमा विलाप गर्छु र विलौना गर्छु,
3. किनकि तिनीहरूले ममाथि अधर्म ल्याउँछन् र क्रोधमा तिनीहरूले मलाई घृणा गर्छन्।
4. मभित्र मेरो हृदय अतिपीडित भएको छ, र ममाथि मृत्युका त्रास आइपरेका छन्।
5. ममाथि डर र कम्पन आइपरेका छन्, र त्रासले मलाई व्याकुल पारेको छ।
6. अनि मैले भनेँ, ‘‘अहो ! ढुकुरको जस्तै मेरा पखेटा भए त ! म उडेर जान्थेँ र विश्राम लिन्थेँ।
7. हेर, म भागेर टाढा-टाढा जान्थेँ, र उजाडस्थानमा बस्थेँ। सेला
8. प्रचण्ड बतास र आँधीबेहरीबाट बच्न म हतार गर्थें।’’
9. हे परमप्रभु, तिनीहरूलाई नाश गर्नुहोस्, र तिनीहरूका भाषा खलबल्याइ दिनुहोस्, किनकि मैले शहरमा हिंसा र झगडा देखेको छु।
10. तिनीहरू त्यसका पर्खालहरूमा चढेर रातदिन त्यसको वरिपरि चक्कर मार्छन्, अनि उपद्रव र वेदना पनि त्यसका बीचमा छन्।
11. दुष्टता त्यसको बीचमा छ, त्यसका सडकहरूबाट थिचोमिचो र छलकपट हट्दैन।
12. किनकि त्यो मेरो निन्दा गर्ने शत्रु थिएन, त्यसो भए त म सहनसक्ने थिएँ, न त त्यो मलाई घृणा गर्ने र मेरो विरुद्धमा आफैलाई बडप्पन गर्ने मान्छेनै थियो,त्यसो भए त म त्यसबाट लुक्नेथिएँ।
13. तर त्यो त तिमी नै थियौ, म समानको मानिस, मेरो घनिष्ठ साथी र मेरो चिनारु।
14. हामीले एक-अर्कासित मीठो सङ्गति गर्थ्यौं र भीडको साथमा परमेश्वरको भवनमा जान्थ्यौं।
15. तिनीहरूमाथि मृत्यु आइपरोस्, र तिनीहरू जिउँदै पातालमा परून्, किनकि तिनीहरूका वासस्थान र तिनीहरूका बीचमा दुष्टता छ।
16. तर म त परमेश्वरलाई पुकार्नेछु, अनि परमप्रभुले मलाई बचाउनुहुनेछ।
17. साँझ, बिहान र दिउँसो म प्रार्थना गर्नेछु र बिलौना गर्नेछु, अनि उहाँले मेरो सोर सुन्नुहुनेछ।
18. मेरो विरुद्धमा उठेको युद्धबाट उहाँले मेरो प्राणलाई शान्तिसित छुटकारादिनुभएको छ,किनकि मेरो विरुद्धमा धेरै शत्रु थिए।
19. प्राचीनकालदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्वरले सुन्नुहुनेछ, र तिनीहरूलाई कष्ट दिनुहुनेछ। सेला किनभने तिनीहरूले आफैलाई परिवर्तन गर्दैनन् र परमेश्वरको भय मान्दैनन्।
20. त्यसले आफूसँग मिलाप राख्नेहरूकै विरुद्धमा आफ्ना हात उठाएको छ, त्यसले आफ्नो करार भङ्ग गरेको छ।
21. त्यसका मुखका शब्दहरू घिउभन्दा कोमल थिए, तर त्यसको हृदयभित्र लडाइँ थियो, त्यसका शब्दहरू तेलभन्दा चिप्ला थिए, तैपनि ती धारिला तरवारजस्ता थिए।
22. तिम्रो बोझ परमप्रभुमाथि राखिदेऊ, र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ, उहाँले धर्मीजनलाई कहिल्यै डगमगाउन दिनुहुनेछैन।
23. तर हे परमेश्वर, तपाईंले नै तिनीहरूलाई विनाशको खाडलमा हाल्नुहुनेछ, रक्तपात गर्ने र छली मानिसहरू आधा आयुसम्म पनि बाँच्नेछैनन्,तर म त तपाईंमाथि भरोसा राख्नेछु।
|