1. हे परमप्रभु, मेरा उद्धारका परमेश्वर, मैले रातदिन तपाईंको सामु पुकार गरेको छु,
2. मेरो प्रार्थना तपाईंको सामु पुगोस्, मेरो पुकारतिर आफ्नो ध्यान दिनुहोस्,
3. किनकि मेरो प्राण कष्टले भरिएको छ, र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
4. खाडलमा जानेहरूसँग मेरो गन्ती भएको छ, म शक्तिहीन मानिसजस्तो भएको छु,
5. मरेकाहरूको बीचमा छोडिएको, मारिेएका मानिसजस्तो, जो चिहानमा लडिरहेका छन्, जसलाई तपाईंले कहिल्यै सम्झना गर्नुहुन्न र तिनीहरू तपाईंको हेरचाहबाट त्यागिएका छन्।
6. तपाईंले मलाई सबैभन्दा तल्लो खाडलमा, अन्धकारमय गहिराइमा राख्नुभएको छ।
7. तपाईंको क्रोधको भारीले मलाई थिचेको छ, अनि तपाईंले आफ्ना सबै छालले मलाई शासना दिनुभएको छ। सेला
8. तपाईंले मेरा चिनारुहरूलाई मदेखि टाढा राख्नुभएको छ, तपाईंले मलाई तिनीहरूको दृष्टिमा घृणित तुल्याउनुभएको छ, म बन्दी भएको छु र म निस्केर आउन सक्दिनँ।
9. कष्टको कारणले मेरो आँखा धमिला भएका छन्, हे परमप्रभु, दिनहुँ मैले तपाईंलाई पुकारेको छु, तपाईंतिर मैले आफ्ना हात फैलाएका छु।
10. के मरेकाहरूलाई तपाईं अचम्मका काम देखाउनुहुन्छ? के मरेकाहरूले उठेर तपाईंको प्रशंसा गर्लान् र ? सेला
11. के चिहानमा तपाईंको करुणा अथवा विनाशमा तपाईंको विश्वासयोग्यताको घोषणा गरिन्छ र?
12. के अन्धकारमा तपाईंका अचम्मका काम र विस्मृतिको देशमा तपाईंको धार्मिकता जानिन्छन् र?
13. तर हे परमप्रभु, मैले तपाईंलाई पुकारेको छु, अनि बिहानै मेरो प्रार्थना तपाईंको सामुन्ने आउँछ।
14. हे परमप्रभु, तपाईं किन मेरो प्राणलाई त्याग्नुहुन्छ? तपाईं किन आफ्नो मुहार मबाट लुकाउनुहुन्छ?
15. म कष्टमा परेको छु र युवावस्थादेखि नै म मर्नलागेको छु, तपाईंका त्रासको पीडाले गर्दा म निराश भएको छु।
16. तपाईंको क्रोध ममाथि ओइरिएको छ, तपाईंको त्रासले मलाई नष्ट पारेको छ।
17. दिनभरि तिनीहरूले मलाई बाढले झैँ घेरे, तिनीहरूले मलाई चारैतिरबाट एकसाथ घेरा हाले।
18. तपाईंले मेरो प्रेमी र मित्रलाई मदेखि टाढा लैजानुभयो, अन्धकार मेरो घनिष्ठ मित्र बनेको छ।
|