1. अनि सार्डिसको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा परमेश्वरका सातवटा आत्माहरू र सातवटा ताराहरू हुनुहुनेले भन्नुहुन्छ, ‘म तिम्रो कामहरू जान्दछु, तिमी जीवित छौ भन्ने नाम त छ, तर तिमी मृत छौ।
2. जागा रहो र बाँकी रहेका ती कुरा जुन मर्नै लागेका छन्, तिनलाई बलियो तुल्याओ, किनकि मैले तिम्रो कार्यहरू परमेश्वरको सामु सिद्ध पाएको छैनँ।
3. यसकारण तिमीले जुन कुरा पायौ र सुन्यौ, याद राख, त्यसलाई पक्रिराख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भने म चोरजस्तै आउनेछु र म कुन घडी आउनेछु तिमीलाई थाहा हुनेछैन।
4. तिमीसँग त्यहाँ सार्डिसमा पनि कति नाउँहरू छन्, जसले आफ्ना वस्त्र फोहोर पारेका छैनन्, तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्।
5. जसले जित्छ, त्यसलाई सेतो वस्त्र पहिराइनेछ र म जीवनको पुस्तकबाट त्यसको नाउँ मेटाउनेछैन, तर म त्यसको नाउँ मेरा पिता र उहाँका दूतहरूका सामु स्वीकार गर्नेछु।
6. आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, सुन्न चाहनेले सुनोस्’।’’
7. अनि फिलाडेल्फियाको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा पवित्र, सत्य र दाऊदको साँचो हुनेले भन्नुहुन्छ कि उहाँले खोल्नुभयो भने कसैले बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुभयो भने कसैले खोल्न सक्दैन।
8. ‘म तिम्रो कार्यहरू जान्दछु, हेर मैले तिम्रो सामु एउटा खुला ढोका राखिदिएको छु र यसलाई कसैले बन्द गर्न सक्दैन, किनकि तिमीसँग थोरै शक्ति छ तापनि मेरा वचन तिमीले पालन गरेका छौ, मेरो नाउँ तिमीले इन्कार गरेका छैनौ।
9. हेर, यहूदी नभए पनि आफैलाई यहूदी हुँ भन्ने झूट बोल्नेहरूलाई म शैतानका सभाघरका बनाइदिनेछु, हेर, म तिनीहरूलाई तिम्रो पाउको सामु आएर दण्डवत् गर्ने बनाउनेछु र म तिमीलाई प्रेम गर्दछु भन्ने कुरा तिनीहरूलाई थाहा गराउनेछु।
10. किनभने, तिमीले मेरा धैर्यताको वचन पालन गरेका छौ, पृथ्वीमा बस्नेहरूलाई जाँच गर्नको निम्ति सारा संसारमाथि आउनै लागेको परीक्षाको घडीबाट म तिमीलाई बचाउने पनि छु।
11. हेर, म चाँडै आउनेछु, तिमीसँग जे छ त्यसलाई पक्रिराख, यसैले कि तिम्रो मुकुट कसैले नलैजाओस्।
12. जसले जित्छ, त्यसलाई म मेरा परेमश्वरको मन्दिरमा खाँबो बनाउनेछु र त्यो कहिल्यै बाहिर जानेछैन अनि त्यसमा मेरा परमेश्वरको नाउँ र परमेश्वरको शहरको नाउँ, नयाँ यरूशलेम, जो स्वर्गबाट ओर्लिआउँछ र मेरो नयाँ नाउँ पनि म त्यसमाथि लेख्नेछु ।
13. आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, सुन्न चाहनेले सुनोस्’।’’
14. अनि लाउडिकियाको मण्डलीको दूतलाई यो लेख : ‘‘यी कुरा आमेन्, विश्वसनीय र सत्य गवाही र परमेश्वरका सृष्टिको मूलले भन्नुहुन्छ,
15. ‘म तिम्रो कार्यहरू जान्दछु, तिमी न चिसो न तातो छौ, कि चिसो वा तातो भएको भए हुन्थ्यो,
16. यसैले तिमी मनतातो, न तातो न चिसो छौ, यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु।
17. किनभने तिमी ‘म धनी छु,’ ‘मसित धनसम्पत्ति छ,’ ‘मलाई कुनै कुराको खाँचो छैन’ भन्छौ तर तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गो छौ भन्ने तिमीलाई थाहा छैन।
18. म तिमीलाई धनी हुनलाई मबाट आगोमा शुद्ध पारिएको सुन र आफ्नो नाङ्गोपनको सरम ढाक्नलाई सेतो वस्त्र र तिमीले आफ्नो आँखा देख्नलाई मलहम किन्नेसल्लाह दिन्छु।
19. जतिलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु र ताडना दिन्छु, यसकारण जोशिलो होऊ र पश्चात्ताप गर।
20. हेर, म ढोकामा उभिन्छु र ढकढक्याउँछु, यदि कसैले मेरो सोर सुन्छ र ढोका खोल्दछ भने म त्यसकहाँ भित्र आउनेछु र त्यससँग म भोजन खानेछु, र त्यसले मसँग खानेछ।
21. जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसँग बस्ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र मेरा पितासँग सिंहासनमा बसेको छु।
22. आत्माले मण्डलीहरूलाई के भन्न चाहनुहुन्छ, सुन्न चाहनेले सुनोस्’।’’
|