1. हे परमेश्वर, तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ, एकाबिहानै म तपाईंलाई खोज्नेछु, पानी नै नभएको सुक्खा र रुखो भूमिमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंको निम्ति मरिमेट्छ।
2. मैले तपाईंलाई पवित्रस्थानमा देखेजस्तै म तपाईंको सामर्थ्य र महिमा देख्न तिर्सना गर्दछु।
3. किनकि तपाईंको दया जीवनभन्दा श्रेष्ठ छ, मेरा ओठले तपाईंको प्रशंसा गर्नेछन्।
4. यसरी म मेरो जीवनभरि नै तपाईंलाई धन्यको भन्नेछु, तपाईंको नाममा म मेरा हात उचाल्नेछु।
5. मेरो प्राण उत्तम भोजनले झैँ तृप्त हुनेछ, अनि स्तुतिपूर्ण ओठले म तपाईंको प्रशंसा गर्नेछु,
6. जब आफ्नो ओछयानमा म तपाईंको सम्झना गर्छु अनि रातभरि नै म तपाईंको ध्यान गर्छु।
7. किनभने तपाईं मेरो सहायक हुनुभएको छ, यसकारण तपाईंका पखेटाको छायाँमा म रमाउनेछु।
8. मेरो प्राण खुरन्धार तपाईंकै पछि लाग्दछ, तपाईंको दाहिने हातले मलाई सम्हाल्छ।
9. तर मेरो प्राणलाई नाश गर्न खोज्नेहरू पृथ्वीको तल्लो भागमा जानेछन्।
10. तिनीहरू तरवारले मारिनेछन्, र स्यालहरूको आहार हुनेछन्।
11. तर राजा परमेश्वरमा आनन्दित हुनेछन्, उहाँको नाममा शपथ लिनेहरू हरेकले गर्व गर्नेछ, तर झूट बोल्नेहरूको मुख बन्द गरिनेछ।
|