1. ‘‘एफिससको मण्डलीको दूतलाई यो लेख : सातवटा ताराहरू आफ्नो दाहिने हातमा लिनुहुने र सातवटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुनेले भन्नुहुन्छ :
2. ‘म तिम्रा कार्यहरू, तिम्रो परिश्रम र धैर्य जान्दछु अनि यो पनि जान्दछु कि तिमीले दुष्टहरूलाई सहन सक्दैनौ र प्रेरित नभए पनि आफूलाई प्रेरित भन्नेहरूलाई जाँच्यौ र झूटो साबित गर्यौ।
3. म जान्दछु, तिमीले सहेका छौ, मेरो नाउँको खातिर धैर्य गरेका छौ र थकित भएका छैनौ।
4. तापनि मसँग तिम्रो विरुद्धमा केही कुरा छ, किनभने तिमीले आफ्नो पहिलो प्रेम छोडिदिएका छौ।
5. यसकारण तिमी कहाँबाट पतित भएका छौ सो सम्झ, र पश्चात्ताप गर अनि पहिले गरेका काम गर, नत्र त म छिट्टै नै तिमीकहाँ आउनेछु र पश्चात्ताप गरेनौ भने तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
6. तर तिमीसँग यो कुरा त छ, तिमीले निकोलाइटसहरूका कार्यहरूलाई घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु।
7. आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, सुन्न चाहनेले सुनोस् ! जसले जित्छ, त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु’।’’
8. अनि स्मुर्नाको मण्डलीको दूतलाई यो लेख : ‘‘यी कुरा पहिलो र अन्तले भन्नुहुन्छ, जो मर्नुभएको थियो र फेरि जीवित हुनुभएको छ,
9. ‘मैले तिम्रो कष्ट र तिम्रो गरीबी देखेको छु तर तिमी धनी छौ। यहूदी नभए पनि आफैलाई यहूदी हुँ भन्नेहरूको ईश्वर-निन्दा म जान्दछु, तर तिनीहरू शैतानका सभाघर हुन्।
10. तिमीहरूले भोग्न लागेको कष्टसँग नडराओ, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नको निम्ति कैदमा हाल्न आँटेको छ र दश दिनसम्म सङ्कष्ट हुनेछ । तर तिमी मृत्युसम्मै विश्वसनीय होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11. आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सुन्न चाहनेले सुनोस् ! जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन’।’’
12. अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख : ‘‘यी कुरा धारिलो दुईधारे तरवार साथमा लिनुहुनेले भन्नुहुन्छ, ‘
13. मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ, जहाँ शैतानको सिंहासन छ, तर पनि तिमी मेरो नाउँमा स्थिर भएर बसेका छौ। मेरो विश्वसनीय साक्षी एन्टिपासको समयमा पनि ममाथि भएको आफ्नो विश्वास तिमीले त्यागेनौ । तिनी तिम्रै बीचमा मारिए, जहाँ शैतान वास गर्छ।
14. तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्, किनकि तिमीकहाँ बालामको शिक्षा मान्नेहरू कोही-कोही छन्, जुन बालामले बालाकलाई इस्राएलका सन्तानका अघि मूर्त्तिहरूलाई चढाएका चीज खाने र व्यभिचार गर्नेजस्ता ठेस लाग्ने कारण राख्न सिकायो।
15. यसैगरी तिमीसँग कोही-कोही निकोलाइटस्हरूका शिक्षा मान्नेहरू पनि छन्, जुन कुरालाई म घृणा गर्दछु।
16. पश्चात्ताप गर, नत्र म तिमीकहाँ चाँडै आउनेछु र आफ्नो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
17. आत्माले मण्डलीहरूलाई के भन्न चाहनुहुन्छ, सुन्न चाहनेले सुनोस्। जसले जित्छ, उसलाई गुप्तमा रहेको मन्न खान दिनेछु र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेबाहेक अरु कसैले जान्दैन’।’’
18. अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा आगोको ज्वालाजस्ता आँखा र टल्केका काँसाजस्ता पाउहरू हुनुहुने परमेश्वरका पुत्रले भन्नुहुन्छ,
19. ‘मलाई तिम्रो काम, प्रेम, सेवा, विश्वास र धैर्य थाहा छ। तिम्रा पछिल्ला कामहरू पहिलेका कामहरूभन्दा अझ असल छन्।
20. तापनि तिम्रो विरुद्धमा मसँग केही कुरा छ, किनभने तिमीले आफैलाई अगमवादिनी भन्ने स्त्री, ईजेबेललाई सहेका छौ, जसले आफ्नो शिक्षाद्वारा मेरा दासहरूलाई व्यभिचार गर्न र मूर्त्तिहरूलाई चढाएको प्रसाद खान हुन्छ भनी भड्काउँछे।
21. अनि मैले त्यसलाई आफ्नो व्यभिचारबाट पश्चात्ताप गरोस् भनेर समय दिएँ तर त्यसले पश्चात्ताप गरिनँ।
22. हेर, म त्यसलाई रोगी-ओछयानमा फालिदिनेछु र त्योसँग व्यभिचार गर्नेहरूलाई तिनीहरूका कार्यहरूबाट पश्चात्ताप गरेनन् भने ठूलो कष्टमा पार्नेछु।
23. म त्यसका सन्तानलाई रूढीले मारिदिनेछु अनि मन र हृदय जाँच्ने म नै हुँ भनी सबै मण्डलीहरूले जान्नेछन् र म तिमी, हरेकलाई आ-आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
24. तर तिमी थिआटीरामा भएका बाँकीलाई म भन्दछु कि यो शिक्षा नमान्नेहरू र शैतानका गुप्त कुरा थाहा छैन भन्नेहरूलाई म भार बोकाउनेछैनँ।
25. तापनि तिमीसँग भएका कुरा म नआउञ्जेलसम्म पक्रिराख।
26. जसले जित्छ र अन्त्यसम्म मेरा काम गर्दै जान्छ, उसलाई जाति-जातिहरूमाथि अधिकार दिनेछु।
27. कुमालेका भाँडाहरू चकनाचूर भएझैँ उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु।
28. अनि म उसलाई बिहानको तारा दिनेछु,
29. आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, सुन्न चाहनेले सुनोस्’।’’
|