1. हरेक व्यक्ति शासन गर्ने अधिकारीहरूको अधीनमा बसोस्, किनकि अख्तियार परमेश्वरबाट नै आउँछ अनि जुन अधिकारीहरू छन्, ती परमेश्वरबाट नै नियुक्त भएका हुन् ।
2. यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ र विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन् ।
3. किनकि शासकहरू असल कामका निम्ति होइनन् तर खराब कामका निम्ति डरका कारक हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर र तिमीले अधिकारीबाट प्रशंसा पाउनेछौ।
4. किनकि तिनी तिम्रो भलाइको लागि परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराब गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन् । खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
5. क्रोधको कारणले मात्र होइन तर विवेकको खातिर पनि अधीनमा बस्नु आवश्यक छ।
6. यसैकारणले पनि तिमी कर तिर्दछौ, किनकि प्रशासकहरू पनि यसै कामको लागि आफैलाई दिइएका परमेश्वरका सेवक हुन् ।
7. तिर्नुपर्ने कुरा सबैलाई तिर : कर तिर्नुपर्नेलाई कर, राजस्व तिर्नुपर्नेलाई राजस्व, डराउनुपर्नेसित डराओ र आदर गर्नुपर्नेलाई आदर गर।
8. एक-अर्कालाई प्रेम गर्नुबाहेक कुनै पनि कुरामा कसैको ऋणी नहोओ, किनकि जसले छिमेकीलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको हुन्छ।
9. ‘‘तैँले व्यभिचार, हत्या, चोरी र लोभ नगर्’’ जस्ता आज्ञाहरूबाहेक अरु जति आज्ञाहरू छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ अर्थात् ‘‘तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’’
10. प्रेमले आफ्नो छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
11. समयलाई चिन, अब निद्राबाट ब्यूँझने बेला आइसकेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ।
12. रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण हामी अन्धकारका काम छोडेर ज्योतिका हातहतियार धारण गरौं।
13. हामी दिनमा जस्तै गरी इमानदारीसाथ चलौं। मोजमज्जामा, मतवालीपनामा, व्यभिचारमा, कामुकतामा, भ्रष्टाचारमा, झगडामा र डाहमा होइन।
14. तर प्रभु येशू ख्रीष्टलाई धारण गर र शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी विचारमा नलाग।
|