1. ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर भने, ‘‘यता आऊ, म तिमीलाई धेरै पानीमा बसेकी त्यस महावेश्यालाई दिइएको दण्ड देखाउनेछु।
2. त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन् र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।’’
3. अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानमा लगे। त्यहाँ सातवटा शिर र दशवटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ।
4. त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई र घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराले भरिएको एउटा सुनको कचौरा हातमा लिएकी थिई।
5. त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो : ‘‘रहस्य, पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन।’’
6. अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखेँ। त्यसलाई देखेर म साह्रै आश्चर्यले चकित भएँ।
7. तब ती स्वर्गदूतहरूले मलाई भने, ‘‘तिमी किन अचम्म मान्छौ? त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा शिर र दशवटा सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु।
8. तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतलकुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमालेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो कुनै समय थियो, तर अब छैन र पछि आउनेछ।
9. ‘‘बुद्धि यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।
10. तिनीहरू सात राजाहरू हुन्-पाँच जनाको पतन भइसकेको छ, एउटा छँदै छ र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
11. त्यो पशु, जो एक समय थियो तर अब छैन, त्यो आठौँ राजा हो। सातमध्येको त्यो एक हो तर त्यसको सर्वनाश हुनेछ।
12. तिमीले देखेका ती दशवटा सीङ दश जना राजाहरू हुन्, जसले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग केही समयको निम्ति राजाकै अधिकार पाउनेछन्।
13. तिनीहरूको एउटै उद्देश्य छ र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्।
14. तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन् र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरू बोलाइएका, चुनिएका र विश्वसनीय हुन्।’’
15. अनि ती स्वर्गदूतले मलाई भने, ‘‘तिमीले देखेका त्यो वेश्या बसेकी पानी, मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन्।
16. अनि तिमीले देखेका ती दश सीङहरू र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन् अनि त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।
17. किनकि परमेश्वरको वचन पूरा नहुञ्जेल एकै मनको भई तिनीहरूले आफ्नो राज्य त्यस पशुलाई दिएर उहाँको उद्देश्य पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो।
18. तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।’’
|