1. हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमा नै भरोसा राख्दछु, मलाई मेरो खेदो गर्ने सबैबाट बचाउनुहोस् र छुटकारा दिनुहोस्।
2. नत्र त सिंहले झैँ तिनीहरूले मलाई चिथोर्नेछन्, बचाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।
3. हे परमप्रभु, मेरा परमेश्वर, यदि मैले यो गरेको छु भने, मेरा हातहरूबाट केही अधर्म भएको छ भने
4. यदि मैले मसँग मिलापमा रहनेलाई खराबी गरेको छु भने वा बिनाकारण मेरा शत्रुबाट मैले केहीलुटेको छु भने,
5. मेरा शत्रुले मेरो प्राणको खेदो गरोस् र पक्रोस्, अनि त्यसले मेरो शरीरलाई भुइँमा कुल्चीमिल्ची पारोस् र धुलोमा मिलाओस्। सेला
6. हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्, मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईं खडा हुनुहोस्, अनि तपाईंले आज्ञा गर्नुभएका न्यायअनुसार मेरो निम्ति जाग्नुहोस्।
7. यसरी जाति-जातिका मानिसहरूका समुदायले तपाईंलाई घेर्नेछन्, यसकारण तिनीहरूका निम्ति उच्च स्थानबाट शासन गर्नुहोस्।
8. परमप्रभुले जाति-जातिका मानिसहरूका न्याय गर्नुहुनेछ। हे परमप्रभु, मेरो धार्मिकताअनुसार न्याय गर्नुहोस्, हे सर्वोच्चका परमेश्वर, मेरो इमानदारिअनुसार न्याय गर्नुहोस्।
9. हे धार्मिक परमेश्वर, जसले मानिसको हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको दुष्टताको अन्त गर्नुहोस्, तर धर्मीजनलाई स्थिर पार्नुहोस्।
10. सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
11. परमेश्वर धर्मी न्यायाधीश हुनुहुन्छ, उहाँले प्रतिदिन दुष्टसित आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
12. यदि त्यसले पश्चात्ताप गरेन भने उहाँले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनुको ताँदो चढाएर तयार पार्नुहुनेछ।
13. उहाँले त्यसका निम्ति मृत्युका हातहतियार तयार पार्नुहुन्छ, उहाँले अग्निवाण पठाउन तयार पार्नुहुन्छ।
14. हेर, त्यो दुष्टताले भरिएको छ, अनि उपद्रवलाई गर्भधारण गरेको छ र त्यसले झुटलाई जन्म दिन्छ।
15. त्यसले एउटा खाडल खन्छ र त्यसले खनेको खाडलभित्र त्यो आफै जाकिन्छ।
16. त्यसको उपद्रव त्यसकै टाउकोमा खनिन्छ अनि त्यसको अत्याचार आफैमाथि ओइरिन्छ।
17. म परमप्रभुको प्रशंसा उहाँको धार्मिकताअनुसार गर्नेछु र सर्वोच्च परमप्रभुको नाउँको स्तुति गाउनेछु।
|