1. हे सर्वोच्च परमेश्वर, परमप्रभुलाई धन्यवाद चढाउनु र तपाईंको नाउँको स्तुति गाउनु असल कुरा हो,
2. बिहान तपाईंको करुणा र हरेक रात तपाईंको विश्वसनीयताको घोषणा गर्नु,
3. दशतारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्तुति गाउनु असल कुरा हो।
4. किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, म तपाईंको हातका कामहरूमा हर्षले जयजयकार गर्नेछु।
5. हे परमप्रभु, तपाईंका कार्यहरू कति महान् छन् ! तपाईंका विचार अति गम्भीर छन् !
6. विवेकहीन मानिसले यो जान्न सक्दैन, न त मूर्खले नै यो बुझ्दछ।
7. जब दुष्टहरू घाँसजस्तै मौलाउँछन्, अनि सबै कुकर्मी फस्टाउँछन्, तब तिनीहरू सधैँको निम्ति नष्ट पारिनेछन्।
8. तर हे परमप्रभु, तपाईं सदासर्वदा उच्चमा विराजमान हुनुहुन्छ।
9. किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू साँच्चै नै नष्ट हुनेछन्, सबै कुकर्मी तितरबितर पारिनेछन्।
10. तर मेरो सिङ तपाईंले जङ्गली साँढेको सिङझैँ उच्च पार्नुहुनेछ, ताजा तेलले म अभिषेक गरिनेछु।
11. मेरा आँखाले मेरा शत्रुहरूको हार भएको देखेका छन्, मेरा कानले दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
12. धर्मीजन खजूरको रूखझैँ मौलाउनेछ, ऊ लेबनानको देवदारुझैँ बढ्नेछ।
13. परमप्रभुको भवनमा रोपिएकाहरू हाम्रा परमेश्वरका चोकहरूमा मौलाउनेछन्।
14. बूढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्, तिनीहरू हरियापरिया र रसिला हुनेछन्,
15. ‘‘परमप्रभु भला हुनुहुन्छ’’ भनी तिनीहरूले घोषणा गर्नेछन्, उहाँ मेरा चट्टान हुनुहुन्छ, र उहाँमा कुनै अधर्म छैन।
|