1. हे भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरमा प्रार्थना यही छ कि तिनीहरूले मुक्ति पाऊन्।
2. म जान्दछु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ तर ज्ञानअनुसार छैन।
3. किनभने परमेश्वरबाट आउने धार्मिकताको बारेमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेनन्।
4. किनकि विश्वास गर्ने हरेकको लागि ख्रीष्ट धार्मिकताको निम्ति व्यवस्थाको अन्त्य हुनुहुन्छ।
5. मोशाले यसरी लेखेका छन्, ‘‘व्यवस्थामा आधारित धार्मिकता पालन गर्ने मानिस त्यही धार्मिकताद्वारा जिउँदछ।’’
6. तर विश्वासमा आधारित धार्मिकताले भन्दछ, ‘‘आफ्नो मनमा यसो नभन, ‘स्वर्गमा को उक्लन्छ?’ (अर्थात् ख्रीष्टलाई तल ल्याउन)
7. वा ‘पातालमा को ओर्लन्छ?’ ’’ (अर्थात् ख्रीष्टलाई मृतकबाट माथि ल्याउन)
8. तर यसले के भन्छ? ‘‘वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,’’ अर्थात् विश्वासको वचन जुन हामीले प्रचार गरिरहेका छौं।
9. किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ।
10. किनकि हृदयले विश्वास गर्दा तिमी धर्मी ठहरिन्छौ र मुखले स्वीकार गर्दा मुक्ति पाउनेछौ।
11. धर्मशास्त्रले भन्छ, ‘‘उहाँमाथि भरोसा राख्ने कोही शर्ममा पर्नेछैन।’’
12. यहूदी र अयहूदीमा कुनै भिन्नता छैन किनकि उहाँ, जो सबैका प्रभु हुनुहुन्छ, उहाँलाई पुकार्नेहरूका निम्ति धनवान् हुनुहुन्छ।
13. किनभने ‘‘प्रभुको नाउँ पुकार्नेहरूले मुक्ति पाउनेछन्।’’
14. तर जसलाई तिनीहरूले विश्वास गरेकै छैनन्, उहाँलाई तिनीहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेका छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने ? प्रचारकबिना तिनीहरूले कसरी सुन्ने?
15. कसैले नपठाईकन तिनीहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, ‘‘सुसमाचार सुनाउनेहरूका पाउ कति सुन्दर !’’
16. ती सबैले सुसमाचारमा ध्यान दिएनन्, किनकि यशैया भन्छन्, ‘‘हे प्रभु, हामीले सुनाएको सन्देशलाई कसले विश्वास गरेको छ?’’
17. यसैले विश्वास सुनाइबाट आउँछ र सुनाइ ख्रीष्टको वचनबाट आउँछ।
18. तर म भन्दछु, ‘‘के तिनीहरूले साँच्चै सुनेनन्?’’ साँच्चै तिनीहरूले सुनेका छन्: ‘‘तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।’’
19. तर म भन्दछु, के इस्राएललाई थाहा थिएन र? पहिले मोशाले भन्दछन्, ‘‘जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूद्वारा डाही तुल्याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।’’
20. तब यशैयाले साहसपूर्वक भन्दछन्, ‘‘मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्, तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेको छु।’’
21. तर इस्राएलको विषयमा तिनी भन्छन्, ‘‘दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।’’
|