1. यसकारण म भन्दछु, के परमेश्वरले आफ्ना मानिसहरूलाई त्याग्नुभएको छ? कदापि होइन ! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीन कुलको एक इस्राएली हुँ।
2. परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसहरूलाई त्याग्नुभएको छैन। एलियाले इस्राएलको विरुद्धमा कसरी विन्ती गरेका छन्, के तिमीहरूलाई थाहा छैन?
3. ‘‘हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन् र तपाईंका वेदीहरू भत्काइदिएका छन् अनि म मात्र एकलै छोडिएको छु र अब तिनीहरूले मलाई पनि मार्न खोज्दैछन्।’’
4. तर परमेश्वरले कस्तो जवाफ दिनुभयो, थाहा छ? उहाँले भन्नुभयो, ‘‘बालको सामुन्ने घुँडा नटेक्ने सात हजार मानिसहरूलाई मैले आफ्नोनिम्ति जोगाइराखेको छु।’’
5. यसैगरी अहिले पनि परमेश्वरको अनुग्रहको चुनाउअनुसार बाँकी रहेका मानिसहरू छन्।
6. यदि यो अनुग्रहद्वारा हो भने कामको आधारमा भएको होइन, नत्र त अनुग्रह अनुग्रह नै हुँदैन। तर यो कामद्वारा हो भने अनुग्रहको आधारमा भएको होइन, नत्र त काम काम नै हुँदैन।
7. तब के त? इस्राएलले आफूले खोजेको कुरा पाएको छैन। तर चुनिएकाहरूले पाएका छन् र अरु सबै कठोर पारिए,
8. जसरी लेखिएको छ, ‘‘परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ। यस्तो आँखा दिनुभएको छ, जसले नदेखून् र यस्ता कान जसले नसुनून् र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्।’’
9. र दाऊद भन्छन्, ‘‘तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरा होस्।
10. तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन् र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।’’
11. यसैले म भन्दछु, के तिनीहरू पतन हुनलाई ठेस खाएका हुन् त? कदापि होइन ! तर तिनीहरूलाई डाही बनाउन तिनीहरूकै अपराधद्वारा अयहूदीहरूमा मुक्ति आएको छ।
12. अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति ठहरियो र तिनीहरूको असफलता अयहूदीहरूको सम्पत्ति हुनगयो भने तिनीहरूको पूर्णता अझ कति अर्थपूर्ण होला !
13. यी कुरा म अयहूदीहरूलाई भनिरहेको छु। परमेश्वरले मलाई अयहूदीहरूको प्रेरित हुनलाई नियुक्त गर्नुभएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु।
14. यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउनसकूँ र तीमध्ये कसै-कसैलाई बचाउनसकूँ ।
15. किनकि यदि तिनीहरूको बहिष्कार संसारको निम्ति मिलापको कारण बन्छ भने तिनीहरूको स्वीकृति मृतकबाट जीवनमा ल्याउने कुरा हुँदैन र?
16. यदि मुछेको पीठोको पहिलो भाग पवित्र छ भने समस्त ढिका पवित्र हुन्छ। यदि रूखको जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुनेछन्।
17. तर कोही हाँगाहरू भाँचिए र तिमी जो जङ्गली भद्राक्ष भएर तिनीहरूमा कलमी बाँधियौ अनि असली भद्राक्षको रूख, जरा र रसको सहभागी भयौ भने त
18. हाँगाहरूमा घमण्ड नगर। यदि तिमी घमण्ड नै गर्छौ भने यो याद राख कि जरालाई थाम्ने तिमी होइनौ तर जराले पो तिमीलाई थाम्छ।
19. तब तिमी भन्नेछौ, ‘‘म कलमी बाँधिनलाई नै हाँगाहरू भाँचिएका थिए।’’
20. ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै तिनीहरू भाँचिएका थिए तर तिमी विश्वासद्वारा खडा छौ । घमण्ड नगर तर भय मान ।
21. यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।
22. परमेश्वरको उद्धार र कठोर व्यवहारलाई हेर ! पतन हुनेहरूमाथि कठोरता देखाइयो तर यदि तिमी उहाँको कृपामा रहिरह्यौ भने तिमीले परमेश्वरको कृपा पाउनेछौ, नत्र त तिमी पनि काटिनेछौ।
23. अनि तिनीहरू पनि यदि आफ्ना अविश्वासमा रहिरहेनन् भने कलमी बाँधिइनेछन् किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ।
24. किनभने यदि तिमी स्वभावअनुसार जङ्गली भद्राक्ष भएर पनि काटियौ र अर्कै स्वभाव भएको एउटा रोपिएको भद्राक्षको बोटमा कलमी बाँधियौ भने त यी स्वाभाविक हाँगाहरू आफ्नै निज भद्राक्षकै रूखमा झन् कति बढ्ता गरी कलमी बाँधिएलान्?
25. प्रिय भाइहरू हो, तिमीहरू घमण्डी नबन भनेर यस रहस्यबारे तिमीहरू अजान रहो भन्ने म चाहन्नँ, इस्राएलीहरूको एक भाग त्यसबेलासम्म कठोर रहनेछ, जबसम्म अयहूदीहरूको सङ्ख्या पूर्ण हुँदैन।
26. यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ, ‘‘उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।’’
27. ‘‘अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।’’
28. सुसमाचारको दृष्टिकोणबाट तिमीहरूको खातिर तिनीहरू शत्रुहरू हुन् तर परमेश्वरको चुनाउको दृष्टिकोणबाट तिनीहरू पिता-पुर्खाका खातिर प्रियहरू हुन्।
29. किनभने परमेश्वरका वरदानहरू र बोलावट अटल छन्।
30. तिमीहरू पनि एकपल्ट आज्ञापालन नगर्नेहरू थियौ तर तिनीहरूले आज्ञापालन नगर्दा तिमीहरूले कृपा पाएका छौ।
31. त्यसरी नै तिमीहरूलाई कृपा देखाएको हुनाले तिनीहरूमाथि पनि अब कृपा देखाइयोस् भनेर यिनीहरू पनि अहिले अनाज्ञाकारी भएका छन् ।
32. किनभने परमेश्वरको कृपा सबैमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै रोकेर राख्नुभएको छ।
33. आहा ! परमेश्वरको बुद्धि र ज्ञानको वैभव कति गहिरो छ ! उहाँको न्याय कति अगम र उहाँको मार्ग अभेद्य छ !
34. ‘‘किनभने प्रभुको विचारलाई कसले जानेको छ? अथवा को उहाँको सल्लाहकार भएको छ?’’
35. ‘‘कसैले परमेश्वरलाई केही दिएको छ, जुन उहाँले फिर्ता गर्नुपर्नेछ?’’
36. किनकि सबै थोक उहाँबाट आउँछ, उहाँको शक्तिद्वारा अस्तित्वमा रहन्छ र उहाँकै महिमाको निम्ति हुन्छ। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन्।
|