1. आओ, हामी परमप्रभुको निम्ति गाऔं, हाम्रा उद्धारका चट्टानलाई हर्षका साथ जयजयकार गरौं।
2. धन्यवादसाथ उहाँको उपस्थितिमा आऔं र उहाँको निम्ति भजन गाउँदै आनन्दको सोर उचालौं।
3. किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूमाथि महान् राजा हुनुहुन्छ।
4. पृथ्वीका गहिरा-गहिरा ठाउँहरू उहाँकै हातमा छन्, पहाडका चुचुराहरू पनि उहाँकै हुन्।
5. समुद्र उहाँकै हो र उहाँले नै त्यसलाई बनाउनुभयो, अनि उहाँकै हातले सुक्खा भूमि बनाउनुभयो।
6. आओ, हामी दण्डवत् गरौं, हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु घुँडा टेकौं।
7. किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, अनि हामी उहाँको खर्कका प्रजा र उहाँको हातका भेडाहरू हौं। आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने,
8. तिमीहरूले मेरीबामा झैँ र उजाडस्थानमा परीक्षाको दिनमा झैँ आफ्नो हृदय कठोर नपार,
9. जुन समयमा तिमीहरूका पिता-पुर्खाले मलाई परीक्षा गरे, मलाई जाँचे र मेरो काम देखे,
10. चालीस वर्षसम्म म त्यस पुस्तासँग दु:खित भएँ र भनेँ, ‘‘यो आफ्नो हृदयमा भड्केर जाने जाति हो, अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’’
11. जोसँग मैले आफ्नो क्रोधमा शपथ खाएँ, ‘‘तिनीहरू मेरो विश्राममा पस्न पाउनेछैनन्। ’’
|