1. हे परमप्रभु, परमेश्वर, जसले बदला लिनुहुन्छ, हे बदला लिनुहुने परमेश्वर आफैलाई प्रकट गर्नुहोस्।
2. हे पृथ्वीका न्यायकर्ता, आफूलाई उच्च पार्नुहोस्, अहङ्कारीहरूलाई उचित प्रतिफल दिनुहोस्।
3. हे परमप्रभु, कहिलेसम्म दुष्टहरू, अँ, कहिलेसम्म दुष्टहरू विजयी हुन्छन्?
4. कहिलेसम्म तिनीहरू हठी कुरा गर्छन् र कहिलेसम्म कुकर्मीहरू घमन्ड गर्छन्?
5. हे परमप्रभु, तिनीहरूले तपाईंको प्रजालाई टुक्रा-टुक्रा पार्छन् र तपाईंको उत्तराधिकारका मानिसहरूलाई दु:ख दिन्छन्।
6. तिनीहरूले विधवा र विदेशीहरूको हत्या गर्छन् र अनाथहरूलाई मार्दछन्।
7. तैपनि तिनीहरू भन्छन्, ‘‘परमप्रभुले देख्नुहुनेछैन, न त याकूबका परमेश्वरले यसमा ध्यान दिनुहुनेछ।’’
8. हे मानिसहरूमध्ये विवेकहीन हो, ध्यान देऊ, हे मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?
9. जसले कान बनाउनुभयो, के उहाँले सुन्नुहुनेछैन र? जसले आँखा बनाउनुभयो, के उहाँले देख्नुहुनेछैन र?
10. जसले जाति-जातिलाई ताडना दिनुहुन्छ, के उहाँले सुधार्नुहुन्न र? जसले मानिसलाई ज्ञान सिकाउनुहुन्छ, के उहाँले जान्नुहुन्न र?
11. परमप्रभुले मानिसका विचार व्यर्थ हुन्, भनी जान्नुहुन्छ।
12. हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईं ताडना दिनुहुन्छ, र जसलाई तपाईं आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ,
13. यसैले कि दुष्टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई विपत्तिका दिनहरूबाट विश्राम दिनुहोस्।
14. किनकि परमप्रभुले आफ्नो प्रजालाई त्याग्नुहुनेछैन, न त उहाँले आफ्नो अधिकारको भागलाई त्याग्नुहुनेछ।
15. इन्साफ फेरि धार्मिकताको आधारमा गरिनेछ र सबै सोझो मन भएकाहरू त्यसको पछि लाग्नेछन्।
16. दुष्टहरूका विरुद्धमा मसँग को खडा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्नेछ?
17. परमप्रभु मेरा सहायक नभएको भए त, मेरो प्राण अघि नै मृत्युको शून्यतामा वास गरिसकेको हुनेथियो।
18. जब मैले भनेँ, ‘‘मेरो खुट्टा चिप्लँदै छ,’’ तब हे परमप्रभु, तपाईंको कृपाले मलाई थाम्यो।
19. जब मेरो मनमा धेरै फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।
20. के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपत् ल्याउँछन्?
21. धर्मीजनको प्राणको विरुद्धमा तिनीहरू भेला हुन्छन् र निर्दोषलाई दोषी ठहर्याउँछन्।
22. तर परमप्रभु मेरो रक्षक हुनुहुन्छ, अनि मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुहुन्छ।
23. उहाँले तिनीहरूका अपराध तिनीहरूमाथि नै खन्याउनुहुन्छ, र तिनीहरूकै दुष्टताको खातिर तिनीहरूलाई नाश पार्नुहुनेछ, अँ, हाम्रा परमप्रभु परमेश्वरले तिनीहरूलाई नाश पार्नुहुनेछ।
|